जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले जलाइदिएको पोखराको होटल सरोवरबाट खाकको गन्ध हराइसकेको छैन।
स्विमिङ पुलमा अझै पनि खरानी भरिएकै छ। आगोको ज्वालाबाट जल्न होटलको कुनै पनि कोठा, कुनै पनि संरचना बाँकी छैन।
प्रबन्ध निर्देशक प्रतीक पहारी छिटोभन्दा छिटो केही संरचना पुनर्निर्माण गरेर होटल सञ्चालनमा ल्याउन चाहन्छन्। पूरै संरचना बनाउन लामो समय लाग्ने हुँदा भान्सा र केही कोठा पुनर्निर्माण गर्न उनी जुटेका छन्।
जब जब उनी होटलभित्र प्रवेश गर्छन्, उनको आँखामा आँशुको सागर छचल्किएर आउँछ।
उनी आफ्नो आँशु होटलका कर्मचारीलाई देखाउन चाहँदैनन्। ती कर्मचारीले काम छाडेर जान नपरोस्, उनीहरू बेरोजगार हुन नपरोस् भनेर नै प्रतीक दिनरात पुनर्निर्माणमा लागिपरेका छन्।
'होटल भनेको भवन मात्र होइन, त्योभन्दा बढी यहाँ काम गर्ने कर्मचारी हुन्,' उनी भन्छन्, 'हामीले यो टिम बनाउन तीन वर्ष लगाएका थियौं, उहाँहरूलाई टिकाउन पनि छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं।'
भदौ २३ को जेन–जी आन्दोलन बेला प्रतीक पोखरामा थिएनन्। पारिवारिक र व्यावसायिक कामको सिलसिलामा काठमाडौं गएका थिए।
भदौ २४ को दिन पोखराका सरकारी कार्यालयहरू आगजनी र तोडफोडको सिकार भइरहेको उनले काठमाडौंबाटै समाचारमा देखे। त्यति बेलासम्म पनि ती प्रदर्शनकारीले आफ्नो होटलमा हमला गर्लान् भन्ने उनले सोचेकै थिएनन्।
होटल सरोवरका प्रबन्ध निर्देशक प्रतीक पहारी।
समाचारमा आँखा दौडाउँदै गर्दा प्रतीकको मोबाइलमा एउटा अपरिचित व्यक्तिको फोन आयो।
फोन गर्नेले 'तपाईंको होटल जलाउन आउँदैछन्' भन्ने जानकारी दिए।
'किन जलाउने?' प्रतीकले आत्तिँदै भने, 'त्यसो नगरौं!'
फोन गर्नेले 'मैले भनेको मान्दैनन्' भने र फोन राखिदिए।
प्रतीकले त्यही नम्बरमा 'कलब्याक' गरे।
फोन उठेन।
तारन्तार फोन गरिरहे।
उठ्दै उठेन।
एकैछिनमा प्रदर्शनकारीहरू होटलमा पुगेछन्। त्यसपछि होटलका कर्मचारीले नै फोन गरेर प्रदर्शनकारीहरू लुटपाट र तोडफोड गर्न आएको जानकारी दिए।
खबर पाएपछि प्रतीकले कास्कीका सुरक्षा निकाय प्रमुखहरूलाई फोन गरे। आफ्नो होटल जोगाइदिन अनुनय गरे। तर सुरक्षा निकाय पनि उनको अनुनय सुन्ने अवस्थामा थिएन।
त्यसबीच होटलका कर्मचारीले भान्सामा राखिएका ४० वटा ग्यास सिलिन्डर निकाल्न भ्याएछन्। नभए ती सिलिन्डर पड्किँदा होटलको अस्थिपञ्जर पनि बच्थेन। हतार हतारमा होटलको छतमा रहेको रेस्टुरेन्टबाट सिलिन्डर निकाल्न भने कसैले भ्याएनन्। त्यहाँ दुइटा नयाँ सिलिन्डर थिए। आगोले टिपेर सिलिन्डर पड्किँदा ज्वाला दन्कियो।
दुई सय किलोमिटर टाढा काठमाडौंमा बसेर आफ्नै होटल जलिरहेको भिडिओ हेर्न प्रतीक अभिशप्त भए।
उनी भोलिपल्ट भदौ २५ गते पोखरा फर्किन खोजे। एयरपोर्ट बन्द थियो। गाडीबाट फर्किन खोजे, कर्फ्युले त्यो पनि पाएनन्।
होटल आगजनी भएको तीन दिनपछि भदौ २७ गते उनी पोखरा आइपुगे। सिधै होटल गए।
कर्मचारीहरू भग्नावशेषबाट जलेका संरचना व्यवस्थापन गर्दै थिए। तोडफोड, लुटपाट र आगजनीले ध्वस्त होटलको भग्नावशेष देखेर प्रतीकका आँखा रसाए।
उनका अनुसार केही कोठामा पेट्रोल भरिएका ग्यालेन र बोतलहरू भेटिए। कुनै पनि कोठा र कुनै पनि संरचना आगोबाट बचेको थिएन। उनले आफ्नो आहत मन सम्हाल्दै कर्मचारीहरूलाई हौसला दिए, 'फेरि बनाउँछौं, तपाईंहरू नआत्तिनु होला।'
भदौ २४ को दिन जल्दै गरेको होटल सरोवर।
सरोवर होटलमा ९६ वटा कोठा छन्। होटलको सबभन्दा माथि स्काई बार, ६ वटा हल, स्विमिङ पुल, जिम हल, ट्र्यांकुलिटी स्पा लगायत थिए। यहाँ १४० जना कर्मचारी काम गर्थे। उनीहरूको न्यूनतम तलब मासिक २६ हजार रूपैयाँ रहेको प्रतीक बताउँछन्।
आगलागी भएकै दिन होटलका ६० वटा कोठामा पर्यटक थिए। तोडफोड र आगजनी सुरू भएपछि उनीहरूले भागेर ज्यान जोगाए। पर्यटकका सामान पनि जलेर खरानी भए।
पोखराको 'इको फ्रेन्ड्ली' होटलका रूपमा चिनिने सरोवरमा १४० किलोवाटको सोलार प्यानल थियो। बायोग्यास च्याम्बर राखिएको थियो। होटलको पर्खालमा हिट कन्डक्टरहरू थिए। आगोले ती सबै जले।
त्यस दिन होटलको हालत देखेपछि प्रतीकले आफूलाई थाम्नै सकेनन्।
कर्मचारीहरूका अगाडि त जसोतसो बलियो बनेर उभिए, उनीहरूलाई हौसला पनि दिए; तर जसै आफ्नो कोठामा पुगे, एक्लै बेस्सरी रोए।
'यो होटलसँग हाम्रो सपना जोडिएको थियो,' उनले भने, 'पोखरामा अन्तर्राष्ट्रिय स्तरको सेवा दिऊँ भन्ने उद्देश्यले हामीले यो होटल बनाएका थियौं।'
तीन अर्ब रूपैयाँ लगानीमा बनेको यो होटलमा करिब एक अर्ब रूपैयाँ बराबर क्षति भएको उनीहरूले प्रारम्भिक अनुमान गरेका छन्। बिमा कम्पनीले आफ्नै मूल्यांकन गरेको छ। बिमाबाट तत्काल हुन सक्ने मर्मतसम्भार गरेर सेवा सुरू गर्न प्रतीक तल्लीन छन्।
प्रतीकको परिवारले होटल सरोवर चलाउन थालेको २०३८ सालबाट हो। त्यति बेला दुई तलाको सानो होटल थियो। कोठा जम्मा ८ वठा थिए।
त्योभन्दा अगाडि पोखरामा पर्यटक बढ्न थालेपछि उनको परिवारले बारीमा टेन्ट टाँगेर बसोबासको व्यवस्था गरेको थियो। पछि त्यही ठाउँमा उनीहरूले होटल खोले। अहिले आगजनीमा परेको अत्याधुनिक भवन भने सन् २०१५ मा बनाएका हुन्।
होटललाई अत्याधुनिक रूप दिन उनीहरूले लेकसाइडको चार रोपनी पुर्ख्यौली जग्गा ९ करोड रूपैयाँमा बेचेका थिए। बैंकबाट ३० करोड ऋण पनि लिए।
प्रतीकका बुबा भरत पहारी सिभिल इञ्जिनियर हुन्। पुच्लोक क्याम्पसको प्राध्यापकबाट अवकाश पाएपछि उनले आधुनिक सरोवर होटल बनाउन थालेका थिए। उनको सपना पाँचतारे होटल बनाउने थियो। त्यसका लागि डिजाइन पनि आफैले गरे।
यो होटल भरत र उनका भाइ डा. मोहन पहारीको संयुक्त लगानीमा खुलेको थियो। पुर्ख्यौली जग्गा भागबन्डा गर्दा मोहनको भागमा ४ रोपनी २ आना जग्गा परेको थियो। त्यसैमा उनीहरूले होटल बनाएका थिए। मोहन अहिले अमेरिकामा मेडिकल डाक्टर छन्।
होटल बन्दै गर्दा प्रतीक चीनमा एमबिए पढ्दै थिए। सन् २०१८ मा पढ्न गएका उनले चीनको पेकिङ युनिभर्सिटीबाट एमबिए सके, अनि त्यहाँबाट अमेरिकाको कोर्नल युनिभर्सिटी पढ्न गए।
अमेरिकामा प्रतीकसँगै पढेका धेरै नेपाली उतै जागिर खाएर बसेका छन्। प्रतीकले भने पढाइ पूरा गरेपछि पोखरा फर्किएर होटलको व्यवस्थापन सम्हाले।
'अहिले पनि मेरा साथीहरू अमेरिकामा राम्रो जागिर गर्छन्,' उनले भने, 'म यो होटलको एमडी (प्रबन्ध निर्देशक) भए पनि उनीहरूले जति कमाउँदिनँ।'


उनका अनुसार होटल सञ्चालनमा आएको वर्षदिन नपुग्दै कोभिड महामारी सुरू भएर एक वर्षभन्दा बढी समय व्यापार ठप्पै भयो।
होटल नचल्दा ऋणको किस्ता पनि तिर्न सकिएन। बैंकबाट लिएको ३० करोड ऋण बढेर ६५ करोड पुगेको प्रतीक बताउँछन्।
केही वर्षयता भने होटल व्यवसाय राम्रो हुँदै थियो। गुणस्तरीय पर्यटक आउन थालेका थिए। धेरै पैसा तिरेर सुविधासँग बस्न चाहने पर्यटकले होटल भरिन थालेका थिए। त्यसैबीच यो बबन्डर मच्चियो।
यो होटल ध्वस्त हुनुलाई प्रतीक 'देशको अर्थतन्त्रमै आगो लागेको' मान्छन्।
'एउटा होटल बन्द हुँदा देशले कति राजस्व गुमाउँछ, यो मेरो व्यक्तिगत नोक्सान मात्र होइन, सिंगो राज्यको नोक्सान हो,' उनले भने।
नेपालमा विदेशी लगानी नआउनुको मुख्य कारण नै यस्तै असुरक्षा र सरकारको अस्थिर नीति भएको उनी बताउँछन्। देशमा रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई टेवा दिने उद्योग व्यवसायलाई सरकारले सुरक्षा दिन नसक्नुले निजी क्षेत्र हतोत्साही भइरहेको उनको भनाइ छ।
'होटलको त बिमा छ, अलिकति ऋण थपिएला। थप जग्गा बेचिएला। तर यसरी समस्या समाधान हुँदैन,' उनले भने, 'यो तोडफोड र आगजनीले देशमै उद्यम गर्ने इच्छा जलाएको छ। म उद्यम गर्न सक्छु, अगाडि बढ्न सक्छु भन्ने चाहनामा आगो लागेको छ।'
सरोवर होटलबारे उठेका विवादबारे पनि प्रतीकले खुलेर आफ्नो कुरा राखे।
उनको होटल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। त्यति बेला नेकपाको दुईतिहाइ सरकार थियो। ओलीसँग राम्रो सम्बन्ध भएकैले उनी उद्घाटनमा आएका हुन् भन्ने पोखरामा चर्चा थियो। त्यही चर्चा नै प्रदर्शनकारीहरूका लागि आगो लगाउने निहुँ बन्यो।
चिनजानका अतिरिक्त ओलीसँग अरू कुनै सम्बन्ध नभएको प्रतीक बताउँछन्।
'मेरो हजुरबुबा टेकनाथ बराल पोखराका मानवअधिकारवादी नेता हुनुहुन्थ्यो। पोखराको मानवअधिकारवादी नागरिक अगुवाका रूपमा उहाँले दोस्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभयो,' उनले भने, 'उहाँ वामपन्थी राजनीतिमा लाग्नुभएको थियो, तर दोस्रो जनआन्दोलनकै बेला उहाँले एमालेको सदस्यता त्याग्नुभएको थियो।'
सादगी छविका टेकनाथले जनआन्दोलन सफल भएपछि पनि कुनै लाभको पद लिएनन्। २०८० भदौमा उनको निधन भयो।
हजुरबुबाकै कारण ओली लगायत अन्य वामपन्थी नेताहरूसँग आफ्नो चिनजान रहेको प्रतीक बताउँछन्।


सरोवर होटलबारे अर्को विवाद पनि छ।
पोखरा महानगरपालिकाको भवन संहितामा साढे तीन तलाभन्दा अग्लो भवन बनाउन पाइँदैन। पोखराको भौगोलिक कारणले उक्त मापदण्ड बनाइएको थियो। प्रतीकका बुबा भरत नै भवन मापदण्ड निर्धारण समितिका संयोजक थिए। मापदण्ड विपरीत होटल बनाउने व्यक्तिलाई नै संयोजक बनाएको भनेर विवाद भएको थियो।
सरोवर मात्र होइन, पोखराका अधिकांश होटल मापदण्ड विपरीत छन्। निजी प्रयोजनका लागि बनाइएका थुप्रै घर पनि मापदण्ड विपरित छन्। यो थाहा पाउँदा पाउँदै पोखरा महानगरपालिकाले मापदण्ड कडाइका साथ लागू गर्न सकेको छैन। मापदण्ड मिचिएका भवनका हकमा के गर्ने भनेर पनि निर्णय लिएको छैन।
'मापदण्ड अनुसार साढे तीन तलाको भवनमा होटल खोलेर अहिले पोखरा आउने पर्यटकलाई सुविधा दिन सक्ने अवस्था छैन,' प्रतीकले भने, 'यस विषयमा पोखरा महानगर र सम्बन्धित निकायले छिटो निर्णय लिनुपर्ने देखिन्छ।'
साढे तीन तलाको मात्र होटल बनाउन धेरैवटा भवन बनाउनुपर्ने हुँदा धेरै जग्गा चाहिन्छ। पोखरामा जग्गाको भाउ निकै महँगो भएकाले अग्लो भवन बनाउनुपरेको उनी जिकिर गर्छन्।
'मापदण्डका विषयमा सरकारले छिटो निर्णय गरोस्, भत्काउनुपर्ने हो कि जरिवाना लिएर स्वीकृति दिने हो टुंगो लगाओस्,' उनले भने, 'अब मापदण्डको विषय विवादित बनाइराख्नु हुँदैन।'
सबै तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
***


