हामीमध्ये धेरैको दिन चियाको चुस्कीबाटै सुरू हुन्छ। आपसी भेटघाटको पहिलो पेय पनि बहुधा चिया नै हुन्छ।
भनिन्छ नै – यसो भेटेर चिया खाऔं न!
चिया सुन्ने बित्तिकै पारखीहरूलाई त तलतल नै भइहाल्दो हो। मगमग बास्ना आउने चिया भइदिए, त्यो पनि परम्परागत शैलीमा बनाइएको; पारखीको मन कसो नतानिएला त!
यस्तै चिया पाइन्छ 'चियादानी' मा। र, यो छ नयाँ बानेश्वरमा।
चियादानी दुई युवा व्यवसायी पोखराका सुवास शर्मा र अछामका केपी खनाल मिलेर सुरू गरेका हुन्। बानेश्वरमा चियादानी खुलेको तीन महिना मात्र भयो। यो शाखा चौथो हो। सुवासले पाँच वर्षअघि नै पोखरामा चियादानी सुरू गरेका थिए। चितवनमा दुइटा छन्।
'तीन महिनामै काठमाडौंमा चियादानी चर्चित भएको छ। बिहानदेखि साँझसम्मै भीड हुन्छ,' सुवासले भने, 'चिया मात्र मिठो भएर हुँदैन, बस्न राम्रो ठाउँ पनि चाहिन्छ। यी दुवै पक्ष राम्रो भएकाले चियादानी पारखीको रोजाइमा परेको छ।'
एक रोपनी क्षेत्रफलमा फैलिएको बानेश्वरको चियादानी परिसर परम्परागत शैलीमा सजाइएको छ। जस्ता र खरले छाइएका टहरा छन्। सेतो र रातो रङ पोतिएको घरले पहाडी गाउँघरको झल्को दिन्छ। चिया पकाउन छुट्टै चुह्लो छ। साँझ परेपछि लाल्टिन (परम्परागत शैलीको बत्ती) र आधुनिक बत्तीको झिलीमिली सुरू हुन्छ।
आगन्तुकहरू मुडामा बस्न पाउँछन्। फलामका कुर्सीमा बसे पनि हुन्छ। बीचमा एउटा चौतारो छ। चियादानीको आकर्षण यही चौतारी हो। चौतारामा बसेर चिया पिउनेहरू पनि धेरै हुन्छन्।
'झट्ट हेर्दा यहाँको वातावरण गाउँले शैलीको छ। गाउँको जस्तै चौतारीमा थकाइ मार्दै गफ गर्न पाइन्छ। चौतारीमै बसेर चिया पिउन पाइन्छ,' अर्का सञ्चालक केपीले भने, 'बेलुकीपख त बस्ने ठाउँ पनि पुग्दैन। धेरै जना उभिएरै चिया पिउनुहुन्छ।'
चियादानी परिसरमा एकपटकमा १५० जनासम्म बसेर चिया पिउन सक्छन्।
सुवासका अनुसार यहाँको विशेषता 'मट्का चिया' र 'मसला चिया' हो। यीसँगै ४० प्रकारको चिया पाइन्छ। साथमा कुकिज, पकौडा र साँधेको चाउचाउ पाइन्छ। चियाको मूल्य ३० रूपैयाँदेखि ७० रूपैयाँसम्म छ।
सफा र शान्त चियादानीमा तुलनात्मक रूपमा चिया र खाजा सस्तो र गुणस्तरीय भएको सञ्चालकहरू बताउँछन्। यस्तै विशेषताका कारण काठमाडौंमा छोटो समयमै चियादानी धेरैको रोजाइमा परेको उनीहरूको भनाइ छ।
काठमाडौंको चियादानीमा हाल १६ जनाले रोजगारी पाएका छन्।
चियादानीको यात्रा सुवासले पाँच वर्षअघि पोखराबाट सुरू गरेका हुन्। उनी बिबिएस (ब्याचलर इन बिजनेस स्टडिज) पूरा गर्नासाथ व्यवसायमा लागेका हुन्। पढाइले फुर्सद भएपछि आफ्नै कुनै व्यवसाय गर्ने सोचमा थिए तर निर्णय गर्न सकेका थिएनन्।
'सँगैका साथीहरू विदेश जान थालेका थिए तर मलाई आफ्नै देशमा काम गर्नु थियो। एक वर्ष त अध्ययन नै गरेँ,' उनले भने।
पर्यटकीय क्षेत्र भएकाले आफ्नो ठाउँ पोखरामै कुनै व्यवसाय गर्ने सोच थियो। सुरूमा उनले होटल चलाउने सोचे। तर एकैपटक ठूलो लगानी चाहिन्थ्यो। उनले आँट गरेनन्।
उनी काठमाडौं आउजाउ गरिरहन्थे। साथीहरू मिलेर चिया पिउन जान्थे, मिठो चिया खोज्दै हिँड्थे पनि। यसै क्रममा एक-दुई ठाउँका पसलमा देखिएको मान्छेको भीडले उनको ध्यानाकर्षण गर्यो।
त्यस्ता चिया पसलमा एकै दिनमा धेरै पटक पुगेर उनले चिया पिए। मान्छेको आकर्षण हुनुको कारण आफ्नै तरिकाले खोजी गरे।
'खास विशेषता हुनुपर्ने रहेछ। म पनि खास विशेषता भएको चिया व्यवसाय गर्ने निर्णयमा पुगेँ। घर गएर योजना सुनाएँ तर परिवारमा अनुमोदन भएन,' उनले भने, 'प्रयास जारी राखेँ। अन्ततः मान्नुभयो।'
चिया पसलका लागि उपयुक्त ठाउँ खोज्दै जाँदा बगर साइड नै ठीक लाग्यो। ठाउँ पनि मिल्यो। नाम खोज्दै छान्दै जाँदा उनलाई 'चियादानी' सबभन्दा राम्रो लाग्यो।
'हाम्रो परम्परामा चियादानी भनेको चिया पकाउने भाँडो हो,' सुवासले भने, 'चियादानीमा चिया पकाएर खुवाउने भएपछि मैले पसलको नाम पनि त्यही रोजेँ।'
उनले बगर साइडमा एकपटकमा १५ जना अटाउने गरी चिटिक्कको चियादानी खोले। आफ्नो सोचाइको तर साधारण सजावट गरे। दस लाख रूपैयाँ लगानी भयो। यो पैसा उनले ऋणपान गरेर जुटाए। अनि २०७६ साल मंसिरमा चियादानी सुरू भयो।
व्यवसाय सुरू गरेपछि उनले चिया बनाउन सिके। अनेक रेसिपी बनाए। आगन्तुकहरूलाई आफैले बनाएर खुवाए।
उनले भने, 'चिया बेच्छु भनेर मात्र नहुने रहेछ। मिठो चिया बनाउन जान्ने हुन मलाई एक महिनाभन्दा बढी लाग्यो। साथीहरूले दामी छ भनेपछि मात्र बेच्न सुरू गरेँ।'
चिया पिउनेको आवतजावत क्रमशः बढ्दै गयो। चियादानीको ख्याति पनि फैलिँदै गयो।
सुवासका अनुसार पोखरामा चियाका लागि मात्र छुट्टै पसल खोल्ने चलन थिएन।
'चिया संस्कृति विकास गरेकै चियादानीले हो। अहिले त यस्ता थुप्रै पसल खुलेका छन्,' उनले भने।
पोखरामा सुरू गरेको तीन महिनापछि उनी चियादानी लिएर चितवनको भरतपुर पुगे। साथी फणीन्द्र न्यौपानेसँग मिलेर भरतपुरमा अर्को चियादानी खोले जहाँ एकपटकमा ६५ जनाले सेवा पाउँछन्।
व्यवसाय राम्रो हुँदै थियो। त्यही बेला कोरोना फैलिएर लकडाउन भएपछि व्यवसाय डुब्ने डर भयो। सुवासले त्यो समयमा ऋणको ब्याज तिर्न बुबाआमाको सहयोग पाए।
लकडाउन खुकुलो हुँदै गएपछि व्यापार बढ्न थाल्यो। सुवासको हौसला पनि बढ्यो। उनले अर्का एक जना साझेदार खोजेर चितवनकै सौराहामा पनि चियादानी सुरू गरे।
'पोखरामा राम्रै चलेकाले अन्तबाट पनि माग आउन थाल्यो अनि पार्टनर (साझेदार) खोजेर भरतपुर र सौराहा पुगेको हुँ,' उनले भने, 'दुवै चियादानी राम्ररी चलेका छन्।'
यसरी चियाका अनेक स्वाद लिएर पोखराबाट निस्केका सुवास चितवनका दुई ठाउँ पुगेर काठमाडौं आइपुगेका हुन्।
'तीन ठाउँमा चलाएपछि स्वस्थ प्रतिस्पर्धाका लागि काठमाडौंमा पनि चियादानी पुर्याउनु आवश्यक छ भन्ने लाग्यो,' उनले भने, 'काठमाडौं आउनुपर्यो भन्ने धेरैको माग पनि थियो। बजारले हामीलाई खोजेको छ भने जानुपर्छ भन्ने भयो।'
काठमाडौंमा चियादानीका लागि उपयुक्त ठाउँ खोज्ने क्रममा सामाजिक अभियानी केपी खनालसँग भेट भयो। केपी साझेदार हुने भए।
'म कुनै काम गर्ने सोच्दै थिएँ, सुवास दाइसँग भेट भएपछि काठमाडौंमा चियादानी ल्याउन म पनि लागेँ,' केपीले भने।
बानेश्वरको सजावट अन्य तीन ठाउँको चियादानी भन्दा केही फरक छ। यहाँ दुई जनाले मिलेर ६० लाख रूपैयाँ लगानी गरेका छन्।
केपी डिजिटल मार्केटिङमा सक्रिय छन् भने सुवास समग्र व्यवस्थापन हेर्छन्। सुवास धेरै समय पोखरा, भरतपुर र सौराहाका चियादानीका लागि दिन्छन्।
हेटौंडा, बुटवल र नेपालगञ्जमा पनि चियादानी सुरू गर्ने सुवासको योजना छ। उनी यसनिम्ति साझेदारको खोजीमा छन्।
'स्वदेशमा उत्पादित विभिन्न थरीका चिया चियादानीमार्फत ब्रान्डिङ गरेर बेच्ने चाहना छ,' सुवासले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी