२०५८ सालमा सरकार र नेकपा (माओवादी) बीचको युद्ध उत्कर्षमा थियो। १३ वर्षे अमर घिमिरेलाई यो युद्धको विषयमा धेरै ज्ञान थिएन। उनी स्मल हेभेन स्कुलमा कक्षा ८ मा पढ्दै थिए।
बिहान बेलुका बुवाले चलाइरहेको कृषि औजार कारखानामा पुगेर काम गरेको हेर्थे। जानीनजानी आफू पनि काम गर्ने प्रयास गर्थे।
भरतपुर–२ क्षेत्रपुरमा अमरका बाबु यज्ञप्रसाद घिमिरेले ८ वर्षदेखि चलाइरहेको नारायणी ईन्जिनियरिङ प्रालि बिस्तारै लयमा जाँदै थियो। एक दिन तत्कालीन शाही नेपाली सेनाले बाबुलाई समातेर लग्यो। सशस्त्र युद्ध गरिरहेको नेकपा (माओवादी)को समर्थक रहेको आरोप उनीमाथि थियो।
२०२८ सालमा लमजुङबाट बसाइँ सरेर पश्चिम चितवनको शुक्रनगर आएको घिमिरे परिवारले लामो समय कृषि पेशामा बितायो। त्यही अनुभवका आधारमा यज्ञप्रसादले २०५० सालमा कृषिका लागि आवश्यक पर्ने प्रविधिको आविष्कार गर्न खेत बेचेर कारखाना खोलेका थिए।
घिमिरे परिवारको खम्बा नै उनी थिए।
कारखाना परिवारको आयको एकमात्र स्रोत थियो। घरमुलीलाई नै सेनाले नियन्त्रणमा लिएपछि यो परिवारमा ठूलो समस्या आइलाग्यो। तर केही नगरी सुख थिएन। आमा रामकुमारीले बाबुको अनुपस्थितिमा पनि व्यवसायलाई अघि बढाउने आँट गरिन्। परिवारका एक्ला छोरा अमरले आमालाई साथ दिए।
फुर्सतको समयमा कारखाना पुगिहाल्ने भएकाले अमरलाई सामान्य प्राविधिक ज्ञान थियो। त्यो ज्ञान बाबुको अनुपस्थितिमा काम लाग्यो। उनी दिउँसो स्कुल जान्थे, बिहान–बेलुका कारखानाको काम गर्थे।
जानीनजानी कारखानाको हिसाबकिताब पनि राख्थे। करिब एक वर्ष अमरकै नेतृत्वमा कारखाना चल्यो। उनले सानै उमेरमा व्यवसायको स्वाद चाख्न पाए।
त्यो अनुभव अमरलाई अहिले पनि काम लागिरहेको छ। ३६ वर्षका उनले अहिले चितवनमा सफल व्यवसायीको परिचय बनाइरहेका छन्।
अमर घिमिरे शैक्षिकदेखि निर्माणसम्मको व्यवसायमा संलग्न छन्। उनले चार जना साथी (समिर अधिकारी, प्रकाश अधिकारी, रोजन घिमिरे र सुशील सापकोटा) सँग मिलेर सञ्चालन गरेको हाइटेक डेभलपर्स प्रालिले अहिले चितवनमामात्रै नभएर अन्य जिल्लामा पनि परिचय बनाइरहेको छ।
२०७२ सालमा विनाशकारी भूकम्पले भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि पाँच जना युवा समूह ‘उम्दा ग्रूप’ ले निर्माणको पाइला अघि बढाएको थियो। त्यो पाइला अहिले पूर्वमा झापा, पश्चिममा कैलालीसम्म पुगिसकेको छ।
‘जापानमा ठूलो भूकम्प जाँदा घरहरूमा असर नपरेको सुन्दै आएका थियौं। यहाँ पनि त्यस्ता भवनहरू निर्माण गर्न सकियो भने भूकम्पले असर गर्दैन भनेर छलफल भयो। असर नगर्ने, आवश्यक पर्दा अन्यत्र सार्न पनि मिल्ने संरचना निर्माणका लागि काम गर्ने सोच बन्यो। अनि उम्दा ग्रूपअन्तर्गत हाइटेक डेभलपर्स प्रालि स्थापना गरेर भूकम्प प्रतिरोधी भवन निर्माणको काम थालेका गर्यौं,’ अमरले भने, ‘मेरो लागि बुबाले सञ्चालन गर्दै आउनुभएको फलामको कामको विविधिकरण भयो। फलामको काममा सानैदेखिको अनुभव भएकाले निर्णय गर्न सजिलो भयो।’
उनीहरूले कम्पनीले तयार गरेको भवन २० वर्षपछि ८० प्रतिशत रकममा फिर्ता लिने अफर नै ल्याए। भूकम्पले धेरै संरचना तहसनहस बनाएको त्यो समयमा यो अफरले मान्छेको ध्यान तान्यो। उनीहरुले चितवन गार्डेन रिसोर्ट, प्रेसिडेन्सी कलेज, स्काइराइडर, अर्विट स्कुल, पुष्पाञ्जली, समिट अस्पताल जस्ता ठूला भवनहरू निर्माणको जिम्मेवारी पाए।
एक ठाउँको काम देखेपछि बुटवल, हेटौंडातिरबाट पनि कामहरू आउन थाल्यो। यो समूहले हेटौंडा र कैलालीमा १२० दिनमा निर्माण गर्ने जिम्मा लिएको ‘सेभ द चिल्ड्रेन’ को मेडिकल स्टोर एक सय दिनमै निर्माण गरि हस्तान्तरण गरेर ‘आउट स्ट्याण्डिङ कन्ट्रयाक्टर’ को अवार्ड नै पायो।
भवन निर्माणपछि उनीहरूको पाइला आन्तरिक सजावटतर्फ अघि बढ्यो।
‘चितवन बजारमा अन्तर्राष्ट्रिय प्रविधि र गुणस्तरका सामानहरूको अभाव छ भन्ने विश्लेषण गरेर हामीले फर्निचर र इन्टेरियर डिजाइनको काम पनि सुरू गर्यौं,’ अमरले भने, ‘अहिले भवन बनाउनेदेखि आन्तरिक सजावट सबै काम गर्दै आएका छौं।’
अमर बालबालिकालाई पढाउने प्रि–स्कुलदेखि युवाहरूका लागि शैक्षिक परामर्श केन्द्रसम्म संलग्न छन्। नारायणघाटमा रहेको युरो किड्स चितवन श्रीमती कृपा खनालले सम्हालेकी छन्। अमर भरतपुरमा रहेको शैक्षिक परामर्श केन्द्र स्टुडेण्ट वर्ल्ड चितवनको पनि सञ्चालक हुन्। यी दुवै शैक्षिक संस्था सामूहिक लगानीमा स्थापना गरिएको हो।
‘जब मैले आफ्नो छोरालाई पढ्न प्रि–स्कुल पठाएँ, बच्चाहरूको केयर, खाना तथा अन्य व्यवस्थापन पूरै व्यावसायिक पाएँ। उनीहरुको मानसिक र शारीरिक विषयमा ख्याल नगरिएको पाएपछि यस विषयमा ध्यान दिएर आफैले अग्रसरता लिनुपर्छ भन्ने महसुस भयो। त्यसपछि युरो किड्स चितवनको जन्म भयो,’ अमरले भने, ‘युवाहरुलाई जसरी पनि विदेश पठाउने उद्देश्यले शैक्षिक परामर्श केन्द्रहरूको बाढी नै आइरहेको छ। हामीले सीप, उद्यमशीलता र अध्ययनका लागि भनेर परामर्श केन्द्र स्थापना गरेका छौं। विद्यार्थीलाई देशमै पनि अवसर सिर्जना गर्न सघाउने, विदेश जान चाहनेलाई सीपसहित पठाउने लक्ष्यका साथ शैक्षिक परामर्श केन्द्र स्थापना गरेका छौं।’
यसबाहेक उनको लगानी जलविद्युत्, पर्यटन क्षेत्रमा पनि छ। उनले अब छिट्टै जडिबुटी उत्पादनका लागि लगानी गर्न तयारी छ। आयुर्वेदलाई प्रवर्द्धन गर्दै पश्चिम चितवनबाट जटिबुटीको खेती सुरू गर्न लागेको जानकारी उनले दिए।
यी सबै व्यवसाय गरेर अमरको लगानी करिब १० करोड रुपैयाँ पुगेको छ। एक सय बढीले रोजगारी पाएका छन्।
‘मैले करिब एक लाख रुपैयाँ लगानीबाट व्यवसायिक यात्रा सुरु गरेको थिएँ। कमाइ भएको पैसा लगानी गर्दै जाँदा करिब १० करोड लगानी पुगेको छ,’ उनी भन्छन्, ‘सबैजसो व्यवसायहरू समस्याबाट जन्मिएका थिए। तर मेहनत गर्दै जाँदा सफलतातर्फ अग्रसर छन्।’
अमरले अर्किट साइन्स कलेजबाट प्लस टू उतीर्ण भएलगत्तै साथीहरूसँग मिलेर फूलको खेती सुरू गरेका थिए। तर त्यो सफल हुन सकेन। त्यसपछि उनीहरूले गाई पालन सुरु गरे। गाई ५२ वटासम्म पुगेका थिए। तर त्यसबाट पनि घाटा लाग्यो। अनि उनी बाबुले सञ्चालन गरिरहेको कृषि औजार कारखानामै काम गर्न थाले।
यो कारखानामा अहिले पनि जैविक मल बनाउने, केराको थम्बाबाट फाइबर निकाल्ने, बीउ प्रशोधन गर्नेलगायतका मेसिनहरु निर्माण हुन्छन्। यहीँबाट अमरमा फलामको काममा दिल बसेको थियो।
त्यसपछि उनले एउटा वर्कसप भाडामा लिएर आफैले व्यवसाय सुरु गरेका थिए। त्यहाँ सुरूमा मजदुरी पनि आफैंले गरे। यो व्यवसायका लागि एक लाख रुपैयाँजति खर्च भएको उनले बताए। पछि यसैलाई बढाउँदै व्यवसायलाई सामूहिक बनाएका थिए उनले।
‘अहिले व्यवसाय आफ्नै जमिनमा छ। काम राम्रै आइरहेको छ। देशको आर्थिक अवस्थामा सुधार आउँदै गयो भने पूर्वाधार निर्माणको काम अझै बढ्ला,’ अमर भन्छन्, ‘तपस्या नगरी केही हुँदैन। अनि जस्तोसुकै चुनौती आउँदा पनि सकरात्मक सोचका साथ लागिरहन सक्दा सफलता हात पार्न सकिन्छ भनेर बुबाबाट सिकेको छु। त्यसैले पर्याप्त अवसर हुँदा पनि विदेशिने रहर बनाइनँ। यहीँ धेरै गर्न सकिन्छ भनेर लागेको छु।’
अमर सामाजिक काममा पनि उत्तिकै सकृय छन्। सन् २०२३ मा नारायणगढ जेसिजको अध्यक्ष र २०२४ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएका थिए।
उनी युवाहरुलाई नेतृत्व विकास, व्यवसायिक र उद्यमशीलता विकासको तालिम दिन्छन्। तालिमका अवसरहरू आए आफू पनि सहभागी हुन्छन्। उनले भारत र जापान पुगेर कर्पोरेट म्यानेजमेन्टको तालिम लिएका थिए। अहिले उनी लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ मा स्नातकोत्तर गर्दैछन्।
अमर आफू व्यवसायी बन्नुमा सबैभन्दा बढी जस बाबुलाई दिन्छन्। घरासयी वातावरणले नै आफूलाई व्यवसायी बन्न उत्प्रेरित गरेको मान्छन् उनी।
‘बुबाले जहिले पनि व्यापारी होइन उद्यमी बन्नुपर्छ भन्नुहुन्थ्यो। म उहाँको सिको गर्दै अघि बढेको छु,’ उनी भन्छन्, ‘व्यवसायलाई ‘कर्पोरेट वे’ मा लैजान व्यवसायी सुदिपसिंह अधिकारीले धेरै सहयोग गर्नुभयो। अझै पनि केही गर्नुअघि उहाँसँग सल्लाह लिने गर्छु।’
नेकपा (माओवादी) को सहयोगी भएको आरोपमा एक वर्ष थुनिएका यज्ञप्रसाद अहिले राजनीतिक गतिविधिमा संलग्न छैनन्। उनी आफ्नो कारखानामा नयाँ प्रविधिको आविष्कार गर्नमा व्यस्त छन्।
‘म बुबाको अनुपस्थितिमा बाध्यताले व्यवसायमा लागेको थिएँ। त्यो अनुभव अहिले पनि मेरो व्यवसायमा काम लागेको छ,’ अमरले भने, ‘देशको राजनीतिक अवस्थामा सुधार आए उद्योग, व्यवसायमा सुधार आउँथ्यो भन्ने लाग्छ। तर बुबाले पाउनुभएको दुःख सम्झेर राजनीतितर्फ लाग्न मन लाग्दैन।’
-1756030770.JPG)
-1756030770.JPG)