साढे तीन वर्षदेखि जारी रूस-युक्रेन युद्ध वार्तामार्फत समाधान गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनिश्चित बनेको छ।
गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नै भूमिमा स्वागत गरेर ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि प्रत्यक्ष संवाद अघि बढाएका थिए।
अलास्कामा तीन घन्टा भएको वार्ताबाट युक्रेनमा अस्थायी युद्धविरामभन्दा स्थायी शान्ति स्थापना गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
त्यसका लागि द्वीपक्षी र युक्रेनलाई पनि सहभागी गराएर त्रिपक्षीय वार्ता क्रमशः अघि बढाउने ट्रम्पले बताएका थिए।
अलास्काको भेटवार्तापछि ट्रम्पले पुटिन र जेलेन्स्कीबीच चाँडै भेटवार्ता हुने बताएका थिए। त्यसपछि आफूसहितको त्रिपक्षीय वार्ता गरेर युक्रेनमा स्थायी शान्ति स्थापना गरिने ट्रम्पले बताएका थिए।
अलास्का वार्ताको एक सातापछि रूसी उच्च अधिकारीले ट्रम्पले भनेजस्तो छिट्टै पुटिन र जेलेन्स्कीबीच वार्ता हुने तय नभएको बताएका छन्।
रूसी विदेशमन्त्री सर्गेई लाभ्रोवले शुक्रबार एनबिसी न्युजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति पुटिन र जेलेन्स्की वार्तामा बस्ने तय नभएको बताएका हुन्।
'जेलेन्स्कीसँग द्वीपक्षीय वार्ता तय भएको छैन,' एनबिसीसँग उनले भने, 'वार्ताको एजेन्डा हुन्छ, त्यो नै बनेको छैन।'
उनले जेलेन्स्कीलाई फेरि अर्को स्टेजमा देखिने मौका दिनका लागि मात्रै उनीसँग राष्ट्रपति पुटिनले नभेट्ने बताए।
'राष्ट्रपति पुटिन राष्ट्रपति जेलेन्स्कीलाई भेट्न तयार हुनुहुन्छ। तर त्यो बैठकले साँच्चिकै केही निर्णय गर्ने हो भने मात्र। खाली जेलेन्स्कीलाई फेरि स्टेजमा देखिने मौका दिनकै लागि मात्रै हुने बैठकलाई हामी उपयोगी ठान्दैनौं,' उनले भने।
शान्तिका लागि गरिएका सबै प्रस्तावमा जेलेन्स्कीले अस्वीकार गर्दै आएको पनि विदेशमन्त्री लाभ्रोवले बताए।
'जेलेन्स्की हरेक कुरामा ‘हुँदैन’ मात्रै भन्छन्। आफूलाई नेता जस्तो देखाउने नाटक गर्ने व्यक्तिसँग हामी कसरी भेट्ने?,' उनले भने।
विदेशमन्त्री लाभ्रोवले युक्रेनी भूभागप्रति रूसलाई कुनै रूचि नभएको पनि बताए।
'तर त्यहाँ बस्ने, आफूलाई जातीय रूपमा रूसी ठान्ने र शताब्दीयौँदेखि त्यहाँका पूर्वज बस्दै आएका मानिसहरूको बारेमा हामी चिन्तित छौं,' उनले भने।
एनबिसीसँगकै कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पुटिन र जेलेन्स्कीबीच हुने वार्ताको एजेन्डा यसअघि नै तय भएको बताएका छन्।
उनले अलास्कामा भएको वार्तामा पुटिनले विभिन्न सर्तहरू राखेको बताए।
'त्यसमा युक्रेनको भौगोलिक अखण्डता मान्ने, कीभमा सरकार परिवर्तन गर्ने र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने कुरा पर्ने रूसको सर्त छ,' भान्सले भने।
दुई देशबीच छलफल भए युद्ध चाँडै रोकिने उनले बताएका छन्। तर दुवै देश त्यहाँसम्म नपुगेको उनले बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न पुटिनलाई दुई साताको समय दिएका छन्।
शुक्रबार अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको कुराकानीमा ट्रम्पले दुई सातासम्म वार्ताको टेबलमा नबसे ठोस निर्णय गर्ने चेतावनी दिएका थिए।
‘दुई हप्तापछि पनि वार्ताका लागि तयार नभए के गर्छु भनेर निर्णय गर्छु,’ उनले सिएनएनसँग भनेका छन्।