द कन्भरसेसन : ५४
यो संसारमा मान्छेको जीवनभन्दा रहस्यपूर्ण अरू केही छैन।
मान्छे एउटा जीवनमा अनेकौं जीवन बाँचिरहेको हुन्छ। कहिले आफू जे हो, त्यसलाई लुकाएर अरू जे चाहन्छ, त्यो जीवन बाँच्छ। कहिले आफैलाई चिन्न नसकेर अरूले सोचेजस्तो जीवन बाँच्छ।
जसले म को हुँ भनेर चिन्छ र जे हो, त्यस्तै जीवन बाँच्छ; ऊ नै संसारमा सबभन्दा सुखी हुन्छ, खुसी हुन्छ।
यो केवल दर्शन होइन, रहस्यपूर्ण मानव जीवनको यथार्थ हो।
अभिनेता नाजिर हुसेनले आफ्नो नयाँ फिल्म 'गुन्यू चोलो' का निम्ति करिब डेढ वर्ष पारलैंगिक महिलाको जिन्दगी बिताए, जुन उनी वास्तवमा होइनन्।
उनले 'रिल–लाइफ' मा बिताएको त्यही जीवन उमिशा पाण्डेको 'रियल–लाइफ' हो। उनले डेढ वर्ष होइन, डेढ दशकभन्दा बढी समयदेखि यही जीवन बिताइरहेकी छन्।
सेतोपाटी कन्भरसेसनको आजको शृंखलामा नाजिर र उमिशाले एकअर्काको जीवन अनुभव बाँडेका छन्।
नाजिरले डेढ वर्षको रिल–लाइफ अनुभव उमिशासँग साटेका छन्, उमिशाले पनि रियल–लाइफ अनुभव नाजिरलाई सुनाएकी छन्।
उमिशाको जन्म उमेशका रूपमा भएको थियो। घरपरिवारले यही नाम दिएका दिए। एकदिन उनले बुझे — म उमेश होइन। उमेशले लगाउने सर्ट–प्यान्ट मेरा होइनन्। उमेशको केश मेरो होइन। उमेशको चालढाल पनि मेरो होइन।
जुन दिन उमिशाले आफूलाई चिनिन्, उनले घरपरिवार र समाजले दिएको कृत्रिम चोला उतारेर फालिन्।
र, आफू जे हो, त्यही परिचय अँगालिन्। सर्ट–प्यान्ट लगाउन छाडिन्। केशको शृंगार बदलिन्। चालढालमा पनि उमेशको कृत्रिमता हरायो, उमिशाको वास्तविकताले प्रवेश पायो।
उमिशाका निम्ति सबभन्दा ठूलो चुनौती अन्तरमनलाई आफ्नो परिचय स्वीकृत गराउनु थियो। जुन दिन उनको अन्तरमनले आफ्नो वास्तविक लैंगिकता स्वीकार गर्यो; त्यस दिन घरपरिवार, छरछिमेक र समाजको चुनौती उनलाई गौण लागे।
जहाँसम्म घरपरिवारको कुरा छ, आमाबुबाले उमिशाको नयाँ परिचय सहजै स्वीकार गरे, नातागोताले भने आजसम्म अनुमोदन गरेका छैनन्।
उमिशालाई अब कसैको अनुमोदनको खाँचो पनि छैन।
उनी अचेल नातागोताको जालोबाट टाढै बस्छिन्। तर मनखत छैन। एकथरी नातागोताको सट्टा थुप्रै संगीहरूसँग जोडिन पाएकोमा उनी प्रसन्न छिन्।
'हामीजस्ता पारलैंगिक महिला–पुरूषले सबभन्दा पहिला मनको डर जित्नुपर्छ। आफूले आफैलाई स्वीकार गरेपछि बल्ल घरपरिवार र समाजलाई पनि स्वीकार गर्न कर लाग्छ,' उनी भन्छिन्, 'नत्र त हाम्रो कुरा सुनिदिने, हामीलाई बुझिदिने कोही हुँदैन। घरपरिवार र इष्टमित्रले त हामीलाई बुझ्दैनन् भने समाज टाढाको कुरा भइहाल्यो। सरकार त झन् कहाँ हो कहाँ!'
पहिले पहिले भइदिएको भए उमिशाको यो मनोभाव नाजिरका निम्ति अलि 'दूरको कुरा' हुन्थ्यो होला, तर 'गुन्यू चोलो' मा गुलाबीको भूमिका गरेपछि उनी उमिशा र उमिशाजस्ता सबै पारलैंगिक महिला–पुरूषको मनोभाव बुझ्ने भएका छन्।

हुन त त्यसै पनि नाजिरलाई चरित्रमा बाँच्ने अभिनेताका रूपमा चिनिन्छ। उनी हरेक भूमिकामा जीवन्त अभिनय गर्छन् र त्यो भूमिकालाई दर्शकको मनमस्तिष्कमा उतार्न सफल हुन्छन्। कलेज पढ्ने युवादेखि वृद्धको भूमिकामा समेत उनले न्याय गरेका छन्।
'कलाकारले भिन्दै चरित्र निर्वाह गर्न पायो भने म कति गहिराइसम्म पुग्न सक्छु भनेर देखाउन पाउँछ,' उनी भन्छन्, 'त्यसैले हरेक कलाकारलाई आफूभन्दा फरक व्यक्तित्वको चरित्र निर्वाह गर्ने लोभ हुन्छ।'
त्यही लोभले 'गुन्यू चोलो' को पारलैंगिक महिलाको भूमिका स्वीकार गरेको उनी बताउँछन्।
उनले यो चरित्र निर्वाह गर्न मिहिनेत पनि उत्तिकै गरेका छन्। सबभन्दा पहिला त, आफूलाई गुलाबीको चरित्रमा ढाल्न तौल घटाए। फिल्ममा अनुबन्धित हुने बेला मोटोघाटो ज्यानका नाजिरले सुटिङ सुरू हुने बेलासम्म १७ किलो तौल घटाएका थिए।
'फिल्ममा १८ वर्षकी सुन्दर महिला देखिन मैले तौल घटाएको हुँ,' उनले भने।
यति मात्र होइन, आफूलाई गुलाबीको चरित्रमा उतार्न उनले गाजल, टीका र नथिया लगाएर हिँडे। गुलाबीको मनोभाव बुझ्न पारलैंगिक महिलाहरूको सहयोग लिए। कसैसँग हिलजुत्ता लगाएर हिँड्न सिके, कसैसँग सारी लगाउन सिके।
तीमध्ये एक जनाले त लगातार १५ दिन उनीसँग भेटघाट र कुराकानी गरेर आफ्नो हाउभाउ र चालढाल मात्र सिकाइनन्, पारलैंगिक महिला–पुरूषको जीवनका उतारचढावसँग पनि नाजिरको साक्षात्कार गराइन्।
'गुलाबीका रूपमा मैले उहाँकै जीवन र चरित्रलाई पर्दामा उतारेको छु,' नाजिरले ती महिलाको परिचय नखुलाउँदै भने, 'उहाँ अहिलेसम्म सार्वजनिक हुन चाहनुभएको छैन। आफ्नो निजी व्यक्तित्व र समाजले देख्ने व्यक्तित्व बीचको संघर्षमै हुनुहुन्छ।'

फिल्ममा एउटा संवाद छ — दिउँसै रात पार्ने हो कि क्या हो?
यो संवाद नाजिरको मनमा खट्किरहन्छ। पारलैंगिक महिलाहरूले पहिचान खोज्दै हिँड्ने क्रममा पल–पल यस्तो संवाद सामना गर्नुपर्ने उनी बताउँछन्।
'कोही आफ्नो क्षमताले भ्याएको काम गर्छन्, कोही पहिचान लुकाएर घरमै बस्छन्। कोही भने बाध्यताले यौनकर्मी बन्छन्। तर हाम्रो समाजले सबैलाई एकै नजरले हेर्छ। समाजको त्यो नजरले नै पारलैंगिक व्यक्तिहरूको जीवनमा सबभन्दा ठूलो चोट दिइरहेको छ,' नाजिरले भने।
उमिशाले यसमा सही थापिन् र भनिन्, 'समाजले हाम्रो अस्तित्व स्वीकार नगर्दासम्म चोट दिने र चोट सहने यो सिलसिला चलिरहन्छ।'
कुराकानी क्रममा नाजिरले फिल्मको चरित्रले आफ्नो व्यक्तिगत जीवनमा ल्याएको परिवर्तनको पनि चर्चा गरे।
'गुलाबीको पात्रले मेरो अन्तरआत्मालाई छोएको थियो। जब म गुलाबीको पहिरन लगाउँथेँ; केटाहरूलाई छुन, उनीहरूको नजिक बस्न अप्ठ्यारो महसुस हुन्थ्यो। केटाहरू मात्र भएको ठाउँमा त जान पनि डर लाग्थ्यो,' उनले भने, 'मलाई आफ्नो भित्री वस्त्र कसैले नदेखोस् भन्ने लाग्थ्यो। आफूले लगाइरहेको चोलोबाट भित्री वस्त्र देखिएको छ भने पनि अप्ठ्यारो मान्थेँ।'
कतिसम्म भने, उनले धेरैपटक आफ्नै टिमका केटाहरूले छुँदा पनि हात हटाइदिएका छन्।
एकचोटि ठमेलमा द्वन्द्व दृश्य छायांकन हुँदा केटाको हातले उनको घाँटीमा चोट लाग्यो। त्यो रात उनी राम्ररी निदाउन पनि सकेनन्। घर आएर एक्लै रोएको अनुभव उनी सुनाउँछन्।

फिल्म छायांकनका केही रमाइला अनुभव पनि नाजिरसँग छन्।
ठमेल बजारमा गुलाबीको वेशभूषा र शृंगारमा हिँड्दा धेरैले आफूलाई फर्की फर्की हेरेको उनी सम्झिन्छन्। त्यही देखेर टिमका एक जनाले बटुवाहरूलाई भनेछन्, 'हाम्रो साथी मनपर्यो कि क्या हो?'
गुलाबीको चरित्रले एकदमै धेरै प्रभाव पारे पनि आफू गुलाबीजस्तो साहसी नभएको नाजिर बताउँछन्।
'गुलाबी आफ्नो पहिचानका लागि समाजसँग लड्न सक्छिन्, नाजिरमा त्यति आँट छैन,' उनले भने, 'गुलाबी जसरी आफ्नो कुरा खुलेर राख्न सक्छिन्, नाजिरले सक्दैन।'
यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधिमूलक संस्था नीलहिरा समाज (ब्लू डायमन्ड सोसाइटी) की अध्यक्षसमेत रहेकी उमिशाले आफूजस्ता पारलैंगिक महिला–पुरूषको मनोभावलाई सिनेमाको पर्दामा उतारेकोमा नाजिर र टिमलाई धन्यवाद दिएकी छन्।
यो फिल्ममा पारलैंगिक महिला–पुरूषलाई हाँसोको पात्रका रूपमा चित्रण नगरिएको उनले बताइन्।
'यो फिल्मले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि बदलाव ल्याउला कि भन्ने अपेक्षा छ,' उनले भनिन्।
यो शृंखलामा यस्ता धेरै अनुभव उमिशा र नाजिरले बाँडेका छन्। यी दुईको कुराकानीबाट लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको जीवनका धेरै पक्ष खुलेर आएका छन्। यी दुवैको रिल र रियल–लाइफ अनुभव साटासाटले कहीँ मनमा गाँठो पर्छ, कहीँ अनुहारमा हाँसो पनि ल्याउँछ।
हेर्नुहोस्, उमिशा पाण्डे र नाजिर हुसेनको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —

