द कन्भरसेसन : ५३
हामी गर्न सक्छौं।
हामीले गर्नुपर्छ।
हामीले नै गर्ने हो।
यी तीन वाक्य जति साधारण सुनिन्छन्, एकछिन घोत्लिएर मनन् गर्ने हो भने उत्तिकै असाधारण छन्।
यति असाधारण; हामीले आजसम्म जे–जति परिवर्तन देखेका छौं, भोगेका छौं, ती सबै परिवर्तनको आरम्भ यिनै तीन वाक्यबाट भएको हो।
यसले मान्छेको आत्मविश्वास जगाउँछ, दृढता झल्काउँछ र तत्परता बुझाउँछ।
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक घनश्याम पाठकको शब्दकोशमा पनि 'भोलि गरूँला', 'गर्न सकिँदैन' वा 'नगरे हुन्छ कि' जस्ता आलटाले शब्द थिएनन्।
उनी आफ्ना सहकर्मी शिक्षकहरूलाई सधैं नै 'गर्न सकिन्छ', 'आजै गर्ने' वा 'गर्नैपर्छ' भनेर प्रोत्साहित गरिरहन्थे।
उनको त्यही अटुट प्रोत्साहनले शिक्षकहरूमा जगाएको आत्मविश्वास, दृढता र तत्परताकै परिणाम हो — कालिका आज ८ हजार विद्यार्थी पढ्ने देशकै ठूलो सामुदायिक स्कुल बनेको छ।
यो बुटवलको यस्तो सामुदायिक स्कुल हो, जहाँ हरेक वर्ष विद्यार्थी भर्ना हुन होड चल्छ। यहाँ भर्ना हुन नसकेपछि मात्र अन्य स्कुल लैजाने चलन छ।
सेतोपाटी कन्भरसेसनको यो भिडिओ शृंखलामा आज म यही स्कुलको परिवर्तनको कथा लिएर आएको छु।
यसका लागि मैले कुरा गरेको छु, पछिल्लो पाँच वर्षदेखि स्कुलको प्रधानाध्यापक रहेका दिनेश थापासँग।
घनश्याम पाठक र दिनेश थापा एकै वर्ष यो स्कुल प्रवेश गरेका हुन्। महिनाको मात्र फरक हो।
आजभन्दा १७ वर्षअघि २०६५ भदौमा घनश्याम प्रधानाध्यापक भएर कालिका स्कुल आएका थिए। त्यसै वर्ष फागुनदेखि दिनेशले करार शिक्षकका रूपमा यहाँ पढाउन थाले।
घनश्यामले आफ्नो कार्यकालमा स्कुल सुधारको जुन अभियान सुरू गरे, दिनेशले त्यसको 'कोर टिम' मा रहेर काम गरेका छन्।
सुधारका प्रत्येक चरणमा सहयात्री भएर हिँडेका दिनेश आज स्कुलको नेतृत्वमा छन् भने घनश्याम कालिका क्याम्पस सम्हाल्छन्। उनले प्रधानाध्यापकका रूपमा स्कुलको शैक्षिक गुणस्तर उकास्न जुन परम्परा बसाले, कालिका स्कुल आज पनि त्यही परम्परामा चलिरहेको छ।
नाम कमाउनु आफैमा ठूलो चुनौती हो। त्योभन्दा ठूलो चुनौती हो, नामको साख जोगाउनु।
घनश्यामको अथक मिहिनेतबाट कालिका स्कुलले कमाएको नामको साख जोगाएर राख्न र त्यसमा इँटा थप्दै जानमा दिनेशको ठूलो योगदान छ।
उनी यो स्कुलमा प्रवेश गरेको पनि घनश्यामकै कारण हो। त्यसअघि बुटवलको अक्सफोर्ड कलेजमा ११ र १२ कक्षालाई पढाउँथे।
'म यहाँ आउँदा जम्मा ८ सय विद्यार्थी पढ्थे। शिक्षक–कर्मचारी पनि २२ जना मात्र थिए। संरचनाका हिसाबले निकै सानो थियो,' दिनेशले मसँगको कुराकानीमा भने, 'अहिले स्कुल प्रांगणका चारैतिर देखिने भवनमध्ये त्यति बेला अगाडिको एउटा मात्र थियो। १४ कोठाको त्यही भवनमा सबै कक्षा सञ्चालन हुन्थे।'
त्यस्तो अवस्थामा प्रधानाध्यापक भएर आएका घनश्यामले कालिका स्कुल सुधार्ने बिँडो उठाए। उनी राम्रा राम्रा शिक्षकको खोजीमा लागे। त्यसै क्रममा दिनेशसँग सम्पर्क भयो।
खासमा दिनेशका एक जना साथीले कालिका स्कुलमा पढाउँथे। त्यही माध्यमबाट घनश्यामले उनीसँग भेटेका थिए।
घनश्यामसँगको पहिलो भेट र पहिलो कुराकानी दिनेश आज पनि सम्झन्छन्।
प्रधानाध्यापक दिनेश थापा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
त्यति बेला स्कुलको प्रांगणमा स्वामीको रूख थियो। सानो चौतारी पनि बनाइएको थियो। उनीहरूले त्यही चौतारीमा बसेर पहिलो कुराकानी गरेका थिए।
पहिलो भेटमै घनश्यामले भने, 'दिनेशजी, सामुदायिक स्कुल राम्रो बनायौं भने सर्वसाधारण जनताका सन्तानले राम्रो शिक्षा पाउँछन्। शिक्षाको पहुँच आममान्छेसम्म पुग्छ।'
घनश्यामले कुनै नौलो कुरा भनेका त थिएनन्, तर जुन आत्मविश्वासका साथ भनेका थिए, त्यसले दिनेशको मन जित्यो।
उनले सोधे, 'हामी एक–दुई जना शिक्षकले कसरी सुधार गर्न सक्छौं त?'
जबाफमा घनश्यामले भने, 'दिनेशजी तपाईं नआत्तिनुस्, हामीले मिलेर गर्ने हो। नहुने कुरै छैन। तपाईं पनि यहीँ पढाउन आउनुस्। तपाईं–हामी मिलेर यो स्कुल सुधार गर्न सक्छौं।'
'सुधार भनेको अरू कसैले गर्ला भनेर कुरेर बस्ने होइन,' घनश्यामले अगाडि भने, 'तपाईं–हामीले नै गर्ने हो। अहिले नै गर्ने हो। हामीले गर्यौं भने हासिल नहुने केही छैन। कालिका स्कुल पनि अवश्य सुधार हुन्छ।'
घनश्यामले यो कुरा यति दृढताका साथ भनेका थिए, त्यसले दिनेशको हुटहुटी हलक्कै बढाइदियो।
उनी घनश्यामको कुरामा वशीभूत भए।
र, तलब कति पाइन्छ भनेर पनि नसोधी अक्सफोर्ड स्कुल छाडेर कालिकामा नियुक्ति लिए।
'घनश्याम सरले मलाई यस्तरी मन्त्रमुग्ध पार्नुभयो, यस्तरी प्रेरित गर्नुभयो, कति पैसा दिनुहुन्छ भनेर सोध्न पनि मन लागेन। म चुपचाप उहाँको कुरा स्वीकार गरेर कालिका स्कुलमा पढाउन आएँ,' दिनेशले भने।
सुरूमै कति तलब पाइन्छ भनेर नसोधे पनि कौतूहल हुनु स्वाभाविक थियो।
पछि पैसा बुझ्ने बेला थाहा भयो, उनी त अक्सफोर्ड कलेजमा पाइआएको तलबभन्दा ८० प्रतिशत कममा आएका रहेछन्।
'अक्सफोर्डमा मेरो तलब साढे २२ हजार रूपैयाँ थियो। मलाई याद भएसम्म कालिका स्कुल आउँदा मेरो सुरूको तलब चार हजार थियो,' उनले भने, 'बिस्तारै तलब बढ्दै गयो, तर सुरूमा त यहाँ आउँदा लगभग शून्यमै आएजस्तो अनुभूति भयो।'
यसरी ८० प्रतिशत तलब घट्ने गरी जागिर फेर्दा दिनेशले घरपरिवारमा कसैसँग सल्लाह गरेका थिएनन्। त्यही भएर परिवारका सबै उनीसँग रिसाएका थिए। दाइले त गाली नै गरेको उनी बताउँछन्।
'त्यो समय २२ हजार तलब पाउँदा मेरो आर्थिक अवस्था राम्रो थियो। म एक किसिमले भन्दा ठाँटसँगै बसेको थिएँ,' उनले भने, 'म ती सबै छाडेर घरपरिवारसँग एक वचन सोध्दा पनि नसोधी नयाँ ठाउँमा हाम फालेको थिएँ। एकाएक आम्दानीको स्रोत कम भएपछि तनाव त भयो, तर कालिका स्कुल आएर गल्ती गरेँ कि भन्ने चाहिँ फिटिक्कै लागेन।'
'घनश्याम सरले मलाई तत्कालको लाभ–हानि होइन, शिक्षा क्षेत्रमा गर्न सकिने योगदानको दीर्घकालीन तस्बिर देखाउनुभएको थियो। उहाँले यस्तरी सम्झाउनुभएको थियो, मलाई अरू कुनै कुरा दिमागमा आएन। यति थोरै तलबमा घरखर्च कसरी चलाउने होला भनेर पनि कहिल्यै सोचिनँ।'
'अक्सफोर्ड स्कुलमा पढाउँदा पनि मलाई सबै जना राम्रो शिक्षक मान्थे। मेरो कामको कदर नै थियो। त्यसैले आवश्यक परे बाहिर ट्युसन पढाएर भए पनि घर चलाउन सक्छु भन्ने आत्मविश्वास थियो। जति दुःख भोग्नुपरे पनि कालिका स्कुल रूपान्तरण गर्ने जुन अभिभारा घनश्याम सरले उठाउनुभएको थियो, त्यसमा थोरै भए पनि योगदान गर्ने हुटहुटीले मलाई तान्यो।'
दिनेशले कालिका स्कुल प्रवेशको कथा सुनाएपछि मैले सोधेँ, 'तपाईं घनश्याम सरको एक वचनका भरमा घरपरिवार नै रिसाउने गरी र परिवारमा आर्थिक संकट आउने गरी कालिका स्कुल आउनुभएछ। घनश्याम सरको अभिव्यक्तिमा त्यस्तो मन्त्रमुग्ध पार्ने के मन्त्र थियो?'
जबाफमा उनले भने, 'सबभन्दा ठूलो कुरा त, मैले उहाँ जत्तिको सकारात्मक मान्छे देखेको छैन। उहाँमा जे पनि गर्न सकिन्छ भन्ने भावना थियो। यस्तो गर्न त सकिन्न कि क्या हो भन्ने नकारात्मक कुरा मैले उहाँबाट सुनेको छैन। त्यस दिन स्वामीको रूखमुनि बसेर कुराकानी गरेपछि मलाई यही लाग्यो — यत्तिको सकारात्मक मान्छे भएपछि जतिसुकै हन्डर खानुपरे पनि परिवर्तन अवश्य हुन्छ।'

दिनेशले मसँगको कुराकानीमा आफ्ना पथप्रदर्शक घनश्याम पाठकको प्रशंसा गर्न कुनै कसर छाडेनन्।
उनी कालिका स्कुलको सुधारबारे बेलीविस्तार लगाउँदा हरेक चरणमा घनश्यामको नाम लिन्थे। स्कुल आज जहाँ छ, त्यसको पूरा श्रेय घनश्यामलाई नै दिन्थे। तर यो संवादबाट मैले एउटा कुरा के महसुस गरेँ भने, दिनेश आफै पनि कम सकारात्मक व्यक्ति होइनन्। जस्तोसुकै गाह्रो काम पनि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना दिनेशमा पनि कम छैन।
स्कुल सुधारको निम्ति बाटो देखाउने काम पक्कै घनश्याम पाठकले गरेका हुन्, तर 'कोर टिम' मा रहेर उनले देखाएको बाटो पछ्याउने र निरन्तर त्यही बाटो हिँड्दै होस्टेमा हैंसे गर्ने दिनेश र अन्य शिक्षकहरूको योगदानलाई पनि कम आँक्न मिल्दैन।
सबभन्दा ठूलो कुरा त, निजी स्कुलको आकर्षक तलब र करिअर छाडेर, आफ्नो घरपरिवारलाई आर्थिक संकटमा झोस्दै कालिका स्कुल आउन तयार हुनुले पनि सामुदायिक शिक्षा सुधारप्रति दिनेशको प्रतिबद्धता झल्काउँछ।
यसबाहेक अक्सफोर्ड छाडेर कालिका स्कुल आउनुको एउटा अर्को कारण पनि उनले हामीसँग खुलाए।
जति बेला उनी अक्सफोर्डमा पढाउँथे, त्यति बेला पनि अरू सामुदायिक स्कुलको दाँजोमा कालिकाको पढाइ राम्रो थियो। विद्यार्थी संख्या कम भए पनि र भौतिक पूर्वाधारमा तन्नम भए पनि कालिकाका विद्यार्थीले एसएलसीमा राम्रो नतिजा ल्याइरहेका थिए।
'यहाँका धेरै विद्यार्थी एसएलसीपछि ११–१२ कक्षा पढ्न अक्सफोर्ड आउँथे। अरू स्कुलको दाँजोमा यहाँबाट आएका विद्यार्थीलाई पढाउन सजिलो हुन्थ्यो,' दिनेशले भने, 'त्यसले पनि हुनसक्छ, घनश्याम सरको प्रस्ताव सुनेपछि म यहाँ पढाउन लालायित भएँ।'
दिनेशले मसँगको कुराकानीमा कालिका स्कुललाई देशकै ठूलो सामुदायिक स्कुल बनाउन के–कस्ता सुधारका काम भए भनेर चरणबद्ध चर्चा गरेका छन्।
घनश्याम पाठक, दिनेश थापा लगायतका शिक्षकले त्यस्तो के जादू गरे, जसले कालिका स्कुललाई आजको हैसियतमा पुर्यायो?
आज देशभरका सामुदायिक स्कुलको गुणस्तरलाई लिएर चौतर्फी आलोचना भइरहेका छन्। ती सबै स्कुलले कालिकाबाट के सिक्नुपर्छ? ती सबै स्कुललाई कालिकाजस्तै बनाउन सुधारका के–कस्ता काम गर्न सकिन्छ?
दिनेशले यो संवादमा यी प्रश्नको जबाफ दिएका छन्।
सँगसँगै, उनले नेपालको शिक्षण र सिकाइमा रहेका केही व्यावहारिक कमी–कमजोरीबारे पनि विस्तृत चर्चा गरेका छन्।
हेर्नुहोस्, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापासँगको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —