व्यवसायमा सफलताको खास रहस्य के हो?
उमेरले २३ वर्ष मात्र भएका जीवन सुनामको जबाफ छ – काम गर्ने जाँगर र मेहनत गरेपछि सफल भइन्छ भन्ने विश्वास।
उनले यस्तो जबाफ कसैबाट सुनेर वा कतै पढेर दिएका होइनन्, आफ्नै अनुभवको आवाज हो।
आठ वर्षअघि किशोर उमेरका जीवन अर्काको पसलमा काम गर्थे। दिनभर असनको एउटा गल्लीमा 'आउनुहोस्, आउनुहोस्, तपाईंले खोजेजस्तै दौरासुरूवाल यता पाइन्छ' भन्दै कराउँथे।
अहिले जीवन, उनकी कान्छी दिदी मनीषा र भाइ श्याम मिलेर आफ्नै पसल चलाइरहेका छन्, त्यो पनि तीन वटा।
पसलको नाम हो – असन राष्ट्रिय दौरासुरूवाल।
'गल्लीमा आठ वर्षअघि सानो सटरबाट सुरू गरेको व्यवसायले अहिले राम्रो फड्को मारेको छ,' जीवनले खुसी हुँदै सुनाए।
उनको पसलमा तयारी र नापअनुसार लुगा किन्न पाइन्छ। कतिपय पोसाक ग्राहकको रोजाइ र डिजाइनअनुसार पनि तयार हुन्छ। दौरासुरूवाल 'राष्ट्रिय पोसाक' भएकाले यसमा नेपालीहरूको आकर्षण भएको जीवन बताउँछन्। बिहे, कार्यालय र संस्थागत कार्यक्रम, समारोह इत्यादिमा धेरै पुरूषहरूको रोजाइ दौरासुरूवाल हुने गरेको छ। त्यसैले व्यवसाय सुरू गरेको दिनदेखि आजसम्म हात खाली बस्नु नपरेको उनले बताए।
'हाम्रा लागि यही नै ठूलो उपलब्धि हो,' उनले भने।
यहाँको लुगा पसलबाहेक अनलाइनबाट पनि किन्न सकिन्छ। फोटो वा भिडिओ हेरेर, ग्राहकले घरै बसेर शरीरको नाप दिन सक्छन्। पसलले लुगा डेलिभरी गरिदिन्छ। यस्तो सुविधा विदेशमा रहेका नेपालीका लागि पनि छ। विदेशमा भने जीवनले कुरियर गरेर पठाइदिन्छन्।
'विदेशबाट बिहेका लागि, दीक्षान्त समारोह र नेपालीका कार्यालयमा हुने कार्यक्रमका लागि अर्डर आउँछ,' उनले भने, 'हाम्रो लक्ष्य विदेशी बजार त होइन तर अर्डर आउँदा खुसी छौं। बनाएर पठाइरहेका छौं।'
यो पसलमा महिलाका लागि ढाकाको चोलो र बालबालिकाका लागि पनि अर्डरअनुसार लुगा तयार हुन्छ। महिलाको पोसाकको जिम्मेवारी दिदी मनीषा र भाइ श्यामले लिएका छन्।
जीवनहरूको घर रामेछाप हो। उनीहरूको ठूलो परिवार थियो। पाँचजना छोराछोरी, बुबाआमाको कमाइ थिएन। खेतबारीको काम गरे पनि आम्दानी हुँदैन थियो।
'हलो जोतेर पढ्नुपर्थ्यो,' जीवनले भने, 'गरिब भएपछि अरूले पनि खुब हेप्थे।'
जीवन गाउँमै आठ कक्षा पढेर काठमाडौं आए। जम्मा १४ वर्षका थिए त्यो बेला। यता आएपछि उनको पढाइ रोकियो। त्यसअघि नै उनकी दिदी मनीषा काठमाडौं आएर असनको एउटा कपडा पसलमा काम गर्न थालेकी थिइन्।
जीवन पनि काम पाउने आशमा असनतिरै गए, पसलहरूमा सोध्दै हिँडे। केही दिनको प्रयासमा उनले एउटा दौरासुरूवाल पसलमा काम पाए। फूर्तिला र बोलक्कड जीवनले सडकमा कराउँदै ग्राहक आकर्षित गर्ने जिम्मेवारी पाए। थोरैतिनो भए पनि पैसा हुने भयो, उनी खुसी भए।
'आउनुहोस्, आउनुहोस्, तपाईंले खोजेजस्तै दौरासुरूवाल यता पाइन्छ' भन्दै उनी ग्राहक बोलाउँथे र भित्रपट्टि रहेको पसलसम्म पुर्याउँथे।
'गाउँमा दिनभरि हलो जोतिन्थ्यो तर पैसा कमाउन गाह्रो थियो। सहरमा दिनभरि बोलेको भरमा पैसा पाइन्छ भने किन नगर्नु भनेर खुसी भएँ नि,' जीवनले भने, 'महिनाबारी तलब थिएन। दिउँसो खाजा र दिनको ५० रूपैयाँ पाउँथेँ। कोठामा सुत्न र खाना पाएकै थिएँ, गाडी भाडा पुगिहाल्थ्यो।'
यसरी उनले एक वर्ष सडकमा बिताए। ग्राहक बोलाएर साहुको व्यापार बढाउन मद्दत गरे।
एक दिन दिदी मनीषाले आफै पसल खोल्ने योजना सुनाइन्। जीवनको खुसीको सीमा रहेन। बेच्ने काममा केही अनुभव भएको थियो। उनले ग्राहकको मन चिन्न थालेका थिए। मनीषाको कुराले उनी हौसिइहाले।
उनीहरूले रेडिमेड दौरासुरूवाल र टोपी बेच्ने योजना बनाए। अनि असनको गल्लीमा सानो सटर लिए।
मनीषाले दस हजार रूपैयाँ जम्मा गरेकी थिइन्। थप दस हजार रूपैयाँ गाउँबाट ऋण ल्याए। यसरी २० हजार रूपैयाँ जुटाएर २०७३ सालमा दिदीभाइले पसल सुरू गरे। पहिलोपटक उनीहरूले दस जोर दौरासुरूवाल र दस वटा टोपी ल्याएर राखेका थिए।
आफै व्यापारी भएपछि त जीवन झन् धेरै उत्साह साथ सडकमा बसेर ग्राहक बोलाउन थाले। सोधखोज गर्नेलाई आफ्नो पसल पुर्याए। मनीषाले पसलमा बसेर बेच्ने काम गरिन्।
'दौरासुरूवाल यता हजुर, राम्रो पनि सस्तो पनि' भन्दै हँसिला र मिजासिला जीवनले व्यापार अगाडि बढाउँदै लगे।
सुरूमा उनीहरूको पसलमा सामान थोरै थियो। बिक्रीबाट आएको पैसाले तुरून्तै सामान ल्याउँथे। कहिलेकाहीँ ग्राहकले खोजेअनुसार सामान नहुँदा भने जीवन चतुर्याइँ गर्थे। गोदामबाट ल्याउँछु है भन्दै दौडिएर अर्को पसलमा पुग्थे।
'ग्राहकले अरू पनि हेर्न चाहे भने गोदामबाट ल्याउँछु भन्दै दौडिएर अर्काको पसल पुग्थेँ,' उनले सुरूआती दिनको संघर्ष सम्झे, 'पहिले काम गरेका साहुजीको पसलबाट लगेर बेच्थेँ।'
उनीहरूको मेहनतले दिनदिनै व्यापार र नाफा बढ्दै गयो। मनीषाले एउटा सिलाइ मेसिन किनिन्। पसलमै ढाकाको चोलो सिलाउन थालिन्। दौरासुरूवाल र टोपीसँगै बालबच्चालाई पास्नीमा लगाइदिने लुगा पनि राखे। सामान थप्दै गए, व्यापार बढ्दै गयो।
दुई वर्षपछि नै दिदीभाइले अर्को पसल खोले।
'पुरानो पसल भित्रतिर थियो। अलिक बाहिर नयाँ पसल खोल्ने सोचमा थियौं। त्यही बेला बाटोमै सटर पाइयो। लगानी बढाएर सामान थप्यौं,' जीवनले भने, 'सर्ट, पाइन्ट र कोटको कपडा पनि राख्यौं।'
दुइटा पसल भएपछि जीवन र मनीषालाई मात्र काम भ्याउन मुस्किल भयो। उनीहरूले गाउँबाट भाइ श्यामलाई बोलाए।
यसपछि उनीहरूले काम बाँडफाँट गरे। सडकमा उभिएर ग्राहक बोलाउने काम श्यामको जिम्मामा गयो। मनीषाले व्यवस्थापकीय पक्ष जिम्मा लिइन्। व्यापारको जिम्मा जीवनको भयो।
बिस्तारै उनीहरू तीनै जनालाई काम भ्याउन गाह्रो भयो। उनीहरूले कर्मचारी राख्न थाले। अहिले पसलमा यी तीन दिदीभाइ बाहेक थप आठ जनाले काम पाएका छन्। सिजनमा सबैलाई भ्याइनभ्याइ हुन्छ। जीवनका अनुसार बिहे हुने महिना र चाडपर्व मुख्य सिजन हुन् भने साउन र पुसलाई अफ-सिजन मानिन्छ।
'सिजनमा एक महिनामै पाँच सय जोरसम्म अर्डरको सुट (कोटपाइन्ट) तयार गर्नुपर्छ। रेडिमेड पनि उत्तिकै बिक्छ। अफ-सिजनमा पनि राम्रै व्यापार हुन्छ,' उनले भने।
अचेल उनीहरूको पसलमा बिहेको समयमा बेहुलाबेहुली र अरू पनि जोडीकै लुगा खोज्ने ग्राहकहरू धेरै आउँछन्। त्यसैले अब महिलाका सारी र अन्य लुगा थप्ने उनीहरूको तयारी छ।
यसरी जम्मा २० हजार रूपैयाँ लगानीमा दिदीभाइले सुरू गरेको व्यवसायले एक दशक नहुँदै राम्रो तरक्की गरेको छ।
यो तरक्कीले आफ्नो परिवारमा खुसी छाएको जीवन बताउँछन्।
'पसल खोलेयता कहिल्यै खाली बस्नुपरेको छैन। आम्दानी राम्रो छ,' जाँगर र मेहनतमा विश्वास राख्ने जीवनले दंग पर्दै सुनाए, 'हामीले अहिले काठमाडौंमा जग्गा किनेका छौं। केही महिनाअगाडि घर पनि किन्यौं। कुनै बेला त्यति धेरै दुःख थियो, अहिले परिवार नै खुसी छ।'
(असन राष्ट्रिय दौरासुरूवाल पसलको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्)