ललितपुर, कुपण्डोलबाट बखुण्डोल जाने उकालोमै छ 'नेचुरालय क्याफे एन्ड रेस्ट्रो'।
यहाँ प्रवेश गर्नेबित्तिकै हरियाली देखिन्छ। अंगुरका लहरा, एभोकाडो, मौसम लगायत विभिन्न फलफूलका बोटबिरूवाले स्वागत गर्छन्। तीनतले घरमा फैलिएको यो रेस्टुरेन्ट पारिवारिक शैलीको छ। भित्री सजावट सरल छ। भित्ताहरूमा नेपालका विभिन्न जिल्लाका प्रख्यात ठाउँहरूका कलात्मक चित्र छन्।
पहिलो तलामा आगन्तुकका लागि केही सोफा र टेबल छन्। त्यहीँ किचन, काउन्टर र सानो पुस्तकालय छ। दोस्रो तलामा बैठक कक्ष छ जहाँ सामूहिक रूपमा बस्न मिल्ने संरचना छ। यही तलामा नेचुरालय आयुर्वेद एन्ड अकुपञ्चर क्लिनिक पनि छ। तेस्रो तलामा बगैंचा शैलीमा रेस्टुरेन्टको संरचना बनाइएको छ।
डेढ वर्षअघि खुलेको यो रेस्टुरेन्टका सञ्चालक हुन् योगेन्द्र शाही।
'नेचुरालयको विशेषता भनेको फापर, कोदो र मकैका परिकार पाइनु हो। खासगरी इटालियन र मेक्सिकन परिकार,' योगेन्द्रले भने, 'नेपाली थाली, खाजा सेट र कन्टिनेन्टल परिकार पनि बन्छ।'
यहाँको फापर चिया पनि प्रख्यात छ। सुख्खा भुटेको फापरको दाना पानीमा उमालेपछि चिया तयार हुन्छ। यो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने उनी बताउँछन्।


'फापर अत्यधिक पौष्टिक अन्न हो। यो पचाउन सजिलो हुन्छ। यसले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ, रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ,' उनले भने, 'हामी यहाँ फापरको चियासँगै मःम, पिज्जा, टाकोज, स्यान्डविच र बर्गर बनाउँछौं। हामीले पस्किने स्वस्थकर परिकार ग्राहकले रूचाएका छन्। धेरैजसो फर्केर आउँछन्।'
पचास वर्षीय योगेन्द्र नेचुरालय रेस्टुरेन्ट चलाउनुअघि नेचुरालय फाउन्डेसन चलाउँथे। त्यो फाउन्डेसनले २०७६ सालमा आयुर्वेद एन्ड अक्कुपञ्चर क्लिनिक सुरू गरेको थियो।
योगेन्द्र राजनीतिकर्मी पनि हुन्। उनी नेकपा माओवादी केन्द्रमा आबद्ध छन्। कर्णाली प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्। हाल नेचुरालयको सञ्चालन र व्यवस्थापनमा व्यस्त छन्।
यो काममा उनलाई भाइ जोसेफ शाहीले सघाइरहेका छन्। रेस्टुरेन्टमा परिकार तयार गर्न सेफ र ग्राहक सेवामा ६ जना कर्मचारी छन्।
जोसेफ गायक र संगीतकार हुन्। उनी खासगरी देउडा शैलीका गीत चर्चामा छन्। रेस्टुरेन्टमा भने उनी दैनिक कामको व्यवस्थापन सम्हाल्छन्।
'ग्राहकसँग अन्तर्क्रिया गर्नमा धेरै समय दिन्छु। व्यवसाय चुनौतीपूर्ण छ, रमाइलो पनि छ,' जोसेफले भने।
दैलेखमा जन्मेहुर्केका यी दाजुभाइलाई नेपाली संस्कृतिमा विशेष लगाव छ। जोसेफले सांगीतिक कर्ममा सुदूरपश्चिममा र कर्णाली प्रदेशमा प्रचलित गीत तथा नृत्यलाई नै आफ्नो प्राथमिकतामा राखेका छन्। योगेन्द्रले कर्णाली भेगमा उब्जनी हुने अन्न र बन्ने परिकार नेपालको बृहत् समाजमा चिनाउन र प्रोत्साहित गर्ने उद्देश्यले नेचुरालयको अवधारणा ल्याएका हुन्।


यहाँ परिकार बनाउन सकेसम्म कर्णाली भेगकै उब्जनी प्रयोग हुन्छ। कर्णालीमा उत्पादित अन्न र त्यहाँका महिलाले बनाएको अचार बेच्न पनि राखिएको छ।
'सहरमा व्यस्त दैनिकी हुने जमात ठूलो छ। त्यही व्यस्त जमातलाई स्वस्थकर परिकार खुवाउने मेरो चाहना हो,' योगेन्द्रले भने।
नेचुरालयको मेनु उनले चाहना गरेअनुसारकै छ। कोदो र फापरको मःम, मकै र कोदोको पिज्जा र टाकोज, फापरको चिप्स, मुस्ताङ आलु र नेचुरालय स्पेसल सलाद ग्राहकले रूचाएका छन्। कर्णालीतिर बढी पाइने चिनोको खिर यहाँको अर्को विशेष परिकार हो।
पेय पदार्थमा मोही, एबिसिएल (स्याउ, चुकन्दर, गाँजर र कागती) जुस, गोल्डेन जुस, डिटक्स जुस, एभोकाडो स्मुदी लगायत पाइन्छ। जुस बनाउन मौसम अनुसार नेचुरालयको बगैंचामा पाकेको एभोकाडो, कागती, मौसम र जडीबुटी प्रयोग हुने योगेन्द्र बताउँछन्। त्यस्तै कम्बुचा र नन-अल्कोहलिक बियर पनि पाइन्छ।
'पुगेसम्म यहीँ बगैंचामा भएका फल र जडीबुटी प्रयोग गर्छौं,' योगेन्द्रले भने, 'एभोकाडो डेढ महिनाका लागि पर्याप्त हुन्छ। बगैंचामा अझै धेरै फल र जडिबुटी लगाउने योजना छ।'
बगैंचाले रेस्टुरेन्टको वातावरण स्वच्छ र रमणीय पनि बनाएको छ। यसले पनि ग्राहक आकर्षित गरेको उनले बताए।
कतिपय ग्राहकले यहीँ आएर कोदो, फापरका नयाँ परिकार चाखेका छन्।


योगेन्द्रले एउटा रमाइलो घटना पनि सुनाए — एकपटक एक बालकसहित परिवारका सदस्यहरू रेस्टुरेन्टमा आएका थिए। आमाले आफ्नो बच्चाले कोदो र फापरको केही परिकार रूचाउँदैन भनिन्। जब परिकार आयो, छोराले मिठो मानेर खाएको देखेर आमाबुबा नै दंग परे।
'स्वस्थकर जीवनशैलीको सुरूआत स्वस्थकर खानपिनबाटै गर्नुपर्छ,' योगेन्द्र भन्छन्, 'म मानिसहरूलाई स्वस्थकर जीवनशैली अपनाउन प्रेरित गर्न चाहन्छु।'
उनी राजनीतिलाई सेवा र रेस्टुरेन्टलाई पेसा मान्छन्। पेसा र व्यवसायका हिसाबले नेपालमा धेरै अवसरहरू देखेका छन् उनले। अवसर चिनेर काम गर्ने हो भने स्वदेशमै राम्रो आर्जन गर्न सकिने उनको विश्वास छ।
नेपाल सरकारको युवा नीति-२०१५ र युवा विकासका लागि दस वर्षे रणनीतिक कार्ययोजना (युथ भिजन- २०२५) का संयोजक समेत भएकाले आफूले युवाहरूको भावना केही बुझेको योगेन्द्रले बताए।
योगेन्द्र पनि राजनीतिक कर्मका साथै व्यवसाय बढोत्तरीमा केन्द्रित छन्।
'युवाहरू व्यवसायमा लागेको देख्दा मलाई धेरै नै खुसी लाग्छ। दृढ भएर लाग्ने हो भने लक्ष्यमा पुग्न कठिन छैन,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी









