काठमाडौंका निभेन अमात्य करिब एक दशकअघि नै थकाली रेस्टुरेन्ट सुरू गर्न चाहन्थे। यसका लागि योजना पनि बनाएका थिए।
यही अवधारणा केही समयअघि आफ्ना हितैषीहरूलाई सुनाए।
सबैको समान धारणा आयो – तिमी नेवारका छोरा, थकाली रेस्टुरेन्ट कसरी चलाउँछौ?
निभेनमा आत्मविश्वास र कामको अठोट थियो।
उनले हितैषीहरूलाई भने, 'म व्यवसायी हुँ। व्यवसायबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान छ। मेरो विशेषज्ञता पनि छ, मुख्य कुरा व्यावसायिक सीपको हो, म सक्छु।'
आँट भएपछि के चाहियो!
निभेनले रेस्टुरेन्ट खोले 'दाउरा थकाली'।
यहाँ थकाली खानासँगै नेवारी खाजा सेट, कन्टिनेन्टल र ओरियन्टल परिकार पाइन्छ। हरेक परिकार पाककलाका विशेषज्ञहरूले तयार गर्छन्।
'ग्राहकहरू यहाँको खाना मिठो छ भन्छन्। वातावरण रमणीय छ, घन्टौं बस्दा पनि समय बितेको पत्तो हुँदैन भन्छन्,' ४१ वर्षीय निभेनले दाउरा थकालीबारे भने, 'यसरी सकारात्मक प्रतिक्रियाले व्यवसायमा हौसला मिलेको छ।'
दाउरा थकाली ललितपुरको पुल्चोक, काठमाडौंको नयाँ बजार र भक्तपुरको पेप्सीकोलामा छ। यीमध्ये प्रिमियम शाखा पुल्चोकको हो।
यसको पहिलो र मुख्य विशेषता सजावट हो।
थापाथलीबाट पुल्चोक जाने यलः सडक किनारमै सात तले भवनको छैटौं र सातौं तलामा छ दाउरा थकाली। आधुनिक भवनभित्र ढुंगामाटाले बनेको र खरले छाएको संरचनाको आभास दिने गरी ग्रामीण परिवेशको सजावट गरिएको छ। यहाँभित्र 'खरको घर' छ। भित्ता सबै माटोले बनेको जस्तो देखिन्छ। भित्तामा हलो, जुवा, मादल इत्यादि सजाइएको छ। नेपाली कला, संस्कृति र सम्पदा चिनाउन चित्रहरू छन्। राष्ट्रले गौरव गर्न सक्ने विशेष सम्पदाका संक्षिप्त परिचयसहित तिनका तस्बिर टाँगिएका छन्। मौलिक नेपालीपन झल्काउने गरी सजावटमा ध्यान पुर्याइएको छ।
परालले बनेका टेबल म्याट र चकटीहरू राखिएको छ। बत्ती र सिलिङको सजावटमा पनि परम्परागत सामग्री छन्।
निभेनले यहाँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर झल्काउने संरचना बनाएका छन्। जसरी काठमाडौं र ललितपुर आउजाउ गर्न बागमती नदीको पुल तर्नुपर्छ, दाउरा थकालीमा एकातिरबाट अर्कोतिर जान पनि 'बागमती पुल' तर्नुपर्छ। यो कलात्मक पुल काठबाट बनेको छ। एक कुनामा गाई र दूध खाँदै गरेको बाछाको वास्तविक आकारमै आकर्षक मूर्तिकला पनि सजिएको छ।
भवनबाट निकै परसम्मको दृश्य अवलोकन गर्न पाइन्छ। सातौं तलाबाट राति जूनतारा देख्न सकिने गरी डिजाइन गरिएको छ। दृश्य हेर्ने ठाउँको नाम दाउरा टावर भ्यु राखिएको छ।
यहाँको आन्तरिक सजावटको डिजाइन निभेनकै हो।
'रेस्टुरेन्टमा दाउराको चुह्लो पनि चलाउने अवधारणा थियो। त्यसैअनुसार नाम जुराएको थिएँ। तर घना सहरी क्षेत्रमा दाउरा बाल्नु व्यावहारिक भएन,' निभेनले भने।
त्यस्तै यहाँ यती भनिने काल्पनिक हिमप्राणी र त्यसको कृत्रिम गुफा छ। हरेक शुक्रबार र शनिबार यती नृत्य र अन्य प्रदर्शनी हुन्छ। यतीको भेषमा सजिएका व्यक्तिले ग्राहकलाई मनोरञ्जन दिन्छन्। खास अवसरहरूमा पनि सांस्कृतिक प्रदर्शनी हुन्छ। बेलाबखत लाखेनाच, दुर्गानाच इत्यादि पनि देखाइन्छ।
निभेन भन्छन्, 'मौलिक नेपाली परिकारसँगै नेपाली संस्कृति चिनाउने प्रयास गरेका छौं।'
दाउरा थकाली गत मंसिरदेखि मात्र सुरू भएको हो। यसको पुल्चोक शाखामा एकैपटक २५० जनासम्म अटाउने क्षमता छ। नयाँ बजारमा ११० जना र पेप्सीकोलामा १५० जनासम्म अटाउँछन्। तीन ठाउँमा गरी कम्तीमा दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
यहाँ परिवारका सदस्यहरू र साथीहरू समूहमा बस्ने प्रबन्ध छ। धेरैजसो ग्राहक पारिवारिक र सामूहिक नै हुन्छन्।
'यहाँ आउने ग्राहकहरू थकाली खाना र अन्य परिकारको स्वादसँगै सकारात्मक ऊर्जा पनि महसुस गर्नुहुन्छ,' उनले भने, 'यहाँको वातावरण नै आनन्ददायी छ।'
यहाँको विशेष परिकार पनि थकाली खाना सेट नै हो। विशेष भेज थाली सेटको पाँच सय ७० रूपैयाँ पर्छ। चिकेन सेटको ६ सय ४५ रूपैयाँ र मटनको सात सय ९५ रूपैयाँ पर्छ। लोकल कुखुरा र ढिँडो पनि पाइन्छ।
यो व्यवसायबाट निकै उत्साहित निभेन अब काठमाडौं उपत्यकाबाहिर शाखा विस्तारको योजना बनाउँदै छन्। पोखरामा आफ्नै शाखा चलाउने र बुटवल र नेपालगञ्जमा फ्रेन्चाइज दिने तयारी छ।
'दाउरा थकाली मेरो ड्रिम प्रोजेक्ट हो,' उनले भने, 'नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट चलाउने सपना थियो। त्यसमा पनि विशेष रूचि थकाली परिकारमा थियो। दाउरा थकाली सुरू गरेपछि यो सपना पूरा भएको छ।'
होटल-रेस्टुरेन्ट क्षेत्रमा निभेनको यो पहिलो कदम भने होइन।
निभेन २०५७ सालमा अमेरिका गएका थिए। त्यहाँ 'अन्तर्राष्ट्रिय व्यवसाय' विषयमा स्नातक तहको पढाइ पूरा गरेर बेलायत गए। पढाइ र कामका सिलसिलामा करिब एक दशक विदेशमै बिताए। उता हुँदा धेरै रेस्टुरेन्टमा काम गरेका थिए। त्यही अनुभवले उनी रेस्टुरेन्ट व्यवसायमा तानिएका हुन्।
नेपाल फर्केको केही समयपछि, २०७० सालमा उनले 'बेरी एन्ड बेरी' क्याफे सुरू गरेका थिए। विभिन्न कारणवश तीन वर्षपछि त्यो बन्द भयो।
उनले २०७४ सालमा फेरि 'बोता मःम' खोले। बोता मःम निकै चम्कियो। शाखा बढेका बढ्यै भए। तर जब कोरोना महामारी र लकडाउन भयो, व्यवसायमा गम्भीर असर पर्यो। दुई दर्जन शाखा बन्द गर्नुपर्यो।
'बोता मःमले सुरूदेखि नै राम्रो बजार पाएको थियो। तर दोस्रो लकडाउनपछि सबै शाखा चलाउन सकिएन। दसवटा शाखा त एकैपटक बन्द गर्नुपर्यो,' उनले भने।
'लकडाउनपछि बोताको शाखा सञ्चालन आर्थिक रूपले निकै चुनौतीपूर्ण भयो। त्यसमा अल्झिनुको साटो ड्रिम प्रोजेक्टमै लाग्छु भन्ने भयो,' निभेनले भने, 'योजनाअनुसार अघि बढ्दै जाँदा दाउरा थकाली सुरू भयो।'
हाल बोता मःमका तीनवटा शाखा सञ्चालनमा छन्। थुप्रै शाखा बन्द गर्नुपरे पनि निभेनलाई व्यवसायमा चिनाएको बोता मःमले नै हो। त्यसैबाट व्यवसाय सिके, त्यसैले आत्मविश्वास दियो। त्यसैले उनी यसलाई पनि अघि बढाउन चाहन्छन्।
निभेनका अनुसार दाउरा थकालीले पनि छोटो समयमै बजारमा निकै राम्रो पहिचान बनाएको छ। केही व्यवसायीले फ्रेन्चाइज किन्न चाहेका छन्।
उनी नेपालमा मात्र होइन, विदेशमा पनि पुग्न चाहन्छन्। यसको सुरूआत भारतबाट हुने उनले बताए। छिट्टै भारतमा दाउरा थकाली र बोता मःम चलाउने योजना रहेको उनले जानकारी दिए।
व्यवसायमा लड्दै, उठ्दै काम गरेका निभेनले यसबीच थुप्रै अनुभव सँगालेका छन्। कुनै पनि काममा प्रतिफल लिन हतार गर्न नहुने उनले बुझेका छन्।
'व्यवसायबाट प्रतिफलको मात्रै आशा राख्नु हुँदैन। यसलाई आफ्नै बच्चा जसरी हुर्काउँदै र बढाउँदै लैजानुपर्छ,' निभेनले भने, 'व्यवसाय ग्राहकको रोजाइमा पर्ने र राम्रो चल्ने भएपछि प्रतिफल आफैं आउँछ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी