सब्रिना श्रेष्ठ, सुजन महर्जन र रिकित महर्जन मिल्ने साथी हुन्।
यी तीन जनाको मित्रता अहिले व्यावसायिक साझेदारीमा परिणत भएको छ। उनीहरू ललितपुरको एकान्तकुनामा सानो सटर भाडामा लिएर पानीपुरी र चटपटे व्यवसाय गर्दैछन्।
पसलको नाम हो 'एसआरएस स्पाइस।'
उनीहरूले आफूहरू तीन जनाको नामको पहिलो अक्षर जोडेर पसलको नाम जुराएका हुन्। चटपटे-पानीपुरी पिरो हुने भएकाले 'स्पाइस' शब्द थपेका छन्।
पानीपुरी-चटपटे व्यवसाय गर्नुको कारणबारे सञ्चालकमध्येकी एक सब्रिना भन्छिन्, 'पहिल्यैदेखि व्यवसाय गर्ने सोच थियो। एकैपटक धेरै लगानी गर्न पुँजी थिएन। थोरै पैसामा सुरू गर्न सकिने व्यवसाय यही देख्यौं, यसैमा लाग्यौं।'
उनीहरूले जम्मा ५० हजार रूपैयाँ लगानीमा एसआरएस सुरू गरेका हुन्।
२०७९ असारमा खुलेको एसआरएसको व्यवस्थापन र सञ्चालन सब्रिना र सुजनले सम्हालिरहेका छन्। रिकित व्यवस्थापनसँगै बजार विस्तार हेर्छन्। उनीहरू तीनै जना २२ वर्षका हुन्।
सुजन र रिकितलाई पानीपुरी-चटपटे खुबै मनपर्छ। आफूलाई मनपर्ने खानासम्बन्धी व्यवसाय गर्न पाउँदा रमाइलो र खुसी लागेको सुजनले बताए।
'हामीलाई चटपटा खानेकुरा मनपर्छ। हाम्रै उमेर समूहलाई लक्षित गर्दै व्यवसाय गरिरहेका छौं। ग्राहकसँग कुराकानी गर्दा कुरा पनि मिल्छ। त्यसैले खुसी छु,' सुजनले भने।
यहाँका ग्राहक २०-२५ वर्ष उमेर समूहका छन्। त्यसमा पनि बढीजसो स्कुल/कलेज पढ्ने विद्यार्थी समूहको भीड लाग्छ।
पहिले सामान्य पानीपुरी र चटपटे मात्र बेच्ने एसआरएसले ग्राहकको मागअनुसार विभिन्न नयाँ स्वाद थप्दै गएको छ। अहिले यहाँ चिप्स चटपटे, वाइवाइ चटपटे, करेन्ट स्टिक चटपटे पाइन्छ। आलु-निम्की, दही-पुरी र फुल्की पनि छ। यी परिकारको मूल्य ३० रूपैयाँदेखि सुरू हुन्छ।
उनीहरू एसआरएस स्पाइसको साढे तीन किलोमिटर क्षेत्रभित्र पानीपुरी-चटपटे डेलिभरी पनि गर्छन्। योभन्दा टाढा डेलिभरी गर्न गाह्रो र समय लाग्ने भएकाले सीमा तोकिएको सुजनले बताए। अर्डर भने कार्यालयहरूबाट बढी आउँछ।
डेलिभरी गर्दा पानीपुरी-चटपटे नओसिसियोस् भनेर बेग्लाबेग्लै प्याकिङ गरिन्छ।
यो व्यवसाय थाल्दा सुरूका दिनमा उनीहरूलाई के कस्तो हुने हो भन्ने अलमल थियो। ग्राहकबाट कस्तो प्रतिक्रिया आउँछ भन्नेमा डर पनि थियो।
'सुरूका दिनमा खुबै डर लाग्थ्यो। ग्राहकले मिठो छ भनेपछि बल्ल मन शान्त हुन्थ्यो,' सब्रिनाले भनिन्, 'अहिले बिस्तारै बानी बसेको छ। पहिले जस्तो डर लाग्दैन।'
व्यवसायमा लाग्नुअघि उनीहरू जागिरे थिए। तर त्यो दैनिकीमा रमाउन सकिरहेका थिएनन्। व्यवसाय गर्न चाहन्थे।
सब्रिनाले २०७६ सालमा प्लस-टु सकेर करिब एक वर्ष बुटिकमा सेल्सको काम गरिन्। पछि शिक्षण पेसामा आबद्ध भइन्। उनका बुबाको चाहना उनी विदेश जाऊन् भन्ने थियो। तर बुबालाई सम्झाएर व्यवसायमा लागेको उनले बताइन्। आमाले भने उनलाई सधैं समर्थन गरिन्।
'मलाई अहिलेसम्म विदेश जाने इच्छा छैन,' उनले भनिन्, 'नेपालमै केही गरौं भन्ने हो।'
तीन साथीमध्ये व्यवसाय र बजारबारे बढी ज्ञान सुजनलाई छ। उनले करिब एक वर्ष शिक्षण पेसा गरे। पछि बुबाको व्यवसायमा सघाउँदै बजार बुझ्न थाले। सबभन्दा उचित खानपिनसम्बन्धी हुने देखे। अनि चटपटे-पानीपुरी व्यवसाय गर्ने निधो गरेका हुन्।
एकान्तकुनामा सटर भेटेपछि सुरूमा उनीहरूले आ-आफ्ना घरबाटै सानो दराज, भाडाकुँडा र ग्यास चुलो ल्याए। पानीपुरी र चटपटे बनाउन चाहिने केही सामान किने। अनि खुल्यो 'एसआरएस स्पाइस।'
अहिले दैनिक सात हजार रूपयाँको व्यापार भइरहेको उनीहरू बताउँछन्।
सब्रिना, सुजन र रिकित तीनै साथी मेघा कलेजमा स्नातक तह सातौं सेमेस्टरमा बिजनेस म्यानेजमेन्ट विषय पढिरहेका छन्। बिहान कलेज जान्छन्। त्यसैले पसल अपराह्न १२ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्छ।
पढाइको विषय पनि व्यवसाय सम्बन्धी नै भएकाले व्यवसाय बुझ्न सहज भएको उनीहरू बताउँछन्। तर पढाइ र व्यवसाय सँगै अगाडि लैजाँदा विशेषगरी परीक्षाको समयमा केही मुस्किल हुन्छ।
'अरू दिन त खास होइन, परीक्षा हुँदा अलि गाह्रो हुन्छ। बन्दै गर्न पनि सकिँदैन। अहिलेसम्म मिलेर व्यवस्थापन गरिरहेका छौं,' सब्रिनाले भनिन्।
आफूहरूलाई मध्यम श्रेणीका विद्यार्थी बताउने उनीहरू व्यवसाय गरेको भन्दैमा पढाइलाई मध्यनजर गर्न नहुने बताउँछन्।
तर उनीहरूको सपना एसआरएस स्पाइसलाई ब्रान्डका रूपमा चिनाउनु हो। यसनिम्ति उनीहरूले केही योजना बनाएका छन्। पहिले उनीहरू टिकटकमा भिडिओ हालेर प्रचार गर्थे। टिकटक बन्द भएपछि फेसबुकमा सक्रिय भएका छन्। अझै धेरै ठाउँमा डेलिभरी गर्न डेलिभरी कम्पनीसँग सहकार्य गर्ने योजना छ। पसल विस्तार गर्ने पनि सोच छ।
'सामान्य देखिने व्यवसाय पनि ब्रान्डमा परिणत हुन सक्छ भन्ने उदाहरण हामी बन्न खोजिरहेका छौं,' उनीहरूले भने, 'धेरैले पानीपुरी-चटपटे व्यवसायलाई उचित मान्दैनन्। हामी यसमा नयाँ दृष्टिकोण विकास गर्न चाहन्छौं। यो कामबाट राम्रो आम्दानी गर्न सकिन्छ र यो पेसा अरूजत्तिकै सम्मानजनक छ भन्ने बुझाउन खोजिरहेका छौं।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी