किनमेल र सिनेमाका सौखिनका लागि काठमाडौंको कमलपोखरीस्थित व्यापारिक मल 'सिटी सेन्टर' परिचित ठाउँ हो। त्यहाँ पुग्ने अधिकांश मानिस चौथो तलामा रहेको 'फुड कोर्ट' पनि छिर्छन्।
लाफिङ स्टोर, अरेबिका कफी, बबल टी, यःमरि कर्नर, मःमः फरएभर, मनाङे मःम, डेभिल्स ग्रिल प्ल्याटर लगायत आठ थरी बिक्रेता उक्त फुड कोर्टमा छन्।
कतिपय त यहाँ उपलब्ध परिकार खान मात्र पनि आउने फुड कोर्टका सञ्चालक फुपु तेन्जिङ शेर्पा बताउँछन्।
'दैनिक कम्तीमा चार सय जना ग्राहक आउँछन्,' तेन्जिङले भने, 'बिग मुभिजमा राम्रो सिनेमा चलेको समयमा सात-आठ सय जनासम्म हुन्छन्।'
सिटी सेन्टर स्थापना हुँदादेखि नै त्यहाँ फुड कोर्ट थियो तर सञ्चालकहरू फेरिइरहे। विगत दुई वर्षदेखि यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी तेन्जिङले नै सम्हालेका छन्।
'मेरो नेतृत्वमा चलेको दुई वर्ष भयो। दोस्रोपटकको लकडाउनअघि यहाँको व्यवस्थापन हेर्न सुरू गरेको हुँ,' उनले भने।
तेन्जिङ पेसाले फेसन डिजाइनर हुन्। उनको फेसन डिजाइन स्कुल छ जसका केही शाखा पनि छन्। २०६० सालदेखि उनी सौन्दर्य प्रतियोगिता आयोजना गर्ने काममा संलग्न छन्। केही फिल्ममा अभिनय गरेका छन्। गायनमा समेत लागेका थिए।
आफ्नो रूचिको क्षेत्र केलाउने क्रममा उनले विभिन्न क्षेत्रमा हात हाले। कोरोना महामारीको समयमा आएर उनलाई महसुस भयो — मेरो रूचि व्यवस्थापनमा छ।
'जुन क्षेत्रमा काम गरे पनि टिम बनाउनु र व्यवस्थापन मिलाउनु मेरो रूचि हो। म यसमै रमाउँछु,' उनले भने।
फेसन डिजाइन र व्यवस्थापन दुवै उनका पढाइका विषय पनि हुन्। ताप्लेजुङबाट १० वर्षको उमेरमा आमाबाका साथ काठमाडौं आएका उनले यहीँबाट एसएलसी दिए। 'कन्टेम्पोररी आर्ट एन्ड फेसन' विषयमा दुई वर्षको डिप्लोमा र व्यवस्थापन विषयमा १२ कक्षा पढे। अनि बिजनेस म्यानेजमेन्ट विषयमा स्नातक गरेका हुन्।
कोरोनाका कारण सिटी सेन्टरको फुड कोर्ट ठप्प भएको थियो। तेन्जिङलाई उनका साथी रोजल शाहीले यसबारे बताए। तेन्जिङले फुड कोर्ट चलाउने निधो गरे। करिब ४० लाख रूपैयाँ लगानी गर्ने योजना पनि बनाए।
दुई दशकदेखि व्यावसायिक क्षेत्रमा सक्रिय तेन्जिङका लागि खानपानसम्बन्धी व्यवसाय भने नौलो थियो।
'तर ममा व्यवसाय गर्ने दृढ इच्छाशक्ति थियो,' उनले भने, 'कुनै विशेष ज्ञान र अनुभव नभए पनि काम गर्ने हुटहुटीका कारण फुड कोर्टमा आएँ।'
तेन्जिङले फुड कोर्टको संरचना सुधारमा जति खर्च होला भन्ने अनुमान गरेका थिए, त्यतिले भने पुगेन।
उनका अनुसार त्यहाँ पहिले भएका पसल कोभिडका कारण लामो समयदेखि बन्द थिए। भान्सादेखि पूरै चौथो तलामा जताततै फोहोर थुप्रिएको थियो।
सरसफाइ र संरचना सुधारको काम सक्दा अनुमान गरेभन्दा दोब्बर खर्च, अर्थात् करिब ८० लाख रूपैयाँ खर्च भएको उनी बताउँछन्।
सबै मिलिसकेपछि तेन्जिङले फुड कोर्टमा सामेल हुने सम्भावित व्यवसायीसँग छलफल गरे।
तिनैमध्ये केहीलाई साथमा लिएर २०७८ वैशाखमा उनले सेवा सुरू गरेका हुन्।
उनले करिब १५ वर्षअघि नै विदेशका फुड कोर्ट डुलेर विभिन्न परिकारको स्वाद लिएका थिए। कामका सिलसिलामा धेरै देश पुगेका छन् उनी। सिंगापुर र थाइल्यान्डका फुड कोर्टहरूबाट प्रभावित भएका थिए।
'त्यो बेला नेपालमा यस्तो अवधारणा थिएन,' उनले भने, 'एकै ठाउँमा धेरै किसिमको खाना पाइने सुविधा आकर्षक लागेर पनि फुड कोर्ट चलाउने निर्णय गरेको हुँ।'
पछिल्लो समय फुड कोर्टको अवधारणा विस्तार हुँदैछ। व्यापारिक मलमा सीमित फुड कोर्ट अन्यत्र पनि चल्न थालेका छन्। फुड कोर्टमा खानाका परिकार बेच्ने पसल फरकफरक भए पनि हिसाब एउटै हुन्छ। व्यवसायीले तोकिएको परिकार मात्र बेच्न पाउँछन्।
उनका अनुसार सिटी सेन्टर फुड कोर्टमा हाल २२ जना कर्मचारी छन्। भान्सामा बिक्रेताले नै कर्मचारी राखेका हुन्छन्। एक पटकमा १५० जनासम्म ग्राहक अटाउँछन् भने बालबालिकाका लागि खेल्ने ठाउँ अलग्गै छ।
त्यस्तै १८ फिट लामो एलइडी स्क्रिन छ जसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल र खास अवसरमा हुने प्रत्यक्ष प्रसारणहरू हेर्न सकिन्छ।
तेन्जिङका लागि कामको सफलता भन्नु सेवाग्राही खुसी हुनु हो। फुड कोर्टमा आउने ग्राहक जति सन्तुष्ट हुन्छन्, त्यति नै उनी खुसी हुन्छन्। ग्राहकको सकारात्मक प्रतिक्रियाले उत्साहित हुन्छन्।
'म जुन काममा पनि आत्मविश्वासका साथ अघि बढ्छु। सबै पक्ष विश्लेषण गरेर मात्र सुरू गर्छु,' उनी भन्छन्, 'फुड कोर्टको काम पनि त्यसरी नै गरेको हुँ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी