काठमाडौं सहरभित्रको उखरमाउलो गर्मी छल्न कतै जाने योजना बनाउँदै हुनुहुन्छ कि!
यसो हो भने 'तारकेश्वर नेचर भ्युपार्क' उपयुक्त हुनसक्छ।
गर्मी छल्न मात्रै होइन, जाडोमा न्यानो घामको मजा लिन पनि उत्तिकै उपयोगी हुन सक्छ।
धेरै टाढा पनि छैन, तारकेश्वर नगरपालिका–५, दाहालथोकमा छ। एक दिनको फुर्सद पर्याप्त हुन्छ।
दाहालथोकबाट जंगलको बाटो हुँदै ९९ सयवटा खुड्किला चढेपछि पुगिन्छ यो भ्युपार्क। कुल बीस रोपनी क्षेत्रफलमा फैलिएको पार्कको सात रोपनी क्षेत्रफल हरियालीले ढाकेको छ। पार्कबाट नागार्जुन राष्ट्रिय निकुञ्ज र शिवपुरि राष्ट्रिय निकुञ्जका भूभाग देखिन्छन्।
तारकेश्वर नगरपालिकामा पर्ने र प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न पाइने भएकाले 'तारकेश्वर नेचर भ्युपार्क' नाम राखेको कम्पनीका कार्यकारी प्रमुख (सिइओ) सुमन महर्जनले बताए।
'पार्क अलिक माथि डाँडामा छ,' उनले भने, 'यहाँबाट हिमाल, राष्ट्रिय निकुञ्ज देखिन्छन्।'
पहिले यहाँ सानो रिसोर्ट थियो। कोभिडका समयमा बन्द भयो। त्यसपछि परिवारिक जमघट हुने गरी भ्युपार्कमा विकास गरिएको हो। काठमाडौं वरिपरिको प्राकृतिक दृश्यसँगै परिवारिक ढंगले रमाउन सुविधा हुनेगरी भ्युपार्क बनाउने सोच बनेको उनले बताए।
पार्कमा सुमनसहित तीन जनाको लगानी छ। जसमा समाजसेवी तथा व्यवसायी रामकृष्ण विसी र तारकेश्वर-९ का पूर्व वडाध्यक्ष बलराम सिटौला छन्।
सुमन २२ वर्षको उमेरदेखि मोबाइल फोनको व्यवसायमा थिए। पाँच वर्षअघि मोबाइल व्यवसाय छोडर रेस्टुरेन्ट व्यवसायमा लागेका हुन्।
साथीहरूकै हौसलाले रेस्टुरेन्ट क्षेत्रमा प्रवेश गरेको उनले बताए।
'साथीहरूले क्लब खोलेका थिए। उनीहरूले नै रेस्टुरेन्ट खोल्न हौस्याएपछि सेवा क्षेत्रमा लागेको हुँ,' उनले भने।
पार्क व्यवस्थापनको जिम्मेवारी सुमनकै हो। उनका अनुसार हालसम्म निर्माणमा चार करोड रूपैयाँ लगानी भएको छ। आफूसँग भएको नगद र बैंकको ऋणबाट लगानी जुटाएको उनले बताए।
भ्युपार्कको निर्माण पूरा भइसकेको छैन, काम धमाधम चल्दै छ। सम्पन्न हुँदासम्ममा लगानी पनि बढ्नेछ।
काठमाडौंको घना सहरबाट नजिकै शान्त वातावरणमा रमाउन पाउने गरी पार्क स्थापना गरेको सुमनको भनाइ छ।
'बिहानदेखि बेलुकैसम्म घाम लाग्छ। धुवाँधूलो केही छैन,' उनले भने, 'सहरबाट छोटो दूरीमा पार्कको मजा लिन सकिन्छ। काठमाडौंवासीलाई नै लक्षित गरेर पार्क सञ्चालन गरेका हौं।'
तारकेश्वर नेचर भ्युपार्कमा ग्राहकले रिसोर्ट र पार्क दुवैको सुविधा पाउँछन्। रिसोर्टमा खानाको सुविधा छ। पार्क अलग्गै छ।
सुमनका अनुसार मुख्य लक्ष्य रिसोर्टसहितको पार्क हो। परिवारै आएर पूरा दिन बिताउन सक्छन्। राति बस्न टेन्टको व्यवस्था छ। मुख्य लक्ष्य पार्क भएकाले बस्ने कोठाको व्यवस्था गरिएको छैन।
पार्कमा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै स्वीमिङ पुल छन्। महिला र पुरूषका लागि अलगअलग सउना स्टिम सुविधा छ। बालबालिका खेल्ने ठाउँ छ। पिकनिक गर्ने सुविधा पनि छ।
यहाँ रोलर स्केटिङ पार्क पनि बन्दै छ। यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको सुमनको भनाइ छ। अबको डेढ महिनामा काम पूरा हुनेछ।
'अहिलेसम्म काठमाडौंमा यसप्रकारको रोलर स्केटिङ पार्क छैन,' उनको दाबी छ।
पार्कमा मिटिङ, सेमिनार, गोष्ठी, विवाह, ब्रतबन्ध लगायतका लागि भेला हुने सुविधा पनि छ। यसका निम्ति कम्तिमा दुई सय जना अटाउने एउटा हल बनाइएको छ। पाँच सय जना अटाउने रेस्टुरेन्ट छ।
उनका अनुसार कम्पनीले पार्कमा खपत हुने तरकारी र माछामासु स्थानीयस्तरबाटै किन्ने गरेको छ। त्यहाँ नपाइने जति कालिमाटी बजारबाट ल्याइन्छ।
पार्कमा प्याकेजअनुसार मूल्य तय गरिएको छ। प्याकेजमा एक जनाका लागि ब्रेकफास्ट, स्न्याक्स र खानाको तीन हजार रूपैयाँ लाग्छ। यसबाहेक सेवाअनुसारको शुल्क लाग्छ। खानामा स्थानीय, भारतीय, चिनियाँ र अन्य केही परिकार उपलब्ध छन्।
पार्कमा हाल १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
अहिलेको अवस्थामा होटल–रेस्टुरेन्ट चलाउन कठिन रहेको सुमनको भनाइ छ।
'यस्तैमा पनि सञ्चालन खर्च उठिरहेको छ तर नाफा कमाइ भएको छैन,' सुमनले भने, 'आगामी तीन महिनाभित्र पार्क पूर्ण क्षमता सञ्चालन हुनेछ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी