काम गर्ने जाँगर, अठोट र मन मिल्ने साथी भएपछि नहुने काम के छ र!
यी तीन पक्षको संयोगले बनेको हो पोखराको 'सरूमा चुल्हो एन्ड बार'।
यसका सञ्चालक हुन् तनहुँकी वसन्ती बास्तोला र पोखराकी विनु गिरी।
सरूमा चुल्होले रैथाने उत्पादनबाट बनेका परिकारहरू खुवाउँछ। पोखरा सभागृहनजिकैको दुई तले घरलाई उनीहरूले मौलिक स्वरूपमा पुनर्संरचना गरेर व्यावसायिक बनाएका छन्।
'सरूमा चुल्होलाई एउटा रेस्टुरेन्टका रूपमा मात्र नभई रैथाने उत्पादन र परिकार प्रवर्द्धन गर्ने अभियानका रूपमा चलाउनु हाम्रो उद्देश्य हो,' उनीहरू भन्छन्।
सरूमा चुल्हो प्रवेश गर्नासाथ कफी सपमा पुगिन्छ। कफी पिउँदै किताब पढ्ने सुविधाका लागि एउटा पुस्तकालय छ। कफी पिउन एक्लै रेस्टुरेन्ट पुग्नेलाई किताबबाट पनि 'रिफ्रेसमेन्ट' हुने वसन्ती बताउँछिन्।
यहाँ रेस्टुरेन्टको नियमित सेवासँगै जन्म दिनको पार्टी, पारिवारिक जमघट लगायतका लागि शान्त वातावरण छ। एक पटकमा सय जना अटाउने क्षमता छ। बालबालिका खेल्ने र रमाउने सुविधा पनि छ।
सरूमा चुल्होमा देशभरका स्थानीय उत्पादनका विभिन्न परिकार पस्किने तयारीमा छ। रैथाने उत्पादन र परिकारहरूको खोजीमा समय मिलाएर उनीहरू गाउँ डुल्छन्।
'स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले सुरू गरेका हौं,' वसन्तीले भनिन्, 'अहिले विभिन्न ठाउँमा पुगेर यसबारे खोज गरिरहेका छौं। परिकार थप्ने क्रम जारी छ।'
यहाँको विशेष र ग्राहकले रूचाएको परिकार मटन पक्कु र पोखरेली खाना हो।
'नेपाली खाना भन्नासाथ धेरैले थकाली खाना मात्र बुझ्नुहुन्छ। हामीले पोखरेली खाना राखेका छौं,' उनी भन्छिन्, 'यहाँको विशेषता पोखरेली चामलको भात, तनहुँ रिसिङको दाल र स्थानीय तरकारी हो।'
सबै परिकार स्थानीय उत्पादनबाट बन्छन्। मसला सिलौटामा पिसिन्छ। रैथाने र अर्गानिक स्वाद मुख्य प्राथमिकता हो। नेपालीसँगै चाइनिज, इन्डियन, कन्टिनेन्टल खाना पनि पाइन्छ।
वसन्ती धेरैजसो काठमाडौंमा बस्छिन्। विनु पोखरा बसेर सरूमा चुल्हो सम्हाल्छिन्। उनीहरू दुवैलाई खानाका परिकार बनाउन रूचि छ। आफ्नो रेस्टुरेन्टको परिकारमा पनि विशेष ध्यान दिन्छन्। ग्राहकको राम्रो प्रतिक्रियाले उनीहरू खुसी छन्।
फरक पृष्ठभूमिका वसन्ती र विनुको चिनजान करिब एक दशकअघि भएको थियो। विस्तारै मिल्ने साथी भए।
कास्कीमा जन्मेकी वसन्ती तनहुँमा हुर्किन्। कक्षा १० सम्म तनहुँमै पढिन्। त्यसपछिको पढाइका लागि पोखरा गइन्। पत्रकारितामा लागेर एक राष्ट्रिय दैनिक पत्रिकामा जोडिइन् र स्याङ्जाबाट रिपोर्टिङ गर्न थालिन्। त्यतिबेला विनु पनि स्याङ्जामा सरकारी जागिरे थिइन्। यही क्रममा उनीहरूको भेट स्याङ्जामै भयो।
पछि विनु जागिर छाडेर जापान गइन्। वसन्ती स्याङ्जामै थिइन्। भौगोलिक रूपमा टाढा भए पनि उनीहरू नियमित सम्पर्कमा रहे।
वसन्ती पोखरामा रेस्टुरेन्ट चलाउने विचारमा थिइन्। सबै परिवेश अनुकूल नभएकाले सुरू गरिहाल्न सकेकी थिइनन्। एक दिन उनले जापानमा रहेकी विनुलाई आफ्नो योजना सुनाइन्। वसन्तीको योजनामा विनु सहमत भइन्। सल्लाह मिल्यो। स्वदेशमा व्यवसाय गर्ने अठोटका साथ उनी फर्किन्।
उनीहरू पोखरामा रेस्टुरेन्ट चलाउने निष्कर्षमा पुगे। मिलेर लगानी जुटाए तर ठूला होटल र रेस्टुरेन्टका भिडमा नयाँ रेस्टुरेन्ट कसरी चलाउने?
उनीहरूले पोखरा सभागृह छेवैमा दुई तले घर लिए। घरलाई रेस्टुरेन्टका रूपमा पुनर्संरचित गर्न फरक तरिका खोजी गरे। रेस्टुरेन्ट सम्बन्धी ज्ञान नभए पनि आत्मविश्वास र जोशका साथ अघि बढे।
'हामी दुई जना मिलेर दामी गर्छौं भन्ने विश्वासमा थियौं। त्यसैअनुसार अघि बढ्यौं,' वसन्तीले भनिन्, 'यसमा हाम्रा परिवारबाट पनि सहयोग मिल्यो।'
उनीहरू चुल्होको अवधारणामा रेस्टुरेन्ट चलाउने निष्कर्षमा पुगे। सल्लाह मिलेपछि घरको पुनर्संरचना गरे। डेढ वर्षमा रेस्टुरेन्टको स्वरूपमा घर आकर्षक बन्यो। सबै बनाइसक्दा साढे दुई करोड रूपैयाँ खर्च भयो।
'केही नयाँपन दिनुपर्छ भन्ने हिसाबले रैथाने उत्पादनका परिकार आफ्नो चुल्होमा पकाएर खुवाउने सोच बनाएर चुल्होको थिममा सुरूआत गरेका हौं,' वसन्तीले भनिन्।
तयारी पूरा भएर आठ महिनाअघि २०७९ कात्तिकमा 'सरूमा चुल्हो एन्ड बार' सञ्चालनमा आयो।
सुरूका केही दिन ग्राहकलाई विभिन्न परिकारहरू निःशुल्क खुवाए। पाहुना, आफन्त र साथीहरूबाट राम्रो प्रतिक्रिया पाए। हौसला मिल्यो।
पोखरा पर्यटकीय सहर हो, आन्तरिकसँगै विदेशी पर्यटकहरू पुग्छन्। सबै ग्राहक बराबर हुन्, प्राथमिकता भने आन्तरिक पर्यटकलाई नै छ।
'हाम्रो मुख्य उद्देश्य आन्तरिक पर्यटकलाई रैथाने स्वाद खुवाउने हो,' वसन्ती भन्छिन्।
वसन्ती सानैदेखि घरको भान्सामा काम गर्न मन पराउँथिन्। आमा र हजुरआमाले खाना बनाएको हेर्थिन् र सिक्थिन्। खाना मिठो बनाउने तरिकाबारे हजुरआमासँग अनेक जिज्ञासा राख्थिन्।
खानाका परिकारमा रूचि भएकाले भविष्यमा रेस्टुरेन्ट चलाउने सपना देख्थिन्। त्यही सपनाको परिणाम पनि हो सरूमा चुल्हो एन्ड बार।
'हाम्रो आमा पुस्तासम्म महिलाले घरमा खाना बनाउने र सबैलाई खुवाउने भन्ने सोच थियो। जति नै काम गरे पनि उहाँहरूको नाम कहिल्यै गन्ती नहुने,' उनले भनिन्, 'हामीले खानाको व्यवसाय नै सुरू गर्यौं। सरूमा मेरी हजुरआमाको नाम हो।'
सरूमा चुल्हो काठमाडौंमा पनि विस्तार गर्ने उनीहरूको योजना छ। वसन्ती लगानी जुटाउने प्रयासमा छिन्।
'पोखराको विनुले हेर्नुहुन्छ, यताको म हेर्छु। हामी भविष्यमा अन्य ठाउँमा पनि पुग्नेछौं,' उनले भनिन्।
झन्डै डेढ दशकको पत्रकारिताबाट व्यवसायतिर तानिएकी वसन्तीको अब पूर्ण रूपमा हस्पिटालिटीमै लाग्ने विचार छ। उनी अहिले 'सञ्चारिका समूह' को महासचिवका रूपमा कार्यरत छिन्।
आफूले चलाउने व्यवसायमा रोजगारीका लागि महिलालाई प्राथमकिता दिने उनीहरूको योजना छ। अहिले पनि सरूमा चुल्होमा पाक्ने रैथाने उत्पादन संकलन गर्ने काममा ग्रामीण महिलाहरू जोडिएको वसन्तीले बताइन्।
भविष्यमा फार्म हाउससहितको रेस्टुरेन्ट चलाउने गरी अघि बढ्ने उनीहरूको योजना छ। ठाउँठाउँमा फार्म हाउस खोल्न र सञ्चालन गर्न स्थानीय महिलालाई अघि बढाउने र उद्यमशीलतामा जोड्ने अवधारणा पनि बनाएका छन्।
हाल सरूमा चुल्होमा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अनलाइन डेलिभरीको सुविधा छ। यसका लागि अनलाइन डेलिभरी कम्पनी 'फुडमुड' सँग सम्झौता गरेका छन्।