करिब तीन वर्षअघि चियाघरले 'टेक-अवे' सुविधा ल्याउने योजना बुनेको थियो। त्यो योजना अहिले साकार भएको छ।
चियाघरको पाटन, मंगलबजारस्थित शाखाबाट यो सुविधा लिन सकिन्छ।
टेक-अवे चलन विदेशी मुलुकमा निकै व्यापक भएको चियाघरका सञ्चालक राजीव शाही बताउँछन्। रेस्टुरेन्ट वा क्याफेमा पाइने परिकार हिँड्दाहिँड्दै वा बाहिर कतै बसेर खान मिल्ने गरी प्याकिङ गरेर दिनुलाई टेक-अवे भनेर बुझिन्छ।
'हामीले सुरूआती दिनदेखि नै टेक-अवेको अवधारणा प्राथमिकतामा राखेका थियौं। अहिले सुरू गरेका छौं,' राजीवले भने, 'विशेषगरी चियामै टेक-अवे चलन सुरू गर्न चाहन्थ्यौं। कस्तो हुँदै जान्छ, हेरौं।'
करिब पाँच महिनाअघि सञ्चालनमा आएको पाटनको यो शाखामा टेक-अवेसँगै डाइन-इन (बसेर खान मिल्ने) सुविधा पनि छ। आगामी दिनमा भने यसलाई पूर्ण रूपमा टेक-अवे केन्द्र बनाउने योजना छ। पाटनसँगै चियाघरको शाखा बानेश्वर, कुमारीपाटी र पेप्सिकोलामा छ। पुतलीसडकमा एउटा फ्रेन्चाइज छ।
राजीवका अनुसार विभिन्न थरीका चिया, वातावरण र सेवाका कारण ग्राहकले चियाघर रूचाइरहेका छन्।
'चियाघरले ग्राहकहरूलाई आकर्षित गरेको छ। त्यसैले होला, महामारी र लकडाउनमा पसल बन्द भए पनि अहिले राम्रो चलेको छ,' उनले भने, 'कोरोनाअघि जस्तो चाहिँ भइसकेको छैन।'
कोरोनाकालमा थुप्रै होटल-रेस्टुरेन्ट सधैंका लागि बन्द हुँदा राजीव चियाघरका तीनवटै शाखा टिकाउन सफल भए। अवस्था सामान्य भएसँगै शाखा र फ्रेन्चाइज विस्तार गरे। चियाघरमा प्रयोग हुने चियापत्ति, दूध, मसला लगायत कच्चा पदार्थ नेपालमै उत्पादन र बिक्री हुने भएकाले सामग्री अभाव पनि नहुने उनी बताउँछन्।
'महामारी र त्यसले निम्त्याएको आर्थिक शिथिलता सबैका निम्ति अप्रत्याशित हो। तर आत्मनिर्भर भएकाले चियाघर टिक्न सक्यो भन्ने लाग्छ,' उनी भन्छन्।
चियाघरले टेक-अवेका लागि हाल नेपालमै बनाएका कप प्रयोग गरिरहेको छ। तर यी कप कमसल भएकाले समस्या भइरहेको राजीवले बताए। कप गुणस्तरीय नहुँदा चियाघरकै गुणस्तरमा प्रश्न उठ्ने सम्भावना छ। त्यसैले भविष्यमा चीनबाट भित्र्याउने योजनामा छन्।
'नेपाली कम्पनीहरूले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिन जरूरी छ,' २९ वर्षीय राजीवले भने, 'यस्तो भए उत्पादक कम्पनीलाई त फाइदा हुने नै भयो, अरू व्यवसायले पनि स्वदेशी उत्पादनकै प्रयोग बढाउँछन्। हामी आत्मनिर्भर हुँदै जान्छौं।'
राजीवले २०७४ सालतिर पाँच जना साथीसँग मिलेर चियाघर खोलेका हुन्। अहिले भने उनी एक्लैले समग्र व्यवस्थापन सम्हाल्दैछन्। उनी यहाँका प्रबन्ध निर्देशक हुन्। निर्देशक बोर्डमा भने उनीसहित ८ जना सदस्य छन्।
पहिलो चियाघर २०७४ मंसिरमा बानेश्वरमा खुलेको हो। २०७५ सालमा पेप्सिकोला र त्यसको अर्को वर्ष कुमारीपाटीमा खुल्यो। फ्रेन्चाइज २०७७ सालदेखि सुरू भयो।
यहाँ २५ भन्दा बढी स्वादको चिया पाइन्छ। विशेष भने मट्का चिया हो। गर्मी याममा लेमन आइस टीको बढी माग हुन्छ। यसबाहेक मसला मिल्क, मसला ब्ल्याक, अर्थोडक्स, हिमालयन, कोल्ड टी ग्राहकले रूचाएका छन्। अहिले फ्रुट-टी (फलफूलको चिया) पनि बन्छ।
बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ने चियाघरमा ठाउँअनुसार ग्राहकको चाप हुन्छ। बानेश्वरमा दिनभर नै भिड हुन्छ भने पेप्सिखोलामा बेलुकीपख। कुमारीपाटी शाखा र पुतलीसडक फ्रेन्चाइजमा बिहान र दिउँसो धेरै आउँछन्।
बानेश्वरमा एकपटकमा सयभन्दा बढी ग्राहकलाई सेवा दिने क्षमता छ। पेप्सिकोलामा ६० र कुमारीपाटीमा १३० जनासम्म अटाउँछन्। यी सबैमा ३५ जना कर्मचारी खटिन्छन्।
'अब हामी घरैबाट चिया अर्डर गर्न सकिने सुविधा ल्याउने तयारीमा छौं,' राजीवले भने, 'यसका लागि सफ्टवेयर बन्दैछ।'
यो सुविधा सुरू भएपछि घरैबाट र चियाघर पुगेकाले पनि अर्डर गर्न सक्नेछन्। कहाँसम्म डेलिभरी हुन्छ भनेर पछि क्षत्रेफल तोकिनेछ।
जम्मा तीन लाख रूपैयाँबाट सुरू भएको चियाघरमा हालसम्म करिब तीन करोड लगानी भइसकेको राजीव बताउँछन्। हाल बानेश्वरको शाखा विस्तारको काम हुँदैछ। यहाँ युरोपेली शैलीका दुइटा क्याफे चलाउने योजना छ। ती क्याफेमा मानिसहरू बसेर काम गर्न सक्नेछन्।
'दैनिक, साप्ताहिक वा मासिक रूपमा ठाउँ बुक गरेर काम गर्न सकिनेछ। छलफल र बैठक गर्ने सुविधा पनि हुनेछ,' राजीवले भने, 'स्टार्ट-अप र फ्रिल्यान्सरलाई प्रोत्साहन गर्न यस प्रकारको ठाउँ बनाउने सोचेका हौं।'
आगामी साउनसम्म क्याफेको काम सक्ने लक्ष्य छ।
चियाघरमा इन्टरनेट छैन। यसको उक्ति नै 'चिया, साथी र गफ' हो। अर्थात् यहाँ ग्राहक चियासँगै साथीसंगीसँग गफिन पुग्छन्। इन्टरनेट नहुँदा एकआपसमा खुल्छन् अनि सम्बन्ध विस्तार गर्छन् भन्ने राजीवको विश्वास हो।
'यहाँ आउने ८० प्रतिशत ग्राहक मोबाइल चलाउनुहुन्न,' उनले भने।
नाममा पनि उनले विशेष ध्यान दिएका छन्। घर शब्दसँगको आत्मीयता र यहाँ ग्राहक करले होइन, रहरले आऊन् भन्ने सोचेर चियाघर नाम राखेका हुन्।
'ग्राहक यहाँ आउँदा आफन्त भेट्न आएजस्तो महसुस गरून्। गफ गरून्, आपसी सम्बन्ध गाँसून्, चिनजान बढाऊन् भन्ने हाम्रो चाहना हो,' उनले भने।
यसरी आएका ग्राहकले यहाँ चिनो स्वरूप मट्कामा सन्देश लेखेर छाड्न सक्छन्। यो चलनले पनि ग्राहक आकर्षित गरेको राजीवले बताए। कोही एक जनाले सन्देश लेखेर छाडेको यस्तो मट्का ६ महिनासम्म राखिन्छ। त्यसपछि अरूका लागि ठाउँ बनाउनुपर्ने भएकाले निकालिन्छ।
अर्घाखाँचीका राजीव सानैमा परिवारसँग काठमाडौं आएका थिए। प्लस-टु सकेलगत्तै प्लाइउड पसलमा काम थाले। पछि सहकार्यमा हार्डवेयर तथा प्लाइउडकै पसल खोले। तर २०७२ को भुइँचालोपछि पसल बन्द भयो। प्लाइउडको काममा भएकै बेला, २०७१ सालदेखि राजीव पर्यटक गाइड पनि थिए। प्रायः पश्चिम नेपाल पुग्थे। भुइँचालोले यो पनि सुस्तायो।
मध्यम वर्गीय परिवारमा हुर्केका उनलाई जिम्मेवारी थियो। आम्दानीको बाटो नभएपछि समस्या आइपर्यो। हार नमान्ने स्वभावका राजीव आफ्नै व्यवसायको योजना बुन्दै थिए।
'ट्रेकिङ जाँदा घिउचिया, नुनचिया, भोटेचिया लगायत चाखेको थिएँ। ती स्वाद काठमाडौंमा भित्र्याउने योजना बन्यो। मेरा चिनजानकाले पढे-लेखेको चिया पसल खोल्न हो भन्न थाले,' राजीवले सुनाए, 'त्यस्तो कुरा एक कानले सुनेँ, अर्को कानले उडाइदिँए। नकारात्मक वातावरणमा नबसे पो केही गर्न सकिन्छ!'
परिवारको सहयोग र हौसला छँदै थियो। अरू साथीको पनि साथ भएपछि चियाघर खुल्यो।
यसरी चियामै केन्द्रित भएर व्यवसायमा अगाडि बढेका राजीव अहिले सन्तुष्ट छन्। पारखीमाझ प्रिय बन्दै गएको चियाघरलाई अझ फैलाउँदै जाने उनको योजना छ।
पोखरा र चितवनसँगै अरू मुख्य सहरमा चियाघर खोल्न उनी काम गर्दैछन्। धरान र विराटनगरमा त एक महिना सर्वेक्षण पनि गरिसके। भनेजस्तो वातावरण भएको ठाउँ नपाएकाले कहाँ खोल्ने भन्ने निधो भइसकेको छैन।
व्यवसायका दृष्टिले अप्ठ्यारो समयमा उद्यमी बनेका हुन् राजीव। त्यसैले उद्यमी बन्न सजिलो नभएको तर नयाँ बाटो हिँड्न डराउन नहुने उनी बताउँछन्। बाटो हिँडिसकेपछि आएको अड्चनमा झन् धैर्य गर्नुपर्ने उनको सुझाव छ।
'बजारमा प्रतिस्पर्धा बढ्दो छ। चियाकै क्षेत्रमा नयाँ व्यवसायी आएका छन्। म प्रतिस्पर्धालाई सकारात्मक रूपमा हेर्छु,' राजीवले भने, 'म आफ्नो गुणस्तरमा कुनै कमी नछोडी चिया खुवाइरहेको छु। ग्राहकको विश्वासमा सम्झौता गर्दिनँ।'