आँगनमा दुईतिर ठूला र बाक्ला प्लास्टिक ड्रम लस्करै राखिएका छन्। पाकेर रातै भएका अकबरे खुर्सानी, अदुवा, लसुन, कागती र अमला आँगनमा र बरण्डामा फिजाइएका छन्।
घरको छतमा ज्वानो, धनियाँ, जिरा, पहेँलो तोरी, सोँफ, मुंगिलो जस्ता विभिन्न मसला सुकाइएको छ।
यो दृश्य हो रूपन्देहीको तिलोत्तमा नगरपालिका, शंकरनगरस्थित पार्वती गिरीको घरको। यो घरमा यस्तो दृश्य देखिन थालेको पाँच वर्ष भयो।
पार्वती सानै छँदादेखि खानाका अनेक परिकार बनाउन सौखिन थिइन्। थरीथरीका अचार बनाएर खुवाउँथिन्। उनलाई यसो गर्दा रमाइलो लाग्थ्यो।
पाँच वर्षअघिको कुरा हो। तिलोत्तमाकै ‘सामूहिक विकास सहकारी संस्था’ ले अचार बनाउन दुई दिनको तालिम दिएको थियो। पार्वती त्यसमा सहभागी भइन्।
उनले त्यहाँ थाहा पाइन् आफ्नो सोखले त आय आर्जन गर्न पनि सजिलो हुने रहेछ।
त्यही तालिमले उनलाई लुम्बिनी प्रदेशमा अचार उद्यमीका रूपमा स्थापित गरिदिएको छ। आफ्नै घरमा चलाउँछिन्- ‘लकासी अचार उद्योग’। उनको उत्पादन रुपन्देहीमा मात्रै होइन, अन्य जिल्लामा पनि पुग्ने गरेको छ।
‘म उद्यमी बन्छु भन्ने त सोचेकै थिइनँ। दुई दिनको तालिमले उद्यमी बनाएर आत्मनिर्भर बन्ने बाटो खोलिदियो,’ उनले भनिन्।
तालिमको दोस्रो दिन देखि नै उनले उद्यमको बाटो पहिल्याएकी थिइन्। दोस्रो दिन नै ६ जना तालिमेले एउटा समूह बनाएर जनही पाँच हजार रुपैयाँ जम्मा गरे। यो पैसाले ग्याँस सिलिन्डर, चुलो र भाँडाकुडा किन्न पुग्यो।
फेरि जनही पाँच हजार उठाए। बजारमा काँचो आँपको सिजन थियो, केही बोरा आँप किनेर ल्याए। मरमसला जुटाए। तालिममा सिकेअनुसार काँचो आँपको अचार तयार गरेर बजार पठाए।
यो पहिलो प्रयासले समूहको हौसला बढयो।‘शुभलाभ’ नाम राखेर सामूहिक रूपमा अचार उद्यम सुरु गरे। सामूहिक प्रयास भएकाले बजारीकरणमा पनि सजिलो भयो।
साथीहरूसँग मिलेर काम गर्दै जाँदा अचार बनाउने र बजारीकरण गर्ने अनुभव भयो। पार्वतीले व्यवसाय जानिन्। पार्वतीको बिहे २०५२ सालमा १४ वर्षकै उमेरमा भएको थियो। गाउँकै युवक भेषराज गिरीसँग भागी बिहे गरेकी थिइन्। बिहे भयो तर भेषराज भारतमा बस्थे।
बिहेको १० वर्षपछि भेषराज रोजगारीका लागि दुबई गए। उनी उतै थिए।
यता पार्वतीले अचारबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाइन्। आठ महिना समूहमा काम गरेपछि अलग भइन् र श्रीमानलाई बोलाइन्।
समूहबाट अलग हुँदा उनलाई दुःख नलागेको होइन तर श्रीमानलाई स्वदेश फर्काउने चाहनाले अलग भएको बताइन्।
‘६ जनाको समूहले दुई पटक १०–१० हजार रुपैयाँ संकलन गरेर शुभलाभ उद्योग चलाएका थियौँ,’ पार्वतीले भनिन्, ‘श्रीमान विदेश बसेको १७ वर्ष भएको थियो। उहाँलाई पनि बोलाएर उद्योग चलाउन समूह छाडेँ।’
एक्लै उद्योग चलाउन ऋण चाहिने भयो। श्रीमान् विदेशबाट आउँदा वचत भएको ४० हजार रुपैयाँ थियो। पार्वतीले आफूलाई तालिम दिएर उद्यमको बाटो देखाइदिने सहकारी संस्था सम्झिन्।
ऋण पाउन २०७५ साल साउनमा घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा उद्योग दर्ता गरिन्, नाम जुर्यो ‘लकासी अचार उद्योग।
नाम नौलो होस् र सुनेपछि नबिर्सियोस् भन्ने चाहनाअनुसार लाकसी शब्द जुरेको हो। पार्वतीले भनिन्, ‘अचारमा धेरै प्रयोग हुने लसुन, कागती र सिमला मिर्च (खुर्सानी) सम्झेर लकासी नाम राखेँ।’
सहकारीबाट ६० हजार रुपैयाँ ऋण लिइन्। यति गर्दा एक लाख रुपैयाँ भयो।
पहिलो पटक पाँच सय केजी काँचो आँप किनेर अचार बनाइन्। दोस्रो वर्ष १२ क्विन्टल आँपको अचार बनाइन्। कागती, अमला, लप्सी, लसुन र मेथीको अचार पनि थपिन्।
अहिले भने वार्षिक झन्डै ३० क्विन्टल अचार उत्पादन गर्छिन्। पार्वतीका अनुसार सिजनमा हाल २२ थरीको अचार बन्छ। बेसिजनमा पनि कम्तीमा १२ किसिमको बन्छ। सिजनअनुसार करेला, च्याउ, लप्सी, अकबरे खुर्सानी र मुलाको अचार पनि बन्छ।
उद्योगमा पार्वती र भेषराज दुवै बराबर खटेर काम गर्छन्। सिजनमा १० जना जतिले दैनिक ज्यालादारीमा काम पाउँछन्। उद्योग घरमै चलाएका छन्। कच्चा पदार्थ र उत्पादन भण्डारण पनि घरमै गर्छन्।
शंकरनगर चोकमा बिक्री केन्द्र राखेका छन्।अचारको बजारीकरण गर्ने र बिक्री केन्द्र चलाउने धेरै काम भेषराजले गर्छन्। भेषराजका अनुसार लकासी अचार बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैना, देवदहसँगै कपिलवस्तु, नवलपरासी र पाल्पा पनि पुग्छ।
पार्वतीका अनुसार दैनिक कम्तीमा १० हजार रुपैयाँको अचार बजार जान्छ।
‘एक लाख रुपैयाँ लगानी गरेर पाँच क्विन्टल काँचो आँपबाट काम सुरू गरेका थियौँ। अहिले वार्षिक ३०–३२ लाखसम्मको कारोबार हुन्छ,’ उनले भनिन्।
सिजनमा बजारमा पाइने आँप, कागती, अमला इत्यादि किनेर भण्डारण गरी वर्षभरि अचार बनाउन सकिने पार्वतीको भनाइ छ।
‘अचार बनाउने कच्चा पदार्थ बाक्लो प्लास्टिकको ड्रममा नुनमात्रै राखेर भण्डारण गर्नुपर्छ। हावा छिर्ने भयो भने बिग्रिन्छ,’ पार्वती भन्छिन्, ‘अफ सिजनमा त्यसैबाट अचार बनाउन सकिन्छ।’
तयारी अचार भने ससाना बट्टामा राखेर बजार पठाउँछन्।
पार्वतीका अनुसार उनीहरू मसला पनि आफैँले तयार गर्छन्। पहेँलो तोरी, हरियो र सुकेको सोँफ, धनियाँ, मुंगिलो, ज्वानो, मेथी, बिरे नुन अचारको लागि चाहिने मसला हुन्। ज्वानो, सोँफ र मुंगिलोले अचार बास्नादार बनाउँछ।
पार्वतीका अनुसार कोरोना महामारीले व्यवसायमा केही असर परे पनि अहिले राम्रै चलेको छ। उनीहरू मेला–महोत्सवमा अचारको स्टल लगाउँछन्। त्यस वेला निकै राम्रो बिक्री हुन्छ। अचारको प्रचार र बजारीकरण हुन्छ।
कतिपय व्यक्तिमा बट्टामा राखेको तयारी अचार खानु हुँदैन धारणा रहेको छ। पार्वतीका अनुसार यस्तो धारणा भ्रममात्रै हो।
‘यस्तो अचारले पेट खराब गर्छ भन्नु भ्रम हो। बिरे नुन, ज्वानो, हिङ, मुंगिलो राखेर बनाएको अचारले पेटमा असर गर्दैन, बरु राम्रो गर्छ,’ उनी भन्छिन्।
दुई दिन तालिम लिएर उद्यमी बनेकी पार्वती अरूलाई तालिम पनि दिन्छन्। पाँच वर्षमा आफूजस्ता करिब एक हजार महिलालाई तालिम दिएको उनले बताइन्।
पार्वतीले स्यानिटरी प्याड बनाउने तालिम पनि लिएकी छन्। उनी यसको पनि तालिम दिन्छिन्। अचार र स्यानीटरी प्याड बनाउने तालिम दिन गुल्मी, स्याङ्जा, कपिलवस्तु, नवलपरासी र दाङ पनि पुगेकी छन्।
‘तिलोत्तमा नगरप्रमुख–दायित्व उद्यम प्रतियोगिता, २०७६’ मा उत्कृष्ट पाँच उद्यमीमा छनोट भएर पार्वतीले ५० हजार रुपैयाँ पुरस्कार पाइन्।
तालिम दिएर उद्यमी बनाउने ‘सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था’ ले पनि ‘उत्कृष्ट लघु उद्यम व्यवसायी’ का रूपमा उनलाई सम्मान गर्यो।
छोटो समयमै उद्यमी र प्रशिक्षकको रूपमा सफल पार्वती सानै भए पनि उद्यममा लाग्न महिलाहरूलाई आग्रह गर्छिन्। पार्वतीको माइती परिवार आर्थिक रूपमा सम्पन्न थियो। उता भेषराज विपन्न परिवारका थिए।
गरिबीकै कारण उनी १० कक्षा पढेपछि रोजगारीको लागि भारत पसेका थिए। कमजोर आर्थिक अवस्थाको परिवारका युवकसँग अन्तर्जातीय विवाह भएपछि पार्वती निकै अप्ठ्यरोमा परिन्।
बिहे भइगयो। उनले हिम्मत नहारी भेषराजलाई सघाइन्। दुःखमा हात थामिन्।
‘गाउँमा मेरो माइती जमिनदार भनेर चिनिन्थ्यो। सत्र जनाको परिवारमा कान्छी छोरी, पुल्पुलिएर हुर्केकी थिएँ,’ पार्वतीले भनिन्, ‘केटाकेटी बुद्धिले सानैमा आफूखुसी बिहे गरेपछि बुबाआमालाई चोट पर्नु स्वाभाविक थियो।’
यता आठ जना परिवार भएको घरमा जेठी बुहारी बनेर भित्रिएकी थिइन्। उमेर सानै, जिम्मेवारी ठूलो आइलागेको थियो। बिहेपछि श्रमानसँग ६ महिना भारत बसिन्।
पार्वती घर आइन्। पन्ध्र वर्षकै उमेरमा आमा बनिन्। भेषराज उतै बसे। फेरि दुबई गए।
अन्ततः पार्वतीको अचार व्यवसायले भेषराजलाई पनि स्वदेश फर्कायो। दुबईमा दुःखको पेसा थियो। अहिले स्वदेशमा परिवारजनका साथ आफ्नै व्यवसाय गर्न पाएर भेषराज हर्षित छन्।
पार्वतीलाई पनि सन्तोष मिलेको छ। ‘लकासि’ विस्तारका लागि दुवै जना तनमनले लागेका छन्।