अवधेश विष्टले चार वर्षअघि ललितपुर जावलाखेलमा 'प्रेसर कुकर कफी' व्यवसाय सुरू गर्दा उनी नेपाल प्रहरीमा उपरीक्षक (एसपी) थिए।
उनलाई धेरैले एउटै कुरा भने, 'यति ठूलो पोस्टमा भएर पनि के कफी पसल खोलेको?'
जसले जे भने पनि अवधेशको मन बदलिएन। उनले नेपाल प्रहरीको जागिर सँगसँगै आफ्नो व्यवसायलाई निरन्तरता दिइरहे।
एक वर्षअघि प्रहरी उपरीक्षकबाट सेवानिवृत्त भएपछि उनी पूर्णकालीन कफी व्यवसायी बनेका छन्।
पहिले उनको काम देखेर जो नाक खुम्च्याउँथे, उनीहरू नै अहिले भन्दैछन्, 'अवधेश, हामीलाई पनि कुकर कफी बनाउन सिकाइदेऊ न।'
तपाईंहरू जावलाखेल चिडियाखानाबाट सेन्ट जेभियर्स स्कुलको पछाडि गेट हुँदै भनिमण्डलतिर जानुभएको छ भने मूल सडकको बायाँ कुनामा एउटा मन्दिर देख्नुहुन्छ। अवधेशको प्रेसर कुकर कफी पसल त्यही मन्दिरनिर छ।
अवधेशले प्रहरी उपरीक्षक भएर पनि कफी व्यवसायमा कसरी हात हाले त?
उनलाई सबैले सोध्ने यो प्रश्नबारे चर्चा गर्नुअघि म तपाईंहरूलाई यहाँको मन्दिर र मन्दिरसँग कफी पसलको सम्बन्धबारे बताउँछु।

२०६४ सालको कुरा हो। सडकको कुनामा जहाँ तपाईं मन्दिर देख्नुहुन्छ, त्यति बेला यो फोहोर फाल्ने ठाउँ थियो। दुर्गन्धले वरपरका स्थानीय आजित थिए। अवधेश पनि यहीँका स्थानीय हुन्।
उनका बुबा दिवाकर विष्टले समस्या समाधानको उपाय निकाले। सबैले फोहोर फाल्दै आएको ठाउँ सफासुग्घर राख्न उनले मन्दिर बनाइदिए।
दिवाकरको उपायले काम गर्यो।
मन्दिर बनेपछि मान्छेले फोहोर फाल्न छाडे। त्यति मात्र होइन, दिउँसै हिँडडुल गर्न डर लाग्ने सुनसान ठाउँमा मान्छेहरू आएर बस्न थाले। हेर्दाहेर्दै मन्दिरको प्रांगण रमणीय बन्यो।
अहिले दिवाकरको निधन भइसकेको छ। तर उनले फोहोरको डंगुरबाट रमणीय स्थल बनाएको यो ठाउँलाई थप आकर्षक बनाउने अभिभारा उनका छोरा अवधेशले उठाए।
'म यो ठाउँलाई राम्रो सार्वजनिक स्थलमा परिणत गर्न चाहन्थेँ; जहाँ मान्छेहरू मन्दिर दर्शन गर्न आऊन्, साथीभाइ भेटघाट गर्न आऊन्, वरपरका स्थानीय खुला हावामा सास फेर्न आऊन्,' उनले भने।
यही उद्देश्य राखेर अवधेशले मन्दिर प्रांगणको एउटा भित्तामा 'लभ–लक' बनाए। त्यहाँ प्रेमी–प्रेमिका वा साथीहरूले ताल्चामा एकअर्काको नाम लेखेर भित्तामा लक गर्छन्।
लभ–लकको आइडिया युवा पुस्तामाझ निकै लोकप्रिय भयो। उनीहरूले आफ्ना प्रेमी–प्रेमिकाको नाम ताल्चामा राखेर लक मात्र गरेनन्, त्यसलाई सामाजिक सञ्जालमा सेयर गरेर यो ठाउँलाई नै भाइरल बनाइदिए।
त्यसपछि त के चाहियो! कुनै बेला फोहोरको डंगुर थुप्रिने यो ठाउँमा साँझ–बिहान मान्छेको चहलपहल बढ्दै गयो।
यो त भयो मन्दिर र ठाउँको कथा। अब कुरा गरौं, यो ठाउँसँग कुकर कफीको सम्बन्धबारे।
अवधेश पहिले बुटवलमा कार्यरत थिए। त्यही समय बुटवलको ट्राफिक चोकमा प्रेसर कुकर कफी खुब लोकप्रिय थिए। अवधेश पनि साथीहरूसँग कुकर कफी खान गइरहन्थे।
'मैले कफी बनाउने त्यो शैली काठमाडौंमा कतै देखेको थिइनँ। त्यो आइडिया काठमाडौंमा ल्याए राम्रोसँग चल्छ भन्ने लाग्यो,' उनले भने।

कुकर कफी व्यवसाय सुरू गर्ने निधो गरेपछि उनले आफ्नै घर अगाडि बुबाले मन्दिर बनाएको ठाउँमै पसल खोल्ने निधो गरे। तर प्रहरीको जागिरमा भएकाले आफै कफी बेचेर बस्न भ्याउँदैन थिए।
त्यसैले सुरूआती दिनमा उनकी श्रीमती र दुई जना कर्मचारीले पसल चलाए। ती दुई जना कर्मचारी अहिले पनि उनीसँगै काम गरिरहेका छन्।
अवधेशले प्रेसर कुकरमा कफी बनाउने तरिकाबारे पनि हामीलाई बताए।
उनका अनुसार कफी बनाउन सबभन्दा पहिला प्रेसर कुकरमा पानी उमालिन्छ। कुकरको सिठी लाग्ने भागमा लामो रड रखिएको हुन्छ। पानी उम्लिएपछि रडबाट निस्किने बाफले एउटा जगमा राखिएको दूध, चिनी र कफी तताइन्छ। यो अरू कफीभन्दा धेरै बेर तातो रहने उनी बताउँछन्।
'यो कफी बनाउने पुरानो तरिका हो,' उनले भने, 'नयाँ पुस्ताका धेरैलाई यो तरिकाबारे जानकारी छैन। त्यसैले पुरानो चलन नयाँ पुस्तालाई चिनाउन पनि मैले कुकर कफी सुरू गरेको हुँ।'
यहाँ चिसो कफी र चिसो हर्लिक्स पनि पाइन्छ। कफी, चिनी, दूध र बरफ मिक्सरमा घोलेर चिसो कफी बनाइने उनले जानकारी दिए।
त्यस्तै, हामीले तातो दूधमा घोलेर पिउँदै आएको हर्लिक्सलाई चिसो दूधमा पिए कस्तो होला भन्ने उत्सुकतावश चिसो हर्लिक्स सुरू भएको उनको भनाइ छ।
अवधेशले करिब १८ हजार रूपैयाँ लगानीमा कुकर कफी व्यवसाय सुरू गरेका हुन्। लगभग दुई वर्ष मन्दिरकै प्रांगणमा कफी पसल चलाउँदा ग्राहकको भिड बढ्दै गयो। यसले फुटपाथमा हिँड्नेलाई असुविधा हुन थाल्यो।
त्यसपछि अवधेशले आफ्नै घरको तरकारी रोप्ने बारीमा रेस्टुरेन्ट खोल्ने निधो गरे। र, नाम राखे – वाह वाह क्याफे!
सुरूमा केही मुडा राखेर सुरू भएको यो क्याफेमा अहिले १० वटा टेबल र हरेक टेबलमा चारवटा कुर्सी छन्। मेनुमा खाजाको परिकार पनि थपिएको छ। यहाँ पाइने खाजामध्ये सबभन्दा चर्चित भेलपुरी, पावभाजी र वडापाव हुन्।
यसबाहेक चिकेन पकौडा पनि चर्चित छ। यी विभिन्न थरीका खाजाको मूल्य ७० देखि २२० रूपैयाँ पर्छ।
कुकर कफीको मूल्य भने पहिले ५० रूपैयाँ थियो। अहिले ७० रूपैयाँ पर्छ। उनको पसलमा दैनिक करिब सय लिटर दूध खपत हुन्छ।

'म सकभर मूल्य कम राखूँ भन्ने चाहन्छु। तर नेस्क्याफे कफीको भाउ बढेपछि हामीले पनि बढाउनुपर्यो। खाजाको मूल्य भने अरू ठाउँभन्दा धेरै नै कम छ,' उनले भने, 'आफ्नै घरमा रेस्टुरेन्ट खोलेकाले भाडा तिर्नुपर्दैन। त्यसले पनि मैले अरूभन्दा सस्तोमा बेच्न सकेको हुँ।'
कुकर कफी र रेस्टुरेन्ट व्यवसायबाट करिब २५ प्रतिशत नाफा हुने उनी बताउँछन्।
यो रेस्टुरेन्ट बिहान ८ देखि राति ८ बजेसम्म खुल्छ। वरपर धेरै स्कुल, कलेज र अफिस भएकाल दिनैभरि मान्छेको आउजाउ भइरहन्छ। प्राय: किशोर–किशोरी बढी आउँछन्। साँझको समय मन्दिरको प्रांगणमा पनि कुकर कफी खानेहरूको घुइँचो लाग्छ।
एक वर्षअघि एसपीबाट रिटायर भएपछि अवधेश पूर्णकालीन कफी व्यवसायी बनेका छन्। अहिलेसम्मको कारोबारबाट उनी सन्तुष्ट पनि छन्।
'बुबाले बनाउनुभएको मन्दिर प्रचारप्रसार गरूँ र यो ठाउँलाई राम्रो सार्वजनिक स्थल बनाऊँ भन्ने उद्देश्यले कफी व्यवसाय सुरू गरेको थिएँ। अहिले मलाई यसबाट रिटायर्ड जीवन बिताउन सहज भएको छ,' ५२ वर्षीय अवधेशले भने, 'म जति सन्तुष्ट प्रहरी सेवाबाट थिएँ, अहिले पनि त्यति नै सन्तुष्ट छु।'
'भविष्यमा अरू ठाउँमा पनि क्याफेको शाखा विस्तार गर्ने विचारमा छु,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
***







