धादिङकी बसु माया तामाङले १२ वर्षअघि एक केजी टिमुरबाट सुरू गरेको 'टिमुरको छोप' को अचार अहिले जापान, अमेरिका, अष्ट्रेलियासहित ३० देशमा पुग्ने गरेको छ।
एउटा नाङ्लोबाट सुरू भएको व्यवसायबाट अहिले बसु मायाले वार्षिक झन्डै ३ करोड कमाइ गर्छिन्। उनले यही उद्यमबाट झन्डै सय जनालाई रोजगारी दिएकी छन्।
'अब त कुन देशमा चाहिँ जाँदैन भनेर पो भन्न मन लाग्छ,' बसु माया भन्छिन्, 'अब पुग्न बाँकी एसियामा ताइवान, भारतको दार्जिलिङ, सिक्किम र भुटानमात्र छ र त्यहाँ पनि चाँडै पुर्याउने प्रयास भइरहेको छ।'
काठमाडौंको मनमैजुमा यसको उद्योग रहेको बताउँदै बसु मायाले बेलायतमा पनि उद्योग रहेको र आगामी महिनाभित्रै दुबईमा पनि सञ्चालन गरिने बताइन्।
उनले अहिले नेपालका दुई ठाउँमा यसको शाखामा रहेको उल्लेख गर्दै आगामी दिनमा ७७ वटै जिल्लामा यसको शाखा खोल्ने चाहना रहेको सुनाइन्।
आत्मविश्वास र दृढता कायम गर्न सके महिलाहरूले जस्तोसुकै काम गर्नसक्ने उनी बताउँछिन्।
समाजले महिलाहरूलाई कमजोर आँक्न सक्ने भन्दै सो कुरालाई शक्तिमा बदलेर महिलाहरूले आफूलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।
उनी हरेक घरमा कम्तीमा एक जना महिला उद्यमी हुनुपर्नेमा जोड दिन्छिन्।
हेर्नुस् उनै बसु मायासँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः