'ऋण थपियो सरकार निन्द्रा लागेन', 'ए सरकार, कि हामीलाई काम गरी खान देऊ, कि मामको व्यवस्था गरिदेऊ।'
यस्ता विभिन्न नारा लेखिएका पम्प्लेट बोकेका सयौ ट्याक्सी चालकहरुले मंगलबार। यातायात व्यवस्था विभाग घेराउ गरे। उनीहरूले चर्को नाराबाजी गर्दै सरकारको विरोध समेत गरे।
त्यो भिडमा थिइन् भक्तपुरकी ईश्वरी थापा। उनी १० वर्षदेखि ट्याक्सी चलाउँदै छिन्। एकल महिला भएकाले घर, छोरी लगायत सबै जिम्मेवारी उनकै काँधमा छ।
ट्याक्सी चलाउन पाउँदा त जसोतसो टरेकै थियो। तर विगत ३ महिनादेखि काम ठप्प हुँदा उनलाई घर खर्च टार्न पनि मुश्किल परेको छ।
'धान्न नसक्ने स्थिति भएरै सडकमा आउनु परेको हो। खान नपाएर मर्ने भइसक्यो, कति दिन रोगको डर मानेर बस्नु,' उनले दुखेसो पोखिन्।
सरकारले कि काम गर्न कि राहत दिनुपर्ने उनको माग छ। सबभन्दा समस्या त उनलाई ट्याक्सीको किस्ताको छ।
'महिनाको २२ हजार तिर्नुपर्छ। ३ महिनादेखि तिर्न सकेको छैन। बैंकले फोन गरेर हैरान पारिसक्यो,' ईश्वरीले भनिन्।
सरकारले ट्याक्सी चलाउन दिएको खण्डमा स्वास्थ्य सुरक्षा ध्यानमा राखेर ट्याक्सी सञ्चालन गर्ने उनले बताइन्।
त्यस्तै, लगनखेलका दिलबहादुर मिर्चिङ विगत १८ वर्षदेखि ट्याक्सी चलाउँछन्। ५ जनाको परिवार, घरखर्च, बच्चाको पढाइ त्यही ट्याक्सीले धानेको थियो।
'दैनिक औसत ३ हजार कमाई हुन्थ्यो। त्यसमा साहुलाई १५ सय र तेल खर्च कटाएर बाकीँ पैसाले घर चलाउँथे। त्यो आम्दानी रोकिइहाल्यो। अब त चुलो बाल्न पनि समस्या परिसक्यो,' उनले दुखेको पोखे।
केही सिप नलागेपछि आन्दोलन गर्न बाध्य भएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिलिप कुमार श्रेष्ठ बताउँछन्।
'हामीले सरकारलाई सहयोग गरेर ३ महिनासम्म ट्याक्सी चलाएनौं। अहिले सरकारले लकडाउन खुकुलो पारेपछि निजी सवारी साधन चलेका छन्। जोर बिजोर प्रणालीमा स्वास्थ्य सुरक्षा अपनाएर ट्याक्सी चलाउन पाउनु पर्ने हाम्रो माग हो,' श्रेष्ठले सेतोपाटीसँग भने।
यातायात व्यवस्था विभागले वार्तामा बोलाए पनि वार्ता सफल नभएको उनले जानकारी दिए।
'विभागका महानिर्देशकले सिसिएमसीको हवाला दिँदै पन्छिनुभयो। त्यो उहाँको असक्षमता हो। माग पूरा नभएसम्म हाम्रो विरोधका कार्यक्रम जारी रहन्छ,' उनले भने।