विदेश जान तम्तयार भएका प्युठानका सुशील भुसाल अन्तिम समयमा नेपालमै केही काम गर्ने सोच बनाए।
गाउँका केही व्यक्तिले उनलाई विदेश जानुभन्दा कुखुरा पालन व्यवसाय गर्न सल्लाह दिए।
उनले गाउँकै २ जना साथी खोजे। एक जना उनीजस्तै विदेश जान लागेका थिए र अर्का भारतबाट काम गरेर फर्केका थिए।
‘गाउँमा २–३ सय कुखुरा पालेको पनि थिएँ। केही ज्ञान भएको कारण त्यही व्यवसाय गर्न ठिक लाग्यो,’ भुसालले सेतोपाटीसँग भने ‘हामी ३ जना मिलेर ऋण गरेर कीर्तिपुरमा ८ लाखमा खोर किन्यौं र ३ लाख डिपोजिट गरेर चल्ला, दाना लगायतका आवश्यक सामान ल्यायौं।’
२ लटसम्म रोटेसन मिलेकै थियो। तेस्रो लट पनि तयार हुँदै थियो। यही बेलामा कोरोना कहर फैलियो।
जेनतेन उनले आफ्नो कुखुरा त बेचे तर एक लटमै करिब ३ लाख घाटा बेहोरे।
‘पहिले हामीले तयारी कुखुरा एक किलोको २५० देखि २७० सम्म बेच्थ्यौँ। अहिले १५० देखि १८० सम्म बेच्नुपरेको छ। यो लटमा ३ लाख घाटा लाग्यो,’ भुसालले गुनासो पोखे।
घाटा भएपछि नयाँ चल्ला हाल्न नसकेको उनले बताए।
‘पुरानो ऋण बाँकी भए पनि सप्लायर्सले चल्ला र दानाको व्यवस्थापन गर्दिन्छु भनेको छ तर खोरमा हाल्नुपर्ने भुस किन्ने पैसा नभएर नयाँ चल्ला हाल्न सकेका छैनौं’ उनले भने।
हाल ७५ प्रतिशत किसानले चल्ला नहालेको नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक प्रसाद पौडेलले जानकारी दिए।
‘कुखुराले बजार र मूल्य पाएको छैन। कुखुरा पालेर धेरै घाटा व्यहोर्नु भन्दा कतिपय किसानले चल्ला गाड्नुपरेको छ,’ पौडेलले भने।
एउटा कुखुरा तयार पार्न तराईमा २ सय २६ रुपैयाँ लाग्ने र अहिले १ सय ६० को हाराहारीमा बेच्नुपर्दा साना किसान मारमा परेको पौडेलले बताए।
राज्यले साना किसान जोगाउन कुनै तयारी नगरेको उनको अरोप छ।
‘कुखुरा, अण्डा, दाना लगायतका ढुवानीको गाडी सहज रुपमा चल्न सकेको छैन। त्यस्तै मासु पसल नखुल्दा कुखुरा बिकेको छैन,’ उनले भने।
कुखुरापालक किसानलाई राहत प्याकेजको व्यवस्था नगरे नेपालको पोल्ट्री व्यवसाय ५ वर्ष पछाडि धकेलिने पौडेलले बताए।
किसानले चल्ला नहालेपछि हाल चल्ला उत्पादन गर्दै गाड्दै गर्नुपरेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले बताए।
‘चल्ला तयार हुन २२ दिन लाग्छ। लकडाउन खुल्ला भनेर चल्ला तयार पार्यो, नखुलेपछि गाड्नै पर्यो,’ उनले भने ‘पहिले नेपालभर १ हप्तामा ४२ लाख चल्ला खपत हुन्थ्यो। अहिले एक, डेढ लाख मात्रै छ,’ पोखरलेलले सेतोपाटीसँग भने।
नेपाललाई कुखुरामा आत्मनिर्भर बनाईरहनु छ भने सरकारले किसानलाई राहत प्याकेज ल्याउनु पर्ने उनको तर्क छ।
‘कुखुरा व्यवसाय फस्टाउन पहिले किसान बलियो हुनुपर्छ। त्यसैले किसानको केही समयको व्याज माफी, किस्तामा १ वर्ष समय बढाउने, पुनर्कर्जा उपलब्ध गराउने लगायतका प्याकेज ल्याउन सकियो भने मात्र यो व्यवसाय जोगाउन सकिन्छ,’ उनले भने।