भैंसेपाटीका आशिष राना पहिले 'टुटल राइड' गर्थे। कमाइ राम्रै थियो। विस्तारै राइडर बढ्दै गएपछि यात्रु छोप्न हानथाप हुन थाल्यो।
'टुटल एप' को समस्या के भने, यसमा कुनै यात्रुले 'रिक्वेस्ट' पठाउँदा सबै राइडरकहाँ सराबरी पुग्छ। राइडरहरूबीच माउले चल्ला छोपेजस्तो होड चल्छ। इन्टरनेट कमजोर भएका बेला त कतिपय राइडरले मौकै पाउँदैनन्। सोचेजस्तो सक्रिय हुन नपाएपछि टुटल छाडेर 'पठाओ' तिर लागेका आशिषले भने, 'पठाओको प्रविधि सहज रहेछ।'
उनका अनुसार पठाओले नजिकका यात्रुको मात्र 'नोटिफिकेसन' पठाउँछ। ग्राहकले कुनै ठाउँबाट राइड 'रिक्वेस्ट' पठाउँदा त्यही ठाउँनजिकका चालकले मात्र सूचना पाउँछ। यसले एक त चालकलाई ग्राहकसम्म पुग्न समय कम लाग्ने भयो। अर्को, टाढाका चालकले समेत यात्रु छोपेर आफ्नो र अरूको समय खेर फाल्ने भएनन्। चालक र ग्राहक दुवैलाई सुविस्ता भयो।
'टाढाको राइडरले नजिकको राइड उठाउन नपाउने भएपछि हामीलाई सहज भयो,' आशिषले भने, 'पहिले दिनमा १०–११ राइड गर्थें भने अचेल १८–२० जनासम्मलाई बोक्छु।'
लाजिम्पाटका राजु श्रेष्ठ टुटल र पठाओ दुवैमा सक्रिय छन्। पसल सञ्चालक उनी फुर्सदमा 'राइड सेयर' गर्छन्। सुरूमा टुटलमा मात्रै आबद्ध थिए, अहिले दुवैतिर छन्। उनलाई पनि पठाओमै सहज लाग्छ।
'पठाओको एप्स एड्भान्स रहेछ। टुटलमा हेरेर बसिरहनुपर्छ, पठाओमा अलार्म बज्छ,' उनले भने।
आशिष र राजुजस्ता धेरै राइडर टुटलभन्दा पठाओमा सहज मान्छन्। जुन कम्पनीमा चालक धेरै छन् र सहजै भेटिन्छन्, ग्राहक स्वाभाविक रूपले त्यता जाने भए। यसको प्रत्यक्ष लाभ पठाओलाई भइरहेको छ, जबकि राइडरहरूलाई आर्थिक रूपमा पठाओभन्दा टुटलबाट बढ्ता लाभ छ।
नेपालमा 'राइड सेयरिङ' सुरू हुँदा पठाओको नामनिसान थिएन। गत पुस अन्तिम साता ट्राफिक प्रहरीले टुटल र पठाओका केही चालक नियन्त्रणमा लियो। रातो नम्बर प्लेटको निजी दुईपांग्रे सवारीले भाडामा मान्छे बोक्न नपाइने भन्दै कारबाही गरियो। त्यो बेला राजधानीका युवामाझ टुटल चर्चित भइसकेको थियो भने पठाओ भर्खर बामे सर्दै थियो।
एकाएक कारबाहीमा परेपछि टुटलसँगै पठाओ पनि परिचित भयो। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा दुवै कम्पनीका नाम छाए। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि दुई कम्पनीले निर्वाध चल्न पायो। दुवै कम्पनीबाट सेवा लिनेहरू बढे। अहिलेसम्म टुटलका २ लाख 'प्यासेन्जर एप' र करिब १५ हजार 'राइडर एप' डाउनलोड भएको छ। त्यस्तै, दैनिक करिब ५ हजार राइड हुने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए।
उता, पठाओको 'प्यासेन्जर एप' करिब ५ लाख र 'राइडर एप' ४० हजार डाउनलोड भइसकेको छ। यसबाट दिनमा करिब १५ हजार राइड भइरहेको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताए। दैनिक २५ सयसम्म प्यासेन्जर एप डाउनलोड भइरहेको उनको दाबी छ।
पठाओले राइडरलाई धेरै कमिसन दिएको छैन। शुल्क निर्धारण गर्दा चढ्नेबित्तिकै ३० रुपैयाँ र प्रत्येक किलोमिटरमा १५ रुपैयाँका दरले थपिँदै जाने व्यवस्था छ। ग्राहकले तिरेको रकमको ८० प्रतिशत राइडरले पाउँछन्। यसले विभिन्न समयमा यात्रुलाई बोनस र कमिसन दिने गरेको छ। पठाओ राइडरले साढे दुई किलोमिटरभित्रको यात्रु मात्र बोक्न पाउने हुँदा उसको औसत 'पिकअप' समय ४ मिनेट रहेको बस्न्यात बताउँछन्।
टुटलमा राइडरलाई धेरै फाइदा दिन्छ। ग्राहकले पहिलो ३ किलोमिटरसम्म ६० रुपैयाँ, ३-६ किलोमिटरसम्म १८ रुपैयाँ प्रतिकिलोमिटर र ६ किलोमिटरभन्दा माथि प्रतिकिलोमिटर २५ रुपैयाँ तिर्नुपर्छ। ग्राहकले तिरेको पैसाको ९६ प्रतिशतसम्म राइडरले पाउन सक्छन्। टुटलमा काठमाडौंको जुनसुकै ठाउँबाट जुनसुकै ठाउँको यात्रु उठाउन सकिन्छ।
यसरी झट्ट हेर्दा राइडरका लागि टुटल नै लाभदायक देखिए पनि त्योभन्दा दुई वर्षपछि स्थापित पठाओले कम समयमै कसरी फड्को मार्न सक्यो?
पठाओका बस्न्यात आफ्नो आधुनिक र स्मार्ट 'एप' का कारण राइडर र यात्रु दुवैलाई सुविधा हुँदा बजार विस्तार भएको बताउँछन्।
टुटलका संस्थापक भट्ट भने उस्ताउस्तै सेवा दिने भए पनि राज्यले 'स्टार्टअप' कम्पनीहरूलाई लगानीको वातावरण बनाउन नसक्दा सोचेजस्तो अगाडि बढ्न नसकेको गुनासो गर्छन्।
‘पठाओमा बिलियन डलर कम्पनीले लगानी गरेको छ। टुटलमा त्यस्तो लगानी ल्याउन निकै गाह्रो भइरहेको छ। ठूला कम्पनीले लगानी गर्दा ज्ञान र प्रविधि पनि सँगसँगै आउँछ,' भट्टले सेतोपाटीसँग भने, ‘लगानी आयो भने हामी पनि उबरमा काम गरेका कर्मचारी र प्रविधि ल्याउन सक्छौं। तर सरकारी नीतिले धेरै काम रोकिदिएको छ।'
यी राइड सेयरिङ कम्पनीको मेरूदण्ड वा सेवाको आधार नै 'एप्लिकेसन' हो। एप्स राम्रोसँग चल्ने भए चालक र ग्राहक दुवैलाई सजिलो हुने पठाओका राइडर आशिष बताउँछन्। ग्राहक त जहाँ छिटो र सजिलै सेवा पाइन्छ त्यहीँ जाने हो।
यसैलाई ध्यानमा राख्दै पठाओले 'डिजिटल मार्केटिङ' मा धेरै काम गरिरहेको बस्न्यात बताउँछन्। ‘ग्राहकले छिटो र सुरक्षित सेवा पाऊन् भन्ने हाम्रो उद्देश्य हो। हामी राइडरलाई तालिम दिन्छौं, राम्रो अवस्थाको सवारी मात्र प्रयोग गराउँछौ। ग्राहकका गुनासा सक्दो छिटो सम्बोधन गर्छौं,' उनले भने, ‘हाम्रा राइडरले कमिसन थोरै पाए पनि हाम्रो सञ्जाल व्यवस्थित र ठूलो भएकाले धेरै राइड पाउँछन्। धेरै राइड पाएपछि कमाइ पनि धेरै हुन्छ।'
राइड सेयरिङ सेवा नेपालमा नयाँ हो। अहिलेसम्म टुटल र पठाओ मात्र बजारमा छन्। ग्राहकलाई सहज र सरकारले पनि समर्थन गरेको यो सेवाले धेरै युवालाई रोजगारी पनि दिएको छ। दुइटा कम्पनी मात्र भिडिरहेको बजारमा यी दुवैका लागि उत्तिकै ठाउँ छ। कसले कति टक्कर दिन सक्छ भन्ने उनीहरूले प्रयोग गर्ने प्रविधि र सहज प्रयोगमा भर पर्छ।