नेपाली ब्रान्ड शृंखला
एकदिन नर्वेजियन दूतावास नजिकैबाट दुई जना मान्छेले मोटरसाइकल बोलाए। दुई वटा मोटरसाइकल पुगे। उनीहरू चारै जना चोभार गए। बोलाउनेहरू भने, 'हामी पाँच मिनेट यहाँ बसौं न है। यहाँको हावा खानुपर्यो।'
मोटरसाइकलवालाहरूले भने, 'हामी आधा घन्टा भए नि कुर्छौं। आरामले बस्नुहोस्।'
केही समय त्यहाँ बसेपछि उनीहरू फर्किए।
मोटरसाइकल चलाउनेमध्ये एक जना केही दिनपछि शिक्षित भट्टको जावलाखेलस्थित कार्यालयमा पुगे।
सुनाए ,'दाइ, अस्ति चोभार जानेहरू त दृष्टिविहीन हुनुहुँदोरहेछ। क्या खुसी लाग्यो, उहाँहरूले बोलाएकोमा।'
हामी कुरा गर्दैछौं 'दुईपांग्रे ट्याक्सी' टुटलको।
टुटल काठमाडौंमा मोटरसाइकल मार्फत् सेवाग्राहीलाई यात्रा गराउने कम्पनी हो। कसैलाई कहीँ जानुछ तर भाडाका सवारीको घन्चमन्चमा मन छैन। उसले टुटल एप मार्फत् मोटरसाइकल बोलाउन सक्छ।
यसनिम्ति 'राइड' चाहिनेले टुटल एप डाउनलोड गर्नुपर्छ। गन्तव्यको पैसा सुरुमै तोकिएको हुन्छ। पछि मोलमोलाइ गरिरहन पर्दैन।
यो कम्पनीका संस्थापक हुन् शिक्षित भट्ट। कम्पनी सुरू भएको एक वर्ष पनि पुगेको छैन। तर यो अवधिमा यसका सेवाग्राही भने धेरै भइसकेको शिक्षित बताउँछन्। र, माथि भने जस्तै आफ्नो सेवाले सबभन्दा बढी सहज शारीरिक अपांगता भएकाहरूलाई भएको उनको भनाइ छ।
'हाम्रो एप दृष्टिविहिनहरूले चलाउनुहुन्छ। हात-खुट्टाको भर नभएकाहरूलाई मद्दत पुगेको छ,’ उनले भने ‘शारीरिक अपांगता भएकाहरूलाई भनेकै ठाउँमा, घरघरमै सेवा दिन हामी सक्षम छौं।'
शिक्षित इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इञ्जिनियर हुन्। डोटीको सिलगढीमा जन्मिएका। बाल्यकाल उतै बिताए। उनकी आमालाई छोरो राम्रो ठाउँमा पढाउने रहर थियो। उनको नाम जस्तै शिक्षित बनाउन चाहन्थिन्।
'आमाले गर्दा नै म ८ वर्षको उमेरमै काठमाडौं आएँ,' शिक्षितले सुनाए, 'जेम्स स्कुल पढेँ।'
उनले काठमाडौं विश्वविद्यालयबाट इञ्निनियरिङ गरे। युनाइटेड टेलिकममा ७ वर्ष जागिर पनि खाए। त्यहीबीच एमबिए पनि सके।
सन् २००९ देखि उनले नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गरे। बैंकमा उनी 'मोबाइल पेमेन्ट' लगायतका प्रोजेक्टमा काम गर्थे।
'सन् २०१५ तिर आएपछि भने मलाई आफ्नो क्षमता नयाँ काममा प्रयोग गर्न मनलाग्यो,' उनले टुटल स्थापना हुनुको कारण खुलाउँदै भने, 'तर यही गर्ने भन्ने केही निधो थिएन। म आफ्नै बलबूतामा केही गर्न चाहन्थेँ। के हो भन्ने चाहिँ मलाई थाहा थिएन। यसबीच धेरैखाले प्रयास गरियो।'
२०१५ तिरै शिक्षित र उनका केही साथी मिलेर शिक्षा सम्बन्धी प्रोजेक्ट बनाए। उनका अनुसार यसमा ट्याब्लेट प्रयोग गरेर बच्चाहरूलाई कसरी शिक्षा दिन सकिन्छ भन्ने थियो। विभिन्न स्कुलसम्म पुगेर प्रस्ताव पनि राखेछन्। लगत्तै भुइँचालो आयो।
'भुइँचालोका कारण स्कुलहरूको आवश्यकता परिवर्तन भयो,' शिक्षितले भने, 'धेरै स्कुलहरू सही ढंगमा उभिनै समय लाग्ने थियो।'
त्यो प्रोजेक्टमा काम नहुने भएपछि उनले साझा बस ट्र्याकिङ गर्ने एप बनाउने सोच बनाए। जुन एपबाट यात्रुहरूलाई बस कहाँ आइपुग्यो भन्ने थाहा हुन्थ्यो।
'मेरो पृष्ठभूमि टेलिकम्युनिकेसन भएकोले यो काम मेरा लागि धेरै नौलो थिएन,' उनले भने, 'टावरको लोकेशनबाट ट्र्याङ्गुलेसन गर्न सक्थेँ।'
‘सबैको साझा’ नामको एप बनाए पनि। यसनिम्ति साझालाई प्रस्ताव गर्नुपर्थ्यो। उनले त्यसमा खास जाँगर दिएनन्। विभिन्न झमेला सम्झेरै झन्झट माने।
उनले जागिर पनि छाडे। दिमाग लगाउन थाले। विभिन्न कुरा सोचे, तर के-के अड्कोले सबै योजना असफल भए।
'यदि साझा बस ट्र्याक गर्न सकिन्छ भने अरु गाडी-मोटरसाइकल पनि त ट्रयाक गर्न सकिएला नि’ एक दिन झट्ट यो सोच आयो,' उनले सुनाए, 'गाडी भएका मान्छेले, नभएका मान्छेलाई ट्र्याक गर्न सकियो भने त ‘राइड सेयरिङ’ गर्न सकिन्छ भन्ने लाग्यो। अनि बल्ल जन्मियो टुटल।’
तर उनको ध्यान सुरूमै मोटरसाइकलमा भने गएन। गाडी वा ट्याक्सीमा गर्नुपर्छ भन्ने लाग्यो।
'बिजुली कारमा गर्ने भन्ने पनि सोच थियो,' उनले सुनाए, 'नाम पनि बिजुली राख्ने भन्ने लागेको थियो। तर हामीकहाँ बिजुली गाडी फस्टाइसकेकै छैन। कहाँबाट ल्याउने। अनि साधारण गाडीकै सोच बनाएँ। नाम 'क्याबियो' सोचेँ। हत्तपत्त चित्त नबुझ्ने मलाई त्यो पनि जमेन। अनि 'कार मा' भन्ने नाम छानेँ। त्यो पनि सोचमै सिमित भयो।'
उनले यो सेवाबारे धेरै नै सोचे। सडकमा गएर हेरे। कार थिए नै। तर जताततै मोटरसाइकल देखे।
'करिब ८ लाख मोटरसाइकल कुद्दा रहेछन्,' उनले भने, 'केही दिन यसो हेरेको, १० मोटरसाइकलमध्ये ८ वटामा एक जनामात्र यात्रा गर्ने रहेछन्। पछाडिको सिट खाली राख्नुको सट्टा प्रयोग गर्ने हो भने बाटामा गाडी कम गुड्छ। जाम कम हुन्छ। मैले निधो गरेँ।'
कारका निम्ति सोचेका नाम काम लागेनन्। मोटरसाइकलमा सेवा दिने भएपछि अब के राख्ने?
'करिब ६ महिनै सोच्यौं होला। एकदिन हाम्रै टिम मेम्बर प्रिन्सी कोइरालाबाट सुझाव आयो- टुटल कस्तो होला?,' उनले नाम जुराएको क्षण सम्झिँदै भने, 'हामी सबैलाई प्रिन्सीको सुझाव मनपर्यो।'
'के हो टुटल भनेको?'
'योबारे धेरैले सोध्छन्। केही समयअघि म अफ्रिका जाँदा त्यहाँ पनि एक विदेशीले सोधेका थिए,' उनले भने, 'यसको अर्थ आरामदायी राइड हो।'
२०१७ जनवरीमा उनीहरूले परीक्षण सुरू गरे। कम्पनी खोल्न जति सोचेका थिए, त्यो चलाउनुको चुनौती दस गुणा बढी थियो।
टुटल चिनाउनै मुश्किल भयो।
'धेरै मिहिनेत गर्न पर्यो मान्छेलाई बुझाउन,' उनले भने, 'सामाजिक सञ्जालबाट प्रचार सुरु गर्यौं। बिस्तारै सञ्चारमाध्यमहरूमा खबर छापिन थाल्यो। अनि बल्ल चिनिन थाल्यो। सोधखोज गर्नेहरू बढ्न थाले। तर मोटरसाइकल चलाएर यात्रा गराउन र गर्न नै हिच्किचाउने। हाम्रो परिवेशमा यो नौलो भएर पनि होला। धेरै त लजाउँथे।'
उनी पछि हटेनन्। सम्झाउन, बुझाउन छाडेनन्। तीन जनाको टिमले सुरू टुटलको कार्यालयमा अहिले ३० जना कर्मचारी छन्। सुरुआती दिनमा १० देखि १५ वटा 'राइड' हुन्थ्यो। अहिले दैनिक २ हजार ५ सयदेखि ३ हजार राइड हुने उनी बताउँछन्।
शिक्षित टुटललाई बाइक राइड मात्र मान्दैनन्। भन्छन्, 'यो हिँडडुलको स्वतन्त्रता पनि हो।'
‘एकदिन म अफिसबाट बाहिर हेर्दै थिएँ। एक महिलाले ट्याक्सी रोक्न खोजिन्। रोकिएन। माइक्रो-ट्याम्पु निकै भिड भएकाले चढ्न सकिनन्। उनलाई आफ्नो गन्तव्यमा जान संघर्ष नै गर्नुपर्यो। उनले आफ्नो हिँडडुल गर्न पाउने स्वतन्त्रता पाइनन्। यही स्वतन्त्रता टुटलले दिन्छ,' उनले भने।
त्यस्तै यसले गृहणी तथा आफ्ना सवारी नभएका महिलालाई सहज बनाउने उनको दावी छ।
'कहीँ जानु परे कहिले दाजुभाइ, कहिले श्रीमान लगायतलाई आग्रह गर्नुपर्ने बाध्यता यसले हटाउने छ,' उनी दावी गर्छन्,'यो सुरक्षित पनि छ। टुटलमा चालकको नाम र कुन ठाँउबाट कति बेला हिँडेको-पुगेको समेत थाहा हुन्छ।'
त्यस्तै टुटल सेवा लिनेले मात्र होइन, दिनेले पनि अवसर र रोजगारी पाएको उनी बताउँछन्।
'अरू जागिर जस्तै नियमित सेवा दिने हो भने ५०-६० हजार महिनामा कमाउन सकिन्छ,' उनले भने, 'विदेशबाट फर्केकाहरू धेरैलाई टुटलले रोजगारी दिएको छ।'
टुटलमार्फत् सेवा दिन गाह्रो छैन। आफ्नो मोटरसाइकल छ भने राइड दिन सुरुमा अनलाइन दर्ता गर्नुपर्छ। एकपटक टुटलको कार्यालय पुग्नपर्छ। अनि काम सकियो। यी सबै प्रक्रियामा कुनै पैसा नलाग्ने शिक्षितले जानकारी दिए।
काठमाडौंमा टुटलले राम्रो सेवा दिन सके पनि यसको बिमा नीति भने नआइसकेको उनी बताउँछन्।
‘यो कामै नयाँ हो। हामीलाई सरकारले स्वीकारेको पनि छैन। यही कारण यस्ता सुविधा थप्न सकिएको छैन,' सरकारको सहयोग नभएको गुनासो गर्दै शिक्षितले भने, 'सरकारले बीमा, कर लगायत मापदण्डहरू तोकिदिए अझै सुविधाजनक भएर अगाडि बढ्न हामीलाई सहज हुन्थ्यो।'
उनले आफ्नो स्वदेशी कम्पनीलाई सरकारले असहयोग गरेर विदेशी कम्पनीलाई प्रशय दिएको गुनासो गरे।
'यस्तै सुविधा दिने विदेशी कम्पनी नेपाल भित्रिएको छ। नेपालीले गर्दा वेवास्ता र असहयोग, त्यही काममा विदेशी कम्पनी कसरी भित्रियो? अब त मैले करौडौंको कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।'
सरकारले नीति ल्याइदिए टुटलले यातायात क्षेत्रका धेरै समस्या हल गर्ने शिक्षितको दावी छ।
‘अहिले टुटल २ लाख पटक डाउनलोड भएको छ। पाँच हजारले रोजगारी पाएका छन्,' उनले भने, 'भोलि ५० हजार, १ लाखले पनि पाउन सक्छन्। तर स्वदेशमै हुर्केको कम्पनीलाई सरकारले नजरअन्दाज गर्यो।'
नेपाल सरकारले वास्ता नगरे पनि टुटलले अन्तराष्ट्रिय समर्थन भने हात पारेको शिक्षितले जानकारी दिए।
उनका अनुसार टुटल ‘जिएसएमए इको सिस्टम एक्सिलेटर’ कार्यक्रमका ५ सय ५४ 'स्टार्टअप' कम्पनीमध्ये उत्कृष्ट १५ मा परेको थियो। युके एड र अस्ट्रेलियन एडको यो कार्यक्रमले एसिया प्यासिफिक र अफ्रिका क्षेत्रमा मोबाइल सेवामार्फत् काम गर्ने सुरूआती कम्पनीहरूलाई सहयोग गर्छ।
त्यस्तै सेवाग्राहीले रुचाइरहेकाले पनि आफू अझै हौसिएको उनी बताउँछन्। यसलाई विस्तार गरेर पोखरा र चितवन लैजाने तयारीमा छन्।
भन्छन्, 'मेरो सपना यो सेवालाई उबर, ओला जस्तै सेवा दिने भरपर्दो कम्पनी बनाउनु हो।'
तर यसनिम्ति आफूहरूले धेरै मिहिनेत गर्न बाँकी रहेको बताउँछन्।
'राम्रो सुविधा र कम्पनीका रूपमा नाफा कमाउन धेरै मिहिनेत गर्न बाँकी छ,' उनले भने, ‘हाम्रो धेरै खर्च प्रविधि अध्ययन-अनुसन्धान, विस्तारमा हुन्छ। राइडको पैसा पनि ८० देखि ९६ प्रतिशतसम्म चालकलाई नै जान्छ। एक राइडको हामीलाई सरदर ४ रूपैयाँ आउने हो। दिनमा ३ हजार राइड भए पनि मासिक ३ लाख ६० हजार कम्पनीलाई आउँछ। हाम्रो खर्चै ३०–३५ लाख छ।'
उनका अनुसार सेवा दिने १० हजार राइडर दर्ता भए पनि ५ हजार मात्र सक्रिय छन्। राइड बढाउन सकियो भने मात्र नाफा गर्न सकिने उनले बताए। यसनिम्ति अझै मान्छेहरूको विश्वास जित्नुपर्ने उनी बताउँछन्।
'सरकारले हामी जस्तो नयाँ काम थाल्नेलाई सहयोग गरिदिए जनतालाई नै सहयोग हुने हो। उनीहरूमा विश्वास पनि बढ्थ्यो। हाम्रो जस्तो सेवामा कानुन बनाउन ढिलो गर्नुहुँदैन,' उनले भने, 'सहयोग भएन म एक्लैलाई केही घाटा नहोला, तर यहाँ रोजगारी पाएका ५ हजार युवालाई हुन्छ। चोभारको डाँडामा गएर सास फेर्न चाहने दृष्टिविहीनहरूलाई हुनेछ।'