सितापाइला घर भएकी सविना महर्जनले ‘स्काइ’ ब्राण्डको अल्लोबाट बनेका दुई जोर जुत्ता किनिन्, आफू र श्रीमानका लागि।
सो जुत्ता अन्यत्र किन्दा २ हजार ९ सय पर्छ। उनले भृकुटीमण्डपमा चलिरहेको मेलामा १५ प्रतिशतको छुट पाइन्। ‘अल्लो लगाउन निकै हलुका हुन्छ। त्यसमाथि यो स्वास्थ्यवद्र्धक पनि हुन्छ, छुट समेत पाइने भएकाले दुई जोर किनेँ’ महर्जनले भनिन्।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा जारी जुत्ता चप्पल तथा छालाजन्य बस्तुको १४औँ राष्ट्रिय औधोगिक प्रदर्शनीमा उपभोक्ताको घुइँचो लागेको छ।
प्रदर्शनीमा जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको १३५ स्टल राखिएका छन् भने विभिन्न ४५ ब्राण्डको सहभागिता छ। हरेक ब्राण्डले न्युनतम १५ प्रतिशत छुटको व्यवस्था गरेका छन्।
गुणस्तरीय बस्तु एकै स्थानमा छुटसहित किन्न पाइने भएकाले प्रदर्शनीमा आएको सहभागीहरु बताउँछन्। ‘मेलामा भए एउटै छानामुनि छानी छानी जुत्ता चप्पल किन्न पाइन्छ। मूल्यमा एकरुपता तथा गुण्स्तरीय हुने भएकाले हरेक वर्ष नछुटाई आउने गरेको छु’ सहभागी राजकुमार गुरुङले भने।
गुरुङले यस किसिमको प्रदर्शनी वा मेला वर्षमा केबल एकपटक मात्र नभई कम्तीमा पनि दुई चोटी आयोजना हुनुपर्ने बताउँछन्। ‘एक पटक वर्षायाम तथा अर्को जाडो याममा प्रदर्शनी आयोजना भए हामीजस्ता उपभोक्ताले सहजरुपमा मौसम अनुसार आवश्यक जुत्ता चप्पल किन्न पाउने थियौँ’ गुरुङले भने।
१४ गतेबाट सुरु मेलामा हालसम्म करिब ६० हजारले अवलोकन गरिसकेका छन्। ‘हाम्रो स्टलमा मात्रै दैनिक ७ सयदेखि ८ सय अवलोकनकर्ता आउँछन्, ५ सय पिस भन्दा बढी बिक्री भइरहेको छ भने ४ लाखको कारोबार दैनिकरुपमा भइरहेको छ’ गोल्डस्टार जुत्ताका विक्री प्रवद्र्धक अच्युत कार्कीले भने।
कार्कीका अनुसार हात्तिछाप ब्राण्डका चप्पल तथा गोल्डस्टारका जुत्ताप्रति सबै उमेर समुहका मानिसको आकर्षण छ। ‘हाम्रो स्टलमा ४ सय २० देखि एक हजार ६ सयसम्म मूल्यका जुत्ता तथा ८५ देखि ३ सयसम्मका चप्पल उपलब्ध छन्’ उनले भने।
पहिलो पटक सहभागिता जनाएको मिलानो ब्राण्डका प्रमुख बजार व्यवस्थापक डिल्ली सुवेदी मेलाबाट निकै उत्साहित देखिन्थे। सो ब्राण्डको स्टलबाट दैनिकरुपमा ४ सय जोर बढी जुत्ता तथा चप्पल विक्री भइरहेको उनले दाबी गरे।
‘४ सय जोरभन्दा बढी जुत्ता दैनिकरुपमा बिक्री भइरहेको छ, स्वदेशी उद्योगहरुमा निकै उत्साह थपेको छ’ सुवेदीले भने। उनका अनुसार केहीले विदेशबाट कच्चा पदार्थ आयात गरेर यहाँ गुणस्तरीय जुत्ता उत्पादन गरिरहेका छन् भने केहीले विदेशबाटै सस्ता तथा कम गुणस्तरका जुत्ता आयात गरेर नयाँ ट्याग जोडेर समेत बेच्ने गरेका छन्।
सुवेदीले असली र नक्कली उत्पादकको यथाशिघ्र पहिचान नगर्ने हो भने त्यसले समग्र स्वदेशी जुत्ता उद्योगमाथि सर्वसाधारणको भरोसा कम हुँदै जाने उनले बताए।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशनका अध्यक्ष रबिन कुमार श्रेष्ठ पनि दुई किसिमका उत्पादनप्रति सम्रग उद्योग तथा उपभोक्ता सचेत हुनुपर्ने कुरामा जोड दिन्छन्। त्यसबाहेक भृकुटीमण्डपको एउटा कुनामा ७५ प्रतिशतको छुट तथा ब्राण्डेड सामान भन्दै बाह्रै महिना आयोजना गरिने जुत्ता चप्पल मेलाले समग्र स्वदेशी उत्पादनको प्रतिष्ठामा आँच पुर्याउने उनको भनाइ छ।
‘समाज कल्याण परिषदका कर्मचारीको मिलेमतोमा विभिन्न नामबाट वर्षभरि मेला चलाउने प्रवृत्ति देखिएको छ’ श्रेष्ठले भने ‘वर्षौँदेखि बिक्री नभएका गुणस्तरहीन सामान बेचिरहँदा स्वदेशी उद्योगको बदनाम तथा उपभोक्तामाथि ठगी भइरहेको छ।’ श्रेष्ठले ७५ प्रतिशतसम्म छुट दिनेसामानको गुणस्तरमाथि भरोसा नगर्न समेत आम उपभोक्तालाई सचेत गराए।
उत्पादनका लागि जनशक्तिको अभावएशोसिएसन अध्यक्ष श्रेष्ठका अनुसार देशभर करिब १ हजार ५ सयको संख्यामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको उत्पादन उद्योगहरु सञ्चालनमा छन्। यी उद्योगहरुमा करिब २० अर्बको लगानी छ भने करिब ५० हजारले रोजगार पाएका छन्।
तर वार्षिकरुपमा ११ करोड जोर जुत्ता उत्पादनको क्षमता रहेता पनि दक्ष जनशक्तीको अभावमा त्यसको ३९ प्रतिशत मात्र उत्पादन भइरहेको उनले बताए।
‘नेपाली युवाहरुमा स्वदेशमै श्रम गर्दा ‘सानो’ भइने तर विदेशमा त्यही काम गर्दा ‘राजा’ भइने मानसिकताका कारण भारतबाट कामदार ल्याएर आंशिक मात्रै उत्पादन गरिरहेका छौँ’ उनले भने। स्वदेशी उद्योगहरु समेत भारतीय कामदारको भरमा चलिरहेको श्रेष्ठले बताए। स्वदेशी उत्पादन पछिल्ला वर्षहरुमा खुम्चिएको एसोसिएसनको तथ्याङ्क छ।
श्रेष्ठका अनुसार ०७२÷७३ मा बजारमा ७ करोड ६२ लाख जोर जुत्ता चप्पलको खपत भएको थियो। जसमा ३ करोड ८२ लाख जोर स्वदेशी उत्पादनबाटै पूर्ति भएको थियो। बाँकी करिब ५० प्रतिशत हिस्सा विदेशी उत्पादनले धानेको थियो।
त्यसभन्दा अघिसम्म मागको करिब ६५ प्रतिशत उत्पादन स्वदेशी बजारबाटै हुने गरेको उनले दाबी गरे। ‘भूकम्प अघिसम्म कुल मागको ६५ प्रतिशत हिस्सा हाम्रै उत्पादनले थेगेको थियो तर त्यसपश्चात दक्ष स्वदेशी कामदारको अभावकै कारण बजार खस्कँदै गएको हो’ उनले भने।
हालका दिनमा कामदारको पूर्ति भारतबाट हुन थालेपछि बजार तंग्रदै गएको र ६५ प्रतिशत हिस्सा पुर्याउन सफल भएको उनको भनाइ छ।
जुत्तामा पूर्ण आत्मनिर्भरको अवस्था अब धेरै टाढा नभएको उनको दाबी छ। गोल्डस्टार लगायतका ब्राण्डहरु गरेर वार्षिक रुपमा २ अर्बको जुत्ता निर्यात भइरहेको उनले जानकारी दिए।
‘विदेशबाट आयात मात्र भएको छैन, निर्यात पनि गरिरहेका छौँ’ उनले भने ‘सोह्र सय रुपैयाँसम्मको मूल्य सेगमेन्टमा हामी आत्मनिर्भर भइसकेका छौँ।’
यदि सरकारले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयातमा कडाइ गरेमा आफूहरु मुलुकलाई आत्मनिर्भर गराउन तयार रहेको उनले बताए।