राजधानी बस्दै आएका मनोज अधिकारीलाई एक जना आफन्तले बिहानै फोन गरेर सोधे, ‘मतदाता नामावलीमा नाम छ ?’ उनले उत्तरमा ‘छ’ फर्काए। ‘त्यसो भए घर जाने हो भने दिउँसोसम्म तीनकुने आउनु’ आफन्तले भने।
काभ्रेको चण्डनी घर भएका अधिकारीले भोट हाल्न यसपालि घर नजाने मनस्थिति बनाएका थिए तर सो अफरसँगै उनले पुर्नविचार गरे र बिहानको ११ बजे नै तिनकुने पुगे।
‘सुरुमा त भोट हाल्न जाँदिन भन्ने सोचेको थिएँ तर निशूल्क घरसम्मै पुर्याइदिने, आफ्नै गाउँठाउँमा मान्छेसँग भलाकुसारी गर्दै जान पाइने भएपछि जानुपर्यो भन्ने लाग्यो’ अधिकारीले भने।
काठमाडौँमा रहेका अधिकारी जस्तै अन्य धेरै जना मतदाताका लागि विभिन्न राजनितिक दलहरुले निशूल्क बसको सेवा दिएका छन्।
भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट हाल्न काठमाडौँमा रहेका मतदाताहरुलाई दलहरुले घरसम्म लगिदिने सुविधा दिएका हुन्।
‘करिब एक हजार जना हाम्रा मान्छे गइसके, ११ वटा बस हिँड्नै लागेका छन्। केही बस अझै थप्नुपर्ला जस्तो लागेको छ’, एमाले निकट मण्डेना–देउपुर सम्पर्क मञ्चका अध्यक्ष प्रभुराम श्रेष्ठले बताए।
श्रेष्ठले काठमाडौँमा रहेका मण्डेना–देउपुर नगरपालिका भरिका मतदाताहरुलाई घरसम्म बसमार्फत सेवा दिइएको जानकारी दिए। ‘विभिन्न सम्पर्क मञ्चलाई सम्बन्धित क्षेत्रसम्म पुर्याउने पार्टीले जिम्मा दिएको छ।
यसपालि बाम गठबन्धनले संयूक्तरुपमा बसहरु उपलब्ध गराएको छ। अन्यत्र जिल्लाका साथीहरुले पनि आआफ्नो क्षेत्रसम्म सर्वसाधारणलाई लगिरहनु भएको छ’ माओवादी निकट सोही सम्पर्क मञ्चका सचिव नारायणप्रसाद दाहालले बताए।
चुनावको बेला नियमित भन्दा कम बस चल्ने तथा धेरै जनाले दसंँकोझैँ बस टिकट नपाएर घरसम्म जान नपाउने स्थिति देखिएकाले रुटमा पर्नेलाई मताधिकारको रक्षा गर्न दलहरुले बस सेवा दिएको उनले दाबी गरे।
‘हाम्रा क्षेत्रका मान्छेको मत हाल्न पाउने अधिकारको रक्षा गर्नु हामी जस्तो जुझारु कार्यकर्ता तथा पार्टीको समेत दायित्व हो। धेरै जनाले बस नपाएर घर जान नपाएको गुनासो विगतको निर्वाचनमा सुनियो। त्यसैले त्यस्तो समस्या नहोस् भनेर यो सुविधा दिएका हौँ’ दाहाले सेतोपाटीसित भने।
उनले गत स्थानीय निकायको चुनावमा समेत निशुल्क बसको सेवा दिइएको जानकारी दिए। त्यस्तै काभ्रेकै चौरीदेउराली गाउँपालिकाका सम्पर्क मञ्चले समेत सो क्षेत्रका मतदातालाई निशुल्क बसको सेवा दिएको छ।
सो मञ्चका अध्यक्ष एवंम माओवादीका केन्द्रीय सदस्य गुणराज गौतमले तीन दिनको अवधिमा १५ वटा बस प्रयोग गरिएको उल्लेख गरे।
‘सोमबार ४ वटा, मङ्गलबार १० र आज ३ वटा बस लिएर जाँदै छौँ। हालसम्म हाम्रो गाउँपालिका तथा सोही आसपासका अन्य गरी करिब ८ सय जना मानिसहरु गइसके’ गौतमले भने।
दलहरुको यो निशुल्क सेवाले मतदाता मात्र लाभान्वित भएका छैनन् बस व्यवसायी पनि रिर्जभ बढेकाले उत्तिकै उत्साहित देखिन्छन्।
‘एक दिनमा दुई ट्रिप भ्याइन्थ्यो, तेल हालेर मुुस्किलले ४ हजार ५ सय बच्ने गर्छ। तर यसरी रिजर्भमा जान पाउँदा एक ट्रिपमै ५ हजार बच्छ, आराम पनि हुन्छ’ काभ्रे रुटमा बस चलाउने चालक प्रेमलाल श्रेष्ठले भने।
श्रेष्ठले ९ हजारमा काभ्रेको चण्डनी भन्ने ठाउँसम्म रिर्जभमा जान लागिएको र यसबापत उनलाई ५ हजार रुपैंयाँ फाइदा हुने बताए।
तर दलहरुले दिएको सुविधा प्रयोग गर्नेमा कार्यकर्ता मात्र भने छैनन्। कार्यकर्ता बाहेक अन्य व्यक्तिलाई पनि सो सेवा दिइएको छ।
तीनकुनेबाहेक नयाँबसपार्क, कलंकी लगायतका क्षेत्रबाट समेत दलहरुले भोलि चुनाव हुने विभिन्न जिल्लाका कार्यकर्ताहरुका लागि निशुल्क बसको सेवा दिइरहेका छन्।
त्यस्तै निशुल्क रुपमा काठमाडौँबाट घरसम्म लैजाने सुविधा दिएपनि फर्किँदा भने ल्याउने छैनन्। ‘कति जना मत गणना सम्पन्न हुन्जेलसम्म बस्नुहुन्छ। केही घरतिरै अल्मलिनुहुन्छ। कोही छिटै फर्कनुहुन्छ, कोहि ढिलो। जाने समय सबैको एउटै हुने तर फर्कने समय एउटै नभएकाले पुन ल्याउने बसको व्यवस्था नगरिएको हो’ गौतमले भने।