चुनाव आएपछि उदयपुरका देवेन्द्र धमलालाई भ्याइनभ्याइ हुन्छ। बोल्ने र हात बिसाउनेधरि फुर्सद हुन्न। उनलाई थकान अनुभूति भने हुँदैन, बरू उत्साह नै हुन्छ।
चुनावबेला रौसिने कुनै दलका उम्मेदवार वा कार्यकर्ता भने हैनन्। न त उनलाई भोट हाल्नु नै जानु छ।
धमला यातायात व्यवसायी हुन्। ५ वर्षदेखि काठमाडौँ¬उदयपुर–गाइघाटको दिवाकालीन टिकट काट्दै आएका छन्। चुनावमा काठमाडौँबाट घर आउजाउ गर्नेको संख्या बढेसँगै उनको कारोबार फस्टाउँछ।
‘चुनावको राजनीतिक गतिविधि मलाई थाहा छैन। मलाई त यत्ति थाहा छ, चुनावका बेला मेरा गाडीमा मान्छे भरिन्छन्। रित्तै हिँड्नु पर्दैन। यो सम्झिँदा नै रमाइलो लागेर आउँछ,’ धमलाले भने।
अचेल उनका हरेक बिहान यात्रु खोज्नमै बित्छन्। अघिल्लो दिन टिकट बुकिङ गरेका यात्रुलाई फोन गर्न र बस नभरिए यात्रु खोज्न एक चक्कर पुरै कोटेश्वर डुल्नमा बित्छ। चुनाव सकिएपछि भने केही दिन दैनिकी फेरिने उनी बताउँछन्।
‘चुनावमा त गाडी रिजर्भमा गइरहन्छ। रिजर्भ नभए पनि घर जाने मान्छेको संख्या बढ्छ’ उनले भने ‘मान्छे खोज्दै हिँड्नुपर्दैन किनकि काउन्टरमा टिकट काट्नेको भिडै हुन्छ,’ उनले भने, ‘यसअघिको चुनावमा त झन् दसैंमा जस्तै नयाँ गाडी समेत थप्यौं।’
उनलाई दसैंभन्दा चुनावबेलाको भिडभाडमा खुसी लाग्छ। ‘दसैंमा एकतर्फी यात्रु बोकर जानु पर्छ,’ उनले भने, ‘चुनावमा ओहोरदोहोर हुन्छ, प्रायः गाडी भरिएरै आउँछन्।’
हजारौं मान्छे काठमाडौं आवतजावत गरिरहेकाले धमला जस्ता अन्य गाडी व्यवसायीको पनि दैनिकी अचेल उस्तै छ। मंसिर १० गतेको चुनाव समयमै करिब ५ लाख मान्छे काठमाडौंबाट बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
स्थानीय चुनावमा लगभग यति नै मान्छे चरणवद्ध रूपमा बाहिरिएका थिए।
‘स्थानीय चुनावबेला तीनै चरण गरी करिब १५ लाखभन्दा बढी मान्छे बाहिरिएका थिए,’ सिटौलाले भने, ‘अहिले पनि उस्तै संख्या छ।’
उनका अनुसार भोट हाल्नेहरू ३/४ दिनअघि मात्र जान्छन्। दलका कार्यकर्ता भने प्रचारप्रसार गर्न अगाडिदेखि नै जाने गरेका छन्। ‘त्यही भएर यो दुईचार दिन चाहिँ टिकटको माग धेरै हुन्छ,’ उनले भने।
गत स्थानीय चुनावमा अन्तिम चार दिनका यात्रु व्यवस्थापन गर्न दैनिक ३ हजारभन्दा बढी बस प्रयोग गर्नुपरेको थियो। सामान्य दिनमा करिब १ हजार ५ सय यात्रुबाहक सवारीसाधन राजधानीबाट बाहिरिने सिटौलाले जानकारी दिए।
यसबाहेक विभिन्न राजनितिक दलले सवारी रिजर्भ गरेर लैजाने क्रम पनि बढेको उनले बताए।
‘दुई चरणमा निर्वाचन हुने भएकाले पहिलो चरणमा प्रयोग भएका बस फेरि उपयोग गर्न सकिन्छ। १० गते चुनाब भइसकेका जिल्लाका बसले अब २१ गते यात्रु ओसार्छन्,’ उनले भने, ‘यसले उनीहरुलाई नै फाइदा हुन्छ। यात्रु भोट हालेर फर्किहाल्ने भएकाले रित्तै फर्किनु पर्दैन। चुनावले यातायात व्यवसायमै उत्साह ल्याएको छ।’
धेरै सवारीसाधन प्रयोग भएसँगै डिजेल खपत पनि भएको छ। अन्य समयमा दैनिक ३ हजार किलोलिटर हुने गरेको डिजेलको खपत बढेर ४ हजार ६ सय किलोलिटर पुगेको छ।
नेपाल आयल निगमका तथ्याङ्कअनुसार गत भदौ १६ देखि असोज १४ सम्म ८३ हजार किलोलिटर डिजेल खपत भइसकेको छ। असोज १६ देखि कात्तिक १४ सम्ममा त्यो १७ हजार बढेर १ लाख किलोलिटर पुगेको छ।
कात्तिक १४ देखि मंसिर ६ गतेसम्म करिब २२ दिनमा मात्रै डिजेल खपत २ लाख ८६ हजार किलोलिटर पुगिसकेको छ। चुनावी प्रचारमा ठूलो संख्यामा सवारी प्रयोग भएकाले डिजेल माग बढेको निगका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए।