महाबौद्धमा नयाँ ज्याकेट किन्न गएकी सीता सुवेदी गत सोमबार रित्तै घर फर्किन्। कारणः मनपर्दो ज्याकेट नपाएर होइन। १५ वर्षकी छोरीलाई पोहोर साल एक हजार ५ सय हालेर किनेको ज्याकेटलाई यसपालि ३ हजार ५ सय मूल्य दिँदा समेत पसलले नदिएपछि उनी फर्किन्।
बजारमा हाल सबैखाले जाडोका कपडाको मूल्य छोइ नसक्नु छ। गत वर्ष ३ सयमा पाइने सामान्य टोपीलाई ५ सयमा पनि पाइँदैन भने स्वेटरको दाम एक हजारबाट बढेर २ हजार ५ सयसम्म पुगेको छ। पर्याप्त आयात हुन नपाएकाले केही महँगो भएको व्यवसायीहरु स्वीकार्छन्।
नेपाली बजारमा चीनबाट सबैजसो कपडा आयात हुने गर्छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका अनुसार करिब २ अर्ब बराबरको जाडोका कपडा हरेक वर्ष भित्रने गर्छ।
यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन परेको हुँदा अन्य वर्षमाजस्तो समयमै आयात हुन नसकेको संघका वरिष्ठ उपाध्यक्ष वच्चु पौडेलले बताए। उनले भने ‘दसैंबाट आयात सुरु हुनुपर्ने कपडा आउन पाएको छैन, जसकारण व्यापारीले स्टकमा भएका थोरै कपडाको मूल्य बढाएर बेचेका हुन सक्छन्।’
यस वर्ष छिटै जाडो सुरु भएपनि थप कपडा आइ नसकेको उनले बताए। स्टकमा रहेका कपडाबाट बजार धान्नु परेको हुँदा कपडा केही महँगिन पुगेको व्यवसायीको भनाइ छ। महाबौद्धस्थित सुसिला इम्पेक्सका होलसेल व्यापारी रमेश घिमिरे भन्छन् ‘दसैँ लगत्तै कपडा भित्रिनुपर्नेमा नाकामा सहज आवतजावत नहुँदा सामान उतै अड्केर बसेको छ।’ जाडो सुरु भएपनि न्यानो कपडा अहिलेसम्म नआएको उनले बताए।
गत वर्षको स्टकमा थुप्रेको कपडालाई केही व्यापारीले महँगोमा बेचिरहेको उनी स्वीकार्छन्। त्यस्तालाई कारबाही हुनुपर्नेमा उनले जोड दिए। केही व्यापारीले केरुङको बाटोमा अवरोध सिर्जना भएपछि सुमुन्द्री बाटो कोलकत्ता बन्दरगाह हुँदै सामान ल्याइरहेका छन्। त्यो पर्याप्त मात्रामा नरहेको र आइपुग्न पनि ढिलो हुने गरेको उनले बताए।
घिमिरेका अनुसार केरुङबाट काठमाडौं सामान आइपुग्न १५ दिन समय लाग्नेमा कोलकत्ताबाट भने डेढदेखि २ महिनासम्म लाग्ने गर्छ।
संघका अनुसार लोड गरिएका दैनिक ३० वटा ट्रक आजबाट आउन थालेका छन्। संघका उपाध्यक्ष पौडेल सामान लोड गरिएका ट्रकहरु केरुङबाट आउन थालेकाले स्थिति केही दिनमै सहज हुने दाबी गर्छन्।
उनले भने ‘आजबाट ट्रकहरु आउन दिइएको छ। त्यसैले हप्ता दस दिनभित्रै बजार सहज हुन्छ।’ भूकम्प, नाकाबन्दी जस्ता विगतका घटनाबाट व्यापारीले स्टकमा पर्याप्त कपडा राखेकाले अभाव भने नहुने उनको दाबी छ।
बजारमा कपडाको भाउ आकासिएको प्रति उनले भने, ‘केही व्यवसायीले कृत्रिम अभाव देखाएर भाउ बढाएका हुन् भने त्यो गलत हो। संघ त्यसप्रति निकै सचेत छ।’
संघको तथ्यांक अनुसार केरुङ नाकामार्फत वार्षिक रुपमा करिब ९० अर्ब मूल्य बराबरका तयारी कपडा, विद्युतीय तथा कस्मेटिक लगायतका सामाग्री आयात हुने गरेको छ।