राष्ट्र बैंकले आन्तरिक रूपमा प्रणालीगत महत्त्वपूर्ण बैंक वर्गीकरण गर्न नयाँ फ्रेमवर्क तयार पारेको छ।
नेपाल राष्ट्र बैंकले ‘आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूसम्बन्धी फ्रेमवर्क, २०२५’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।
बैंकिङ क्षेत्रले निम्त्याउन सक्ने प्रणालीगत जोखिम व्यवस्थापनको लागि प्रणालीगत महत्त्वपूर्ण बैंक –डोमिस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक (डि–एसआइबी) पहिचान गर्ने उदेश्यले यो फ्रेमवर्क तयार गरिएको हो।
डि–एसआइबीको पहिचानको लागि बैंकको आकार सहित सम्पत्ति र दायित्वको आधारमा अन्य बैंकहरूलाई समेत प्रभाव पार्न सक्ने गरी अन्तरआबद्धता (इन्टरकनेक्टेडनेस) को आधारमा सूचक तयार गरिएको छ।
बैंकिङ क्षेत्रको आकारको भार ४० प्रतिशत, अन्तरआबद्धताको भार ३० प्रतिशत, दीगोपनाको भार १५ प्रतिशत र जटिलताको भार १५ प्रतिशत हुने गरेर सूचक तयार गरिएका छन्।
आकारमा बैंकिङ क्षेत्रले गर्ने कर्जा लगानीलाई हेरिने भएको छ।
अन्तरआबद्धतामा सम्पूर्ण वित्तीय क्षेत्रको सम्पत्ति र दायित्वलाई हेरिने छ भने बैंकहरूको चुक्ता पुँजीलाई समेत हेरिने भएको छ।
दीगोपनामा बैंकहरूले नेपाली मुद्रामा गर्ने भुक्तानी र व्यापारिक कारोबारलाई हेरिने भएको छ। त्यस्तै, जटिलतामा भने अन्य सम्पत्ति, सीमापारको कारोबार, सेयरलगायतका उपकरणको कारोबारलगायतलाई समेटिएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरूप्रसाद पौडेलले स्पष्ट पारे, ‘यी सूचकहरूले बैंकको कुल कर्जा लगानी (एक्सपोजर), वित्तीय क्षेत्रभित्रको सम्पत्ति दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमापारको कारोबारलाई समेत प्रतिबिम्बित गर्नेछ।’
२०२६ को अगष्ट अन्तिममा यसरी बैंकहरूको वर्गीकरण गर्न तथ्यांक लिइने, सेप्टेम्बर अन्तिमसम्ममा बैंकहरूको सूचकको आधारमा अंक (स्कोर) दिइने र अक्टुबर अन्त्यमा यस्ता बैंकको नाम सार्वजनिक गरेर आवश्यक पुँजीकोष राख्न निर्देशन दिइने भएको हो।
बैंकहरूलाई यसरी वर्गीकरण गरिएसँगै बैंकहरूले सन् २०२७ बाट सामान्य अवस्थामा भन्दा बढीको पुँजी राख्नैपर्ने भएको छ।
यस्ता बैंकहरूले अतिरिक्त पुँजी कोष राख्नुपर्ने हुन्छ। जसलाई हायर लस एब्जर्बेन्सी समेत भनिन्छ। राष्ट्र बैंकले यस्ता बैंकहरूलाई ०.२० प्रतिशतदेखि एक प्रतिशतसम्म अतिरिक्त पुँजी कोष राख्नुपर्ने व्यवस्था गर्ने भएको हो।
सन् २००८ मा विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीपछि यसरी प्रणालीगत महत्त्वपूर्ण बैंक तोक्ने गरिएको हो।
हाल छिमेकी मुलुकहरू भारत, पाकिस्तान लगायतले यसरी प्रणालीगत महत्त्वपूर्ण बैंकहरू पहिचान गर्दै आएका छन्।
सन् २०२४ को लागि भारतले एसबिआई बैंक इण्डिया, एचडिएफसी, आइसिआइसिआई बैंकलाई यसरी महत्त्वपूर्ण बैंकको रूपमा वर्गीकरण गरेको थियो।
पाकिस्तानमा नेसनल बैंक अफ पाकिस्तान, युनाइटेड बैंक लिमिटेड र हबिब बैंकलाई यस्तो बैंकको रूपमा वर्गीकरण गरेको थियो।