एनएमबी बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा कदम अघि बढाएको छ।
अब कुनै पनि एन्ड्रोइड सपोर्ट गर्ने स्मार्टफोनलाई पोस मेसिनको रूपमा प्रयोग गरेर व्यवसायीहरूले डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी लिन सक्नेछन्।
यस सेवामार्फत साना तथा मझौला उद्यम, पर्यटन व्यवसाय र अन्य विभिन्न व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन्। यसले पोस मेसिनको झन्झट बिना नै डिजिटल भुक्तानी प्रणालीमा सहभागी हुन अवसर दिनेछ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला हो। हरेक व्यापारीको खल्तीमा भएको मोबाइल अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ।’
बैंकले जनाएको छ कि सफ्टपोस अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरूप काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुनेछ।
बैंकले हाल २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।