साताको अन्तिम दिन नेप्से परिसूचक स्थिर रहेको छ।
बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा आएको छ।यसदिन कारोबार रकम सामान्य घटेको छ।
बुधबार बजारमा तीन अर्ब ८४ करोडको कारोबार भएकोमा बिहीबार तीन अर्ब ४९ करोडको कारोबार भएको हो।
कारोबारमा आएकामध्ये विकास बैंक, लगानी, जीवन बीमा, उत्पादनमूलक, निर्जीवन र अन्य बाहेकका समूहगत परिसूचक घटेका छन्।
बढ्ने र घट्ने दुवै समूहमा सामान्य उतारचढाव देखिएको हो। सबै समूहमा एक प्रतिशतभन्दा कमले उतारचढाव देखिएको छ।
यसदिन तीन सय २९ लगानी उपकरण कारोबारमा आउँदा एक सय ६० वटाको मूल्य बढेको छ। एक सय ५० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका माबिलुङ इनर्जी, ,सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकारको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
त्यस्तै, स्वेत गंगा हाइड्रोको पनि सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले घटेर एक हजार दुई सय ६४ रूपैयाँमा किनबेच भएको छ।
हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड ८० लाख रूपैयाँको सेयर किनबेच भएको हो।