प्रायः हामी सबैको घरमा यस्ता लुगा, जुत्ता, झोला वा अरू यस्तै सामान हुन्छन्, जुन हामीले प्रयोग गर्न छाडिसकेका हुन्छौं। बिस्तारै यी सामान हाम्रो घरका फोहोर बन्छन्। यस्ता फोहोर हामी मिल्काइहाल्न पनि सक्दैनौं।
यही समस्या मध्यनजर गर्दै संसारभर चलेको थ्रिफ्ट स्टोरको चलन नेपालमा पनि फैलिँदै छ।
थ्रिफ्ट स्टोर भनेको खासगरी पुराना तर प्रयोग गर्न मिल्ने लुगा वा अन्य सामान बेच्न राखिएको पसल हो। कतिले आफूले प्रयोग नगरेका नयाँ सामान पनि बेच्छन्। यस्ता सामानलाई सेकेन्ड–ह्यान्ड वा रिकन्डिसन्ड भन्न सकिन्छ। यी सामानको मूल्य बजार भाउभन्दा कम राखिएको हुन्छ।
काठमाडौंका दुई साथी अभिषेक भण्डारी र अदिल मानन्धरले यस्तै पसल सुरू गरेका छन्— थ्रिफ्टको।
थ्रिफ्टको पसल अरूभन्दा अलि भिन्न छ। यो अनलाइन एप बजार हो।
'यो एपमा प्रक्रिया पुर्याएर जोकोहीले सजिलै सामान बेच्न र किन्न सक्छन्,' अदिलले भने, 'यसका लागि कहीँ जानु पर्दैन। घरै बसेर एपमा सबै काम हुन्छ।'
सबभन्दा पहिले गुगल प्ले स्टोर वा एप स्टोरमा गएर थ्रिफ्टको (Thriftko) एप डाउनलोड गर्नुपर्छ र आफ्नो अकाउन्ट खोल्नुपर्छ। नाम, ठेगाना, फोन नम्बर, इमेल र पासवर्ड राखेपछि अकाउन्ट बन्छ।
अकाउन्ट बनेपछि अब एपमा अरूले बेच्न राखेका लुगा वा सामानको फोटो देख्न सकिन्छ।
आफ्नो सामान बेच्न मन भए एपको तल भागमा लेखिएको 'Sell' मा थिच्नुपर्छ। त्यहाँ फोटो हाल्ने ठाउँ आउँछ। आफूले खिचेको सामानको फोटो छानेर त्यसमा अपलोड गर्नुपर्छ।
त्यसपछि सामानको नाम (Name), महिला वा पुरूष कसका लागि हो (Gender), साइज (Size), सामानको अवस्था (Condition), रङ (Colour), ब्रान्ड (Brand), मूल्य (Price) लगायत उल्लेख गर्नुपर्छ।
बेच्ने व्यक्तिले सामानको भाउ आफै तोक्न सक्छन्। यसमा एउटा कुरा भने ख्याल गर्नुपर्ने अभिषेकले बताए।
'बेच्ने लुगा वा सामान राम्ररी सफा गरेर मात्र दिनुपर्छ,' अभिषेकले भने, 'थ्रिफ्टकोले भने प्लेटफर्मको रूपमा काम गर्छ।'

त्यस्तै किन्न चाहनेले बिक्रीमा राखिएका सामानको फोटोमा थिच्नुपर्छ। त्यहाँ सामानबारे माथि भनिएझैं विवरण हुन्छ। त्यहाँ उल्लिखित मूल्यमै किन्नुपर्छ भन्ने छैन। बिक्रेतासँग मोलमोलाइ गर्न सकिन्छ। दुवै पक्षको सहमतिमा मूल्य निर्धारण गरिन्छ र किन्ने वा नकिन्ने भन्ने टुंगो हुन्छ।
'यसरी सामान किन्ने प्रक्रिया पूरा भएपछि अब के के हुँदैछ भनेर एपबाटै हेर्न सकिन्छ। एपमा सामान डेलिभरी भइरहेको छ कि छैन, त्यो पनि हेर्न सकिन्छ,' अदिलले भने, 'बिक्रेतादेखि सामान क्रेतासम्म पुगेर, गुणस्तर हेरेर किन्ने वा बेच्ने पक्का भएपछि बल्ल यो प्रक्रिया सकिन्छ।'
ठाउँ हेरेर १०० देखि २०० रूपैयाँसम्म डेलिभरी शुल्क भने लाग्छ। डेलिभरी नेपालभर हुन्छ।
यसरी हामीले आफूसँग भएका पुराना वा प्रयोगमा नआएका नयाँ सामान थ्रिफ्टकोमा बेचेर व्यवस्थापन गर्न सक्छौं। त्यस्तै धेरै पैसा खर्च गरेर सामान किन्न नचाहने वा नसक्नेलाई यो प्लेटफर्म किनमेलका लागि उपयुक्त हुन सक्छ।
'सामान किन्न वा बेच्न कहीँ जानै पर्दैन। एपमै सबै काम हुन्छ। यो सुविधाले धेरैलाई सजिलो हुन्छ,' उनले भने।
उनका अनुसार यो प्रक्रियामा थ्रिफ्टकोले बिक्रेताबाट कमिसन पाउँछ। बिक्रेताले बेचेको मूल्यको ८० प्रतिशत लैजान्छ र २० प्रतिशत थ्रिफ्टकोलाई दिनुपर्छ। अर्थात् १०० रूपैयाँमा सामान बेचेको भए २० रूपैयाँ थ्रिफ्टकोले लिन्छ।
त्यस्तै कसैले सामान अरू मानिसलाई होइन, कम्पनीलाई नै बेच्छु भन्न पनि पाउँछ। यस्तोमा बिक्रेताले बिक्री मूल्यको ७५ प्रतिशत रकम पाउँछ।
‘किन्ने, बेच्नेसँगै थ्रिफ्टकोमा भाडामा पनि लुगा पाइन्छ। दान गर्ने सुविधा पनि थप्ने योजना छ,’ अदिलले भने।
हाल उनीहरूसँग डेलिभरीका लागि तीन–चार जना मान्छे छन्। कहिलेकाहीँ राइड सेयरिङ एपबाट पनि पठाउँछन्।
थ्रिफ्टको प्रचार उनीहरू सामाजिक सञ्जालबाटै गरिरहेका छन्। प्रचारका लागि उनीहरू विभिन्न शैलीमा भिडिओहरू बनाउँछन्।
कहिले बाटामा हिँडिरहेका मानिससँग गफ गर्दै उनीहरूले लगाएको लुगाको मूल्य सोध्छन्। अनि त्यो लुगा थ्रिफ्टकोमा बेच्ने हो भनेर सोध्छन्।
'यसरी विभिन्न तरिकामा हामीले प्रचार गरिरहेका छौं,' अभिषेकले भने।
पुराना साथी अदिल र अभिषेक थ्रिफ्टको चलाउनुअघि अरू नै काममा व्यस्त थिए। अभिषेक दुर्गम ठाउँ गएर विभिन्न विकासे कार्यक्रम गर्थे भने अदिल डिजिटल मार्केटिङ गर्थे।
एक वर्षअघि उनीहरूले थ्रिफ्टकोबारे सोचेका हुन्।
‘पहिले हाम्रो एक साथीले यस्तै व्यवसाय गरेको थियो। हामीले त्यही सम्झेर यसबारे बजार बुझ्यौं। राम्रो लाग्यो र सुरू गरेका हौं,' अदिलले भने, 'अहिले कम्पनीमा हामी सबै गरी १५ जना जति काम गर्छौं।'
थ्रिफ्टकोमा सामान बेच्ने र किन्नेहरू बिस्तारै बढिरहेको उनीहरूले बताए।
अब चाँडै थ्रिफ्टकोको भौतिक पसल खोल्ने उनीहरूको तयारी छ। हल्का बिग्रेका, उध्रिएका लुगा मर्मत गर्न केही कर्मचारी राख्ने पनि सोचेका छन्। त्यस्तै क्याफे र योग गर्न बगैंचा पनि बनाउने योजना छ।