'म आन्दोलनमा आएको छु। अश्रुग्यासले आँखा पोलिरहेको छ। अहिले बोल्न सक्दिनँ।'
आयुषले आफ्नी दिदीलाई भनेको अन्तिम तीन वाक्य यही हो।
जबाफमा दिदीले भनेकी थिइन्, 'रूमाल भिजाएर अनुहार पुछ्नू, ठिक हुन्छ।'
त्यसपछि परिवारका कुनै पनि सदस्यसँग आयुषको कुराकानी भएन।
परिवारका सदस्यले एकैचोटि उनको शव देखे।
हामी कुरा गर्दैछौं, भदौ २३ गते जेनजी आन्दोलन क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १९ वर्षीय आयुष थापाको।
आयुषका बुबा सुशील थापा र आमा पुनमलाई दुई महिनापछि पनि आफ्ना छोरा यो धर्तीमा रहेनन् भन्ने विश्वास छैन। हरेक दिन, हरेक पल उनीहरूलाई छोराकै यादले सताइरहन्छ र जसले जे भने पनि एकदिन छोरा 'बाबा–आमा' भन्दै टुप्लुक्क घर आइपुग्छन् भन्ने लागिरहन्छ।
सुशील र पुनमलाई छोरा जेनजी आन्दोलनमा गएका थिए भन्नेसम्म थाहा थिएन।
त्यस दिन उनीहरू गाउँमै थिए। उनीहरूको घर बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ मा छ। आयुष उनीहरूका एक्ला छोरा हुन्। आयुषकी दिदीको विवाह भइसकेको छ।
सुशीलका अनुसार आयुषले नेपालगन्जकै आदर्श माध्यमिक विद्यालयबाट तीन वर्षअघि प्लस–टू पास गरेका थिए। त्यसपछि ब्रिटिस आर्मीमा भर्ती हुने सोचले उनी पोखरा गए र ६ महिना तालिम लिए।
तालिमकै बीचमा दाँत कीराले खाएको भन्दै निकालिदिएको उनी बताउँछन्।
'ब्रिटिस आर्मी हुने रहर थियो। सफल नभएपछि विद्यार्थी भिसामा फ्रान्स जान्छु भनेर ७–८ महिनाअघि काठमाडौं आएको थियो,' सुशीलले भने, 'फ्रेन्च भाषा पढेर भिसा पनि पाइसकेको थियो।'
आयुषले धापासीस्थित आफन्तको घरमा बसेर फ्रेन्च भाषा पढेका हुन्। भाषा परीक्षा दिएर उनी गाउँ फर्केका थिए।
त्यसैबीच फ्रान्सको भिसा लाग्यो भन्ने खबर पाएपछि उनी टिकट बन्दोबस्त गर्न भदौ पहिलो सातातिर काठमाडौं आएको सुशील बताउँछन्।
विद्यार्थी भिसामा फ्रान्स जाने तयारीमा रहेका आयुषले कलेजलाई साढे ६ लाख रूपैयाँ पनि बुझाइसकेका थिए।
तर भदौ २३ थापा दम्पतीको जिन्दगीमा यस्तो आँधी बनेर आयो, जसले एक्लो छोरा मात्र खोसेन, उनीहरूको बाँकी जीवन नै अन्धकार बनाइदियो।
सुशील र पुनमले भदौ २३ को राति नै आफ्ना छोरा जेनजी आन्दोलनमा सहभागी हुँदा घाइते भएको खबर पाए।
खबर सुनेर सुरूमा त उनीहरू अलमलिए। विदेश जान काठमाडौं गएका छोरा कहाँबाट आन्दोलनमा पुगे भनेर अचम्म माने।
'जिन्दगीमा कहिल्यै आन्दोलनमा नहिँडेको छोरा त्यसरी एकाएक जाला भनेर त कल्पनासम्म गरेका थिएनौं,' सुशीलले भने, 'त्यसमाथि युवा विद्यार्थीहरूको आन्दोलन भएकाले हुलमुलमा परेर सामान्य घाइते भयो होला भन्ठान्यौं। स्कुल ड्रेस लगाएका विद्यार्थीहरू सहभागी आन्दोलनमा प्रहरीले गोली नै चलाउला भन्ने त चिताएकै थिएनौं।'
यही सोचेर सुशीलले आफ्नी पत्नी पुनमलाई मात्र काठमाडौं पठाउन खोजेका थिए।
तर जसै उनले आयुषलाई ट्रमा सेन्टरको आइसियूमा राखिएको खबर पाए, उनले मन थाम्न सकेनन्।
भोलिपल्ट बिहान दुवै जना नेपालगन्जबाट काठमाडौं आइपुगे।
'विमानस्थलमा झर्नासाथ हामी सरासर ट्रमा सेन्टर पुग्यौं,' सुशीलले भने, 'त्यहाँ पुग्दा आयुषलाई टिचिङ अस्पताल पठाइयो भन्ने कुरा आयो।'
त्यति बेलासम्म उनलाई नयाँबानेश्वरमा प्रहरीको गोली लागेर आयुषको ज्यान गइसक्यो भन्ने थाहै थिएन। थप उपचार निम्ति टिचिङ अस्पताल पठाइएको होला भन्ने उनले सोचेका थिए।
ट्रमा सेन्टरमा उनका आफन्त पनि उपस्थित थिए।
अहिले उनी सम्झन्छन् — ती आफन्तले सान्त्वना दिँदै 'तपाईंलाई थाहा छ नि?' भनेर सोध्थे। उनी जबाफमा सामान्य ढंगले 'थाहा छ' भन्थे।
खासमा आफन्तको सोधाइ 'आयुषको मृत्यु भइसकेको थाहा छ नि?' भन्ने थियो। सुशीलले भने 'टिचिङ अस्पताल पठाइएको' भन्ने बुझेका थिए।
त्यस दिन काठमाडौंमा लागेको कर्फ्यु आदेशबीच ट्रमाबाट टिचिङ अस्पताल पुगेपछि मात्र उनले आयुषको मृत्यु भइसकेको थाहा पाए।
छोराको मृत्युको खबर सुनेपछि पुनम त बेहोसजस्तै भइन्।
अस्पतालमा रूवाबासी चल्यो।
घाइते छोरालाई लिन आएका आमाबुबाले अन्तिमपल्ट उनको बोलीसमेत सुन्न पाएनन्।
'छोराको मृत्युले हामीलाई आकाशै खसेजस्तो भएको थियो,' सुशीलले भने, 'त्यो दिन कसरी बित्यो भन्नेसम्म हेक्का छैन।'
उनीहरू दिनभरि टिचिङ अस्पतालमै बसे र साँझतिर धापासीमा रहेको आफन्तको घर गए।
छोराको मृत्युको खबर पाए पनि तुरून्तै शव बुझ्न नपाएको सुशील बताउँछन्।
'पोस्टमर्टम सकेर हप्तादिनपछि मात्र हामीलाई शव बुझाइयो,' उनले भने, 'फ्रान्सको भिसा आयो भनेर काठमाडौं गएको छोरालाई बाकसमा बोकेर हामी घर फर्कियौं र नेपालगन्जमै अन्त्येष्टि गर्यौं।'
उनले अगाडि भने, 'अरूले हेर्दा एक जना गयो भन्ने होला, हाम्रो लागि त ऊ संसार थियो। अरूका लागि केही दिनको शोक हो, हाम्रो लागि त जिन्दगीभरि नभरिने घाउ हो।'
पछिल्लो समय आयुष लगायत जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएकामा सुशीललाई सन्तोष छ, तर यी सहिदहरूको बलिदान खेर जाला कि भन्नेमा उनी चिन्तित पनि छन्।
क्षतिपूर्ति र सहिद घोषणा सँगसँगै उनीहरूले न्याय पाउनुपर्ने र जुन राजनीतिक सुधार र सुशासनका लागि ज्यान दिए, त्यो पूरा हुनुपर्ने उनी बताउँछन्।
'धेरैले छोरा गइसक्यो अब जे गरे पनि केही हुँदैन भन्छन्,' उनले भने, 'म चाहिँ छोराले न्याय पायो भने मन बुझाउने एउटा बाटो त हुन्छ नि भन्छु।'
यति मात्र होइन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रमुख जिल्ला अधिकारी छविराज रिजाल लगायत जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ।
'कलिला विद्यार्थीहरू भएको जुलुसमा किन यति धेरै बल प्रयोग गरियो? किन यति ठूलो हिंसा भयो? यसबारे छानबिन हुनैपर्छ,' उनले भने।
'हामीकहाँ राजनीतिक परिवर्तनका लागि थुप्रै आयुषहरूले पटक पटक ज्यान दिएका छन्। हरेकचोटि उनीहरूको बलिदान खेर गएको छ। यसपालि चाहिँ त्यस्तो नहोस्। फेरि अर्को परिवर्तनका लागि फेरि अर्को आयुषले ज्यान दिनु नपरोस्!'
***
यी पनि पढ्नुहोस्: