सामाजिक सन्जालमा हरदम सक्रिय रहने धरानका मेयर हर्क साम्पाङले बुधबार फेसबुकमा हँसिलो इमोजीसहितको एउटा स्टाटस लेखे- म गएर नबोल्दिएको भए, समर्थन नगरेको भए २ हजार/२५ सइ जतिमा सीमित हुनेथ्यो, ११ हजार कट्दैनथ्यो!’
कसैको नाम उल्लेख नगरी र कसैलाई ट्याग पनि नगरी साम्पाङले गरेको यो कटाक्ष कोशी प्रदेशका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमतिर लक्ष्य थियो।
अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङको पार्टीका रूपमा चिनिएको उज्यालो नेपाल पार्टीमा थेगिम आबद्ध भएपछि मेयर साम्पाङले उनीविरूद्ध रोष प्रकट गरेका थिए।
जेनजी आन्दोलनयता नयाँ राजनीतिक दलहरू खुल्ने क्रम ह्वात्तै बढेको छ।
यहीक्रममा मेयर साम्पाङ आफैले पनि श्रम संस्कृति पार्टी खोलेका छन्। यो दल निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।
२०८१ वैशाखमा भएको इलामको उपनिर्वाचनमा आफूले भरमग्दुर सहयोग गरेका नेता थेगिम कुलमानको दलतिर लागेपछि मेयर साम्पाङले असन्तोष जनाएका थिए।
संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाममा त्यसबेला उपनिर्वाचन हुँदै थियो। त्यहीबेला कोशी प्रदेशमा भने कोशी नाम खारेज गरी पहिचानमा आधारित नाम राख्नुपर्ने मागसहित आन्दोलन चलिरहेको थियो।
प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको अगुवाइमा चलेको त्यही समितिका संयोजक थेगिम पनि इलाममा स्वतन्त्र रूपमा उपनिर्वाचन लड्दै थिए।
कोशीका पहिचानवादी शक्तिहरू सबैले थेगिमलाई समर्थन गरेका थिए। त्यहीबेला धरानका मेयर साम्पाङ पनि उनको पक्षमा बलियो गरी उभिएका थिए। उनी चुनाव प्रचारमा खटिएका थिए। तर, इलाममा पहिचानवादी शक्तिहरूले सोचे जसरी सफलता पाएनन्।
सुवास नेम्वाङका छोरा सुहाङले एमालेबाट चुनावी सफलता प्राप्त गर्दा कांग्रेसका डम्बर खड्का दोस्रो भए। पहिचानवादी उम्मेदवार थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भए।
२०७९ फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यही वर्षको चैत ५ देखि कोशीमा आन्दोलन सुरू भएको थियो। त्यो आन्दोलनमा एक जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए।
पहिचानवादीहरू अहिले पनि आन्दोलन जारी रहेको बताउँछन्।
आन्दोलन जारी रहेको भनिएकै बेला आन्दोलनकै संयोजक थेगिम भने नयाँ राजनीतिक दलको केन्द्रीय सदस्य बनेपछि उनीसँग हामीले कुराकानी गरेका छौं।
‘तपाइँ पहिचानको मुद्दा छोडेर उज्यालो पार्टीमा जानुभएको हो कि त्यो पार्टीले चाहिँ पहिचानको मुद्दा बोक्ने भएको हो?’ भन्ने हाम्रो प्रश्नको जबाफमा उनले कुलमान घिसिङसमेत आवद्ध उज्यालो पार्टीले पहिचानको मुद्दा बोक्ने भएर आफू आवद्ध भएको बताए।
‘जुन पार्टीले संघीयता, लोकतन्त्र, समानुपातिक, समावेशी र धर्मनिरपेक्षताको मुद्दा बोकेको छ, संस्कृति, सामुदायिक समाजवाद, बहुसंस्कृतिवादलाई बोकेको छ, त्यो नै पहिचानको मुद्दा बोकेको पार्टी हुन्छ,’ थेगिमले भने, ‘हाम्रो विधानमा पूर्ण रूपमा त्यही कुरा उल्लेख पनि गरिएको छ।’
थेगिम संयोजक रहेको संयुक्त संघर्ष समितिमा आफूलाई पहिचानवादी दाबी गर्ने दल र विभिन्न जातीय मोर्चा आवद्ध छन्।
२०७९ यता उनैले संघर्ष समितिको नेतृत्व गरिरहेका थिए।
आफै कुलमानको दलमा आवद्ध भएपछि पहिचानवादी आन्दोलन के हुन्छ भनेर पनि हामीले उनलाई सोधेका छौं।
उनको दाबी छ, ‘यहाँ पहिचान भन्नासाथ लिम्बुवान नाम राख्नै पर्ने भन्ने हुन्न, जनजाति पार्टी भन्नै पर्छ भन्ने छैन। मंगोेल नेसनल अर्गनाइजेसन भन्नै पर्ने, खम्बुवान पार्टी भन्नु पर्छ भन्ने छैन। यो कतिपयको गलत बुझाइ हो। यी सबै कुराहरू बहुसंस्कृतिवाद, सामुदायिक समाजवाद, सङ्घीयता, समावेशी, समानुपातिक भन्ने शब्दहरूले बोक्छ।’
सोही कारण आफू उज्यालो पार्टीमा आबद्ध भएको उनको भनाइ छ।
‘उज्यालो पार्टी नेपालले यो सबै कुरा बोकेको छ,’ उनले भने, ‘ समावेशी, समानुपातिक, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता। यी कुराहरू बोकेपछि यसले पहिचानलाई पूर्ण रूपले बोक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ।’
झण्डै केही राजनीतिक दल र धेरैवटा जातीय मोर्चासहितको संयुक्त संघर्ष समितिलाई एउटै दल बनाएर अघि बढ्नुपर्ने मत पनि पहिचानवादी वृत्तमा बलियो थियो। तर, त्यही आन्दोलनका अगुवा अर्कै दलमा लागेका छन्। यसबारे नेता थेगिमले पुराना शक्ति असान्दर्भिक भइसकेको बताएका छन्।
पहिचानवादीहरुलाई नयाँ दलमा आवद्ध हुन अनुरोध गरेको तर नमानेको पनि उनले जानकारी दिए।
‘अब पुराना पार्टीहरू जस्तो जनमुक्ति पार्टी भयो, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भयो, जनता समाजवादी पार्टीहरू अब फेज आउट भइसके,’ उनले भने, ‘यिनीहरूले हिजो पनि वर्षौँसम्म केही पनि सकेनन्, अब पनि गर्दैनन्। त्यसैले हामीले नयाँ पार्टी निर्माण गरेर जाऔँ भनेर आह्वान पनि गरेका हौँ। तर उनीहरू चाहिँ आफ्नै हिसाबमा रहने हुँदाखेरि हामीले उहाँहरूलाई नयाँ पार्टीमा समाहित गर्न सकेनौँ।’
एकै पार्टीमा नभए पनि पहिचानवादी शक्तिसँग चुनावी सहकार्य हुनसक्ने उनले बताए।
‘बहुधार्मिक, बहुसांस्कृतिक, समावेशी, समानुपातिक, सङ्घीयता, लोकतन्त्रको कुरा उनीहरूसँग पनि छ। भोलि यो विचारका शक्तिहरूसँग चुनावी प्रक्रियामा मोर्चाबन्दी, गठबन्धन बनाएर जान सक्छौँ,’ थेगिमले भने, ‘सकेसम्म एउटा पार्टी निर्माण गर्ने, एकीकृतै गर्ने हो। नभए चुनावमा चाहिँ हाम्रो गठबन्धन हुन सक्छ, मोर्चाबन्दी हुन सक्छ।’
धरानका मेयर साम्पाङले आफूले सहयोग नगरेको भए २५ सय मत नकट्ने भन्दै कटाक्ष गरेको विषयमा पनि थेगिमले प्रत्युत्तर दिएका छन्।
‘इलामको उपनिर्वाचनमा धरानका मेयर साबले मलाई सहयोग गर्नुभएकै हो। उहाँसँग म आजीवन आभारी पनि छु, कृतज्ञता पनि म व्यक्त गर्छु, उहाँप्रति सम्मान जनाउँछु,’ उनले भने, ‘तर म एउटा स्वतन्त्र उम्मेदवार भएको हैसियतले र उहाँकै एउटा स्वतन्त्र उम्मेदवार भएर विजय प्राप्त गरेर मेयर हुनुभएको हैसियतले मलाई सहयोग गर्नुभयो। र, उहाँ र मेरो सहयोगको सम्बन्ध छ। उहाँले कटाक्ष नगरेको राम्रो। उहाँलाई मेरा छोराछोरीहरूले पनि खुलेर सहयोग गरेका छन्,’ उनले भने, ‘किनभने, धरानको त्यत्रो विकास गर्नको निमित्त मेरा दुईटा कलाकार छोराछोरीहरूले कतिपटक निशुल्क कन्सर्ट गरेका छन्? उहाँले त्यो पनि सम्झिनुपर्छ।’
धरानमा श्रमदान, आर्थिक सहयोग जुटाउनदेखि विविध क्रियाकलापमा कामहरू गर्न कलाकार छोराछोरीले पटक पटक सहयोग गरेको उनले बताए।
‘उहाँले चाहिँ लाखौँ होइन, करोडौँ पैसा जम्मा गर्न सफल पनि हुनुभएको छ। त्यो हैसियतबाट पनि मलाई सहयोग गर्नुभएको हो, हैन र ?’, मेयर साम्पाङसँग बीचमा कुनै संवाद नभएको र मेयरले पनि नचाहेका कारण आफू उज्यालो पार्टीतिर लागेको थेगिमले बताए।
‘उहाँ व्यस्त भएर फोन उठाउँदै नउठाउने, अनि फेरि उहाँको विचार र उहाँको सबै कुराहरू अक्षरशः पालना गर्नुपर्ने भन्ने त हुन्न,’ उनले भने, ‘यो लोकतन्त्रमा, यो समाजमा, यो जमानामा त्यो त हुँदैन। विचार मन्थन हुन्छ, छलफल हुन्छ। सही कुरालाई ओके भनिन्छ, नभएुमेरो गोरुको बाह्रै टक्का भनेर त चल्दैन।’