नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा ४८ बुँदे धारणा राखेका छन्।
सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले जेनजी आन्दोलन, समसामयिक राजनीति, फागुन २१ को चुनाव, पार्टी महाधिवेशनलगायत विषयमा केन्द्रित रहेर धारणा राखेका हुन्।
महामन्त्री शर्माले कांग्रेस देशको समयअनुकूल आफूलाई बदलिएर अघि बढ्नुपर्ने बताए।
‘हामीले कुनै पनि निर्णय गरिरहँदा समयको स्वरलाई सुन्न, बुझ्न र आत्मसात गर्न जरुरी छl कांग्रेस हामी केन्द्रमा रहेका पदाधिकारी र सदस्यको जति हो, त्यति नै ग्रास रुटमा रहेका साथिहरुको होl अझ बढी त हाम्रा शुभचिन्तकहरुको हो,’ उनले भने, ‘परिस्थितिवश छलफल लामो हुन गए पनि एकताबद्ध निर्णयमार्फत हामी हाम्रा शुभेच्छुकहरूमा नयाँ ऊर्जा भर्न सक्नेछौं नै, यो ऎतिहासिक दायित्व इमानका साथ निर्वाह गरेर रिफर्मसहित एकता अनि एकतामार्फत पुरानो भावनाको कांग्रेस/नयाँ संभावनाको कांग्रेस बलियो ढंगले स्थापित गरौंl बदलिएको र बलियो कांग्रेस, कांग्रेसका लागि भन्दा बढी देशका लागि जरूरी छl’
यस्तो छ शर्माको धारणा;
अबको कांग्रेस, अबको देश
जलेको विश्वास जगाऔं समाजमा
सिके प्रसाईंले लेख्नुभएको दुई वाक्य स्मरण गर्न आजको मितिमा म पार्टीका सबै आदरणीय नेता र सबै आदरणीय साथीहरूमा अनुरोध गर्दछुl
* पहिलो- हामी राजनीतिकर्मी कतिपय बेला आफ्नो स्तरबाट मात्र सोच्छौं र जनताको स्तरबाट सोच्दैनौं भने त्यसले दुष्परिणाम ल्याउँछ l
* दोस्रो- हामी सहजै भुल गर्छौं, तर सहजै स्वीकार्दैनौं, स्वीकार गर्दा शब्दमा स्विकार्छौं, व्यवहारमा सच्याउँदैनौं l
वर्षौंअघि उहाँले लेख्नुभएका यी शब्दमा रहेको सन्देश र मर्म गहिरोसँग आत्मसात गर्न सक्यौं भने भदौ २३ र २४ मा देशमा किन विद्रोह भयो, बुझ्न हामीलाई सहज हुनेछ l
दुई यक्ष प्रश्न;
देशमा फेरि पनि रगत बग्यो, अबोध युवाहरू मारिए, करोडौं मन जले, खर्बौंको धन जले, सबै भन्दा ठूलो विश्वास जल्योl एकापसको भरोसा जल्योl यस्तो बेला कांग्रेसको नेतृत्वमा रहेका हामीले आफूले आफैलाई सोध्नुपर्ने दुई यक्ष प्रश्न छन्-
१) नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा र विश्वास गरे, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र समयमै सम्बोधन गर्न किन सकेनौ?
२) यो परिघटनापछि परिस्थितिलाई सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा र इमान्दार आत्मालोचना गर्दै हामी नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्न सक्छौं कि सक्दैनौंl देशमा यस्तो स्थिति भविष्यमा दोहोरिन नदिन दुरगामी सोच र विश्वसनीय मार्गचित्र हामी देशसमक्ष पेस गर्न सक्छौं कि सक्दैनौं?
हामी जान्दछौं- चर्को आवाज बम बिष्फोटनको हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ, यो तथ्य हृदयंगम गर्दै विद्यमान विमतिको बेला हामीले संयम र परिपक्वतासाथ बिषय केलाउन र मार्ग पहिल्याउन जरूरी छ। समग्रमा GenZ बिद्रोह, अबको राजनीति र अबको बाटोका बारेमा म चार खण्ड ४८ बुँदामा आफ्नो धारणा राख्न चाहन्छु।
पहिलो: किन भयो GenZ विद्रोह?
भदौ २३ र २४ को घटनामा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
१) हामीले राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक या कुनै पनि प्रश्नमा लगातार जे उत्तर पस्किरहेका थियौँ, त्यसले नागरिक पंक्तिलाई छुन सकिरहेको थिएनl हामीले मापन गर्ने गरेको आर्थिक वृद्धि दर उसैपनी कमजोर छँदै थियो, जागिरको तलबले धान्न नसक्ने बजार मुल्यका सामु, जागीरको खोजिमा भौंतारिरहेको बेरोजगार युवाको अवस्था झन् कस्तो थियो अनुमान गर्न सकिन्छl
* जसले सुनिरह्यो- भ्रष्टाचारका प्रकरण,
* जसले देखि रह्यो-भौतिक पूर्वाधार निर्माणको ढिलाइ,
* जसले भोगिरह्यो - प्रसासनिक झन्झट
(के उ हामीसँग खुसी थियो होला?)
२) केही वर्ष यता नेपाल श्रीलंका बन्ने आर्थिक मन्दिको त्रास र मनोबैज्ञानिक दबाब चलिरहेको थियोl व्यवसायी खासगरी साना व्यवसायी हतोत्साहित बनिरहेका थिए l इलामका प्रेम आचार्यले संसद भवन अघि गरेको आत्मदाह चरम निराशाको `आत्मबिद्रोह´ थियोl त्यो प्रकृतिको चरम असन्तुष्टिलाई क्रमश नरम बनाउँदै, नयाँ आशा जगाउने गति बढाउन नसक्दा स्थिति प्रतिकुल बन्दै गयोl हामीले कमजोरीका दाउरा भेला गर्यौं, सलाइ जेन्जिले कोरे, कसैले आगो तापे, कसैले रोटी सेके।
३) राजनीतिमा `मौसम खराबीको सूचना´ ०७९ को स्थानीय निर्वाचनले दिइसकेको थियो, हामीले त्यसलाई गम्भीरतापुर्वक लिएनौं l ०७९ को आमनिर्वाचनबाट केही नयाँ दलको उदय मुलत हामीप्रति नागरिक असन्तुष्टिको संगठित प्रकट थियोl मौसममा आउँदै गरेको खराबीलाई चिनेर सरकार र संगठन दुवैमा अपेक्षित सुधार गर्न नसक्दा अन्तत त्यो असन्तुष्टि सडकमा पोखिन पुग्योl
४) वितेको ३४ बर्षमा देशमा ३० पटक सरकार परिवर्तन भयो l यो आफैंमा हाम्रो अयोग्यता, चरम अस्थिरता र लज्जास्पद तथ्यांक होl हामीले सोच्यौं- सरकार परिवर्तनको प्रत्येक मोडले आशा जगायो होला l तर लामो अस्थिरताले आशा होईन क्रमशः निराशामा धकेल्यो देशलाईl
५) सरकार बदलिए पनि नितिगत स्थिरता छ, अत समुन्नतिको यात्रालाई असर पर्नेछैन भन्न मिल्ने अवस्था पनि हामीले बनाएनौं l जुन देशमा विकासको प्राथमिकता बदलिइ रहन्छ, या लहडमा योजना बनाइन्छन् या भत्काइन्छन्, या राजनैतिक लाभको कोणबाट बजेट विनियोजन गरिन्छ , स्वभाविक छ त्यस्तो देश प्रगतिको अपेक्षित गतिमा अघि बढ्न सक्दैनl
६) यद्यपि अस्थिरताका बिचपनी बितेको ३० बर्षमा शिक्षा, स्वास्थ, सञ्चार र भौतिक पुर्वाधारको क्षेत्रमा अनेकन काम भएका थिए l निजि क्षेत्रको ब्यापक बिस्तार हाम्रै नितिको सहउत्पादन थियोl तर भ्रस्टाचारका अनेकन प्रकरणको चर्चा र सुशासनको अभावका कारण जेजति प्रगतिका काम भएका थिए ती सबै ओझेलमा परेl
७) संघीयतामा गयौं तर प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न ढिलाइ माथि ढिलाइ गरेर हामीले प्रदेश सरकारहरूलाई अपेक्षित रुपले सबल र सफल हुन सघाएनौं l सिंहदरबारसँग खुशी र सन्तुष्ट स्वयं मुख्यमन्त्रीहरू थिएनन् तर हामी भने दुरदराजका नागरिक पनि हामीसँग खुशी छन् भन्ने भ्रममा रह्यौंl
८) खेतीको समयमा किसानले सन्चले मल नपाउँदा, भुक्तानी माग्दै उखु किसान काठमाडौ धाउनुपर्दा, खेतको डिलमा उभिएर कुनै पनि किसानले सरकार जिन्दावाद भन्दै-भन्दैन। राज्यले तोकेको न्युनतम ज्याला पाउन पनि पटक पटक दबाब दिनुपर्दा कुनै श्रमिकले खुसीको गीत गाउन कसरी सक्छ? प्रशासनिक कार्यालयमा घन्टौं उभिएको सेवाग्राहीले झन्झट भोगेपछी सरकार र सरकारमा रहेकोे दलको प्रशंसा कसरी गर्नसक्छ?
९) हामीले विश्वविद्यालयहरूको नेतृत्व चयन गर्न कुनै मर्यादित बिधिको विकास यो ३० बर्षमा गरेनौंl भागबन्डाको सजिलो फर्मुला छँदै थियो विश्वविद्यालय पनि अनि अस्पतालको नेतृत्वसम्म पनि हामीले भागबन्डा टुंग्यायौंl उपयुुक्त व्यक्तिको चयन हुँदा पनि भागबन्डामा परेर नियुक्त भएको सन्देश जाने बित्तिकै `मेरिटोक्रेसी´ स्थापित नगरेको दोष हामीले भोग्नुपर्यो अनि नकारात्मक छविले आकार लियोl
१०) नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र ब्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदूत थिएl तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयौं हुँदा हुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा गर्यौंl कतिपय छनौट उपयुक्त नै थिए, तर मुलत यसले हाम्रो विधि उपर प्रश्न उठिरह्यो र नागरिक पंक्तिमा नकारात्मक छवि बढाउन योगदान पुर्यायोl
११) यसो फर्किएर हेरौं त- राजनीतिकरणले ग्रस्त हुन बाँकी कुन क्षेत्र थियो? नागरिक आजित थिए कि थिएनन् यसबाट? हरेक क्षेत्रको आफ्नै मर्यादा , आफ्नै अलग पहिचान, आफ्नै अलग व्यवसायिक मनोबिज्ञान हुन्छ भन्ने गहिरो वास्तविकता बुझ्न हामीले किन चाहेनौ? किन हरेक ठाउँमा हामीलाई `आफ्ना´ मान्छे चाहि ? यसले दिने दुष्परिणाम अनुमान नगर्नु हाम्रो गम्भीर भुल थियोl
१२) हाम्रा कतिपय व्यवहारले नागरिकको असन्तुष्टिको आगोमा क्रमशः चरू हालिरहेका थिए l महिना दिनमा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुनु नपर्ने, बजेट निर्माण गर्दा अमुक-अमुक क्षेत्रमा रकम लग्न अर्घेल्याई गरियो भन्ने खबर आउनेl सुशासन स्थापित गर्ने जिम्मा बोकेको मन्त्रीले नै त्यसमा आघात पुर्याउनेl सम्झौं त- GenZ प्रदर्सनको दुई दिन अघि एक मन्त्रीको मोटरले एक बालिकालाई ठक्कर दिएर भागेको घटना के सभ्य समाज सुहाउँदो बिषय थियो? विल्कुलै थिएनl
१३) वैदेशिक रोजगारीबाट फर्किंदा कतिपय युवाले एयरपोर्टमै राम्रो व्यवहार नपाएको अप्रीय खबर पटक पटक सार्वजनिक भएका थिएl त्यसलाई नियन्त्रण गरेर सम्मानजनक वातावरण बनाउन नसक्नु हाम्रो कमजोरी थियोl घटना एकदुई भए होलान् तर हामीले पठाएको रेमिट्यान्सले देश चल्ने अनि हामी माथी यस्तो व्यवहार गर्ने भन्ने मनोविज्ञान चाहिँ लाखौंमा गएको थियोl
१४) सामाजिक संजालसम्बन्धी विधेयक सत्ता गठबन्धनमा सहमति बेगर सरकारले दर्ता गरेको थियोl त्यसप्रति बिशेषत युवाहरूमा रोष छँदै थियो, संजालहरु नेपालमा दर्ता गर्न यसकारण अनिवार्य जरुरी छ भन्ने `न्यारेटिभ´ विकास नगरी बन्द गर्दा र त्यसले उत्पन्न गर्ने प्रतिक्रियाले गम्भीर दुष्परिणाम ल्याउनसक्छ भन्ने आकलन गर्न नसक्दा अन्ततः त्यसले देशलाई GenZ बिद्रोहमा पुर्यायोl
१५) तत्कालीन मुख्य कारण सामाजिक संजाल बन्द देखिएपनी यो बिद्रोहका पछिल्तिर थुप्रै राजनैतिक, आर्थिक , सामाजिक कारण थिएl असन्तुष्टि र निराशाको मैदानमा घुसपैठ गरेर त्यसलाई ध्वंसमा पुर्याउनेहरूले त मौकाको उपयोग गरेनै तर मानवीय क्षति बेगर भिड व्यवस्थापन गर्ने चुस्त र प्रबल रणनीति राज्य संयन्त्रबाट फेरिपनी प्रस्तुत भएन, यो दुर्बल र दु:खद चित्रको चिरफार अझै जरुरी छ l
१६) समग्रमा भदौ २३ र २४ को समीक्षा पूर्वाग्रहमुक्त भएर आत्मालोचित मनोबिज्ञानले गर्न जरूरी छ l नागरिकमा रहेको प्रश्न, असन्तुष्टि र निराशाको एकएक कारण पहिचान नगरी हामी सतही विश्लेषण मार्फत कस्तै औषधिले पनि दीर्घकालीन उपचार गर्नसक्ने छैनौं l यसमा सर्वप्रथम हामी स्पष्ट हुनुछ र विगतमा लामो या छोटो अवधि सरकारमा बसेका प्रत्येक दललाई विश्वासमा लिनुछ l
१७) गल्ती पहिचान गर्ने, आत्मसात गर्ने, आत्मालोचना गर्ने कर्मले नयाँ ढंगले अघि बढ्ने संकल्पलाई विश्वसनीय बनाउनेछ l जिम्मेवार व्यक्ति र जिम्मेवार दलले यसलाई सहज ढंगले ग्रहण गर्ने सामर्थ्य राख्नुपर्छ l हामी जान्दछौ- हाम्रो नवीन यात्राको प्रारम्भ बिन्दु यहि होl
दोस्रो; मुद्दा पहिचान र सम्बोधन
१८) विगतमा भएका प्राय सबै परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएका थिए, मधेस आन्दोलनले संघीयताको माग बलियो ढंगले अघि सारेपछि संवाद र समन्वय साथ संविधानमा व्यवस्थित गर्ने कार्य अन्ततः नेपाली कांग्रेसले नै गरेको थियो l पछिल्लो समय GenZ लगायत नवयुवाले अघि सारेका मुद्दा र भावनाको सम्बोधन पनि अन्ततः कांग्रेसनै गर्ने इच्छाशक्ति, संकल्प र योजना निर्माण गरेर हामी अघि जानुछl
१९) यसो गरिरहँदा विगतमा ०६२/६३ को जनान्दोलन र मधेस आन्दोलनले स्थापित गरेका उपलब्धिलाई कुनै असर नगरी त्यसलाई अझ समुन्नत बनाउनेतर्फ हामीले हेक्का राख्न जरूरी छl पछिल्लो आन्दोलनलाई सम्बोधन गर्न अघिल्लो आन्दोलनले खडा गरेका स्तम्भहरु भत्कायौं भने त्यसले भोलि अर्को बिद्रोहका लागि मार्गप्रशस्त गर्नेछl यसलाई गहन रुपमा बुझ्न हामीले सबै दल र GenZ प्रदर्शनका अगुवा युवाहरूलाई खुला संवादमार्फत विश्वासमा लिनुपर्छl
२०) GenZ प्रदर्शन हुँदैगर्दा ३ मुख्य माग अघि सारिएको थियो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर र सुशासन स्थापना गर l यसमध्ये एउटा पूरा भइसकेको छ, बाँकी दुई पूरा गर्न सरकार र दलहरूले साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको व्यवहार प्रस्तुत गर्न जरुरी छl
२१) विगतका आन्दोलनहरूले शासन प्रणाली कस्तो हुने, भन्ने विषयलाई केन्द्रमा राखेका थिए l त्यसअनुरुप लोकतान्त्रिक शासन प्रणाली देशमा स्थापित छl GenZ बिद्रोहले त्यो प्रणाली भित्र मुख्य रूपमा `सुशासन´ खोज्यो, नवयुवाहरूको यो उद्घोष, संकल्प र सपना हामी सबैको साझा दायित्व थियो, दायित्व होl भ्रष्टाचार नियन्त्रण निर्मम ढंगले गर्दै सुशासन स्थापित गर्न हामी सफल भयौं भने अन्ततः श्रेय GenZ लाई नै जानेछ, जानुपर्छ l तर हेक्का राखौं- अलमल र अयोग्यताले यो भावनामा तुषारापात भयो भने, भविस्यमा Gen-Alfa को नेतृत्वमा अर्को बिद्रोह हुनसक्छ l त्यस्तो स्थिति आउन नदिने संयुक्त जिम्मेवारी र कर्तव्य दलहरू र GenZ सबैको होl
२२) कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने l कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने l यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ l २३ गतेको घटनाको निष्पक्ष अनुसन्धान र कार्वाहीको बिषयमा तत्कालीन सत्ता पक्ष रहेका नाताले हामी स्पष्ट रुपले प्रतिबद्ध छौं, प्रतिबद्ध रहनुपर्छ l सँगैमा २४ गतेको ध्वंसको एकएक दोषीलाई कानुनी कठघरामा उभ्याउने बिषयमा GenZ अगुवाहरु दृढ़ र स्पष्ट ढंगले बोल्न र प्रतिबद्ध रहन जरूरी छl
घोषणा गरिएको शान्तिपूर्ण आन्दोलन भित्रको हिंसात्मक पाटोलाई आफ्नो काँधबाट उतारेर जोजो दोषी छन् , तिनैलाई त्यसको सजायको भारी बोकाउन GenZ युवाहरूले किमार्थ ढिलाइ गर्नुहुन्न l
तेस्रो; लोकतान्त्रिक प्रणालीमा समयानुकूल `रिफर्म´
आजको मितिमा नेपाल संसदीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बाटोमा छ र आगामी दिनमा पनि यहि बाटोबाट समुन्नतिको यात्रामा अघि बढ्नेछ l तर यहि प्रणालीभित्र रहेर काममा गति बढाउन, स्थिरता राख्न र सुशासन कायम गर्न निस्चित केही रुपान्तरणका कार्य गर्न जरुरी छ l
२३) आगामी संसदको पहिलो अधिवेशनमा प्रस्तुत गरेर पारित गर्नेगरि सरकार, राजनैतिक दलहरू र GenZ प्रतिनिधि समेतबीच आमनिर्वाचनमा जानुपुर्व `प्रणाली रिफर्म´ का केही महत्त्वपूर्ण पक्षमा साझा धारणा निर्माण गर्नु उपयुुक्त हुन्छl
२४) बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ बर्ष शासन गर्न नसकेको दु:खद विगत दृस्टिगत गरेर स्थिर प्रधानमन्त्री र स्थिर सरकारकालागि केही नवीन दृष्टि खोजी गरौं l सबै भन्दा पाको र सबैभन्दा जिम्मेवार राजनैतिक दलका रुपमा हाम्रो कर्तव्य बन्दछ अन्य राजनैतिक दल, बुद्धिजीवी, GenZ, विज्ञ सबैसँग खुल्ला संवाद गरौं l विभिन्न दृष्टिकोणहरु उपर बहस गरौं र एउटा साझा निष्कर्षमा पुगौं l
२५) केन्द्रीय समितिको अघिल्लो बैठकमा ०८२ असार २३ गते सोमबार मैले पाँचबर्षे प्रधानमन्त्रीका लागि Full Term Prime Minister Act को अवधारणा मौखिक रूपमा प्रस्तुत गरेको थिएँ l आज त्यो फेरि संक्षिप्त तर लिखित रूपमा प्रस्तुत गरेको छुl
पाँच वर्षे प्रधानमन्त्रीका लागि ५ स्टेपको प्रस्ताव
१) आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने l (अर्थात - दोस्रो / तेस्रो या अन्य दल पुरै अवधि सरकार बाहिर विपक्षमा बस्ने) l
२) पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा `विनर्स टेक अल´ को सिद्धान्त बमोजिम निर्वाचन अघिनै आयोगमा बुझाइएको बिज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्नेl (`ल्याट्रल इन्ट्री´ को अवधारणा बमोजिमको सूची दलहरूले व्यक्तिको योग्यता विवरणसहित निर्वाचन पुर्वनै सार्वजनिक गर्नुपर्ने)
३) पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने l
(मन्त्रिपरिषदको गठन एकै चरणमा गर्ने, प्रधानमन्त्रीले मन्त्रीको चयन सम्बन्धित मन्त्रालयको बिज्ञताका आधारमा गर्ने)
४) त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिनेl दुई वर्ष पुगेपछि त्यसको ३० दिनभित्र पुन विश्वासको मत लिनेे l पछिल्लो पटक विश्वासको मत लिँदा दुईबर्षे कामको निश्चित सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने टुंगो लाग्नेl विश्वासको मत पुन प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने।
(तर राष्ट्रिय अखण्डता र लोकतान्त्रिक संविधानको मर्ममा गम्भीर आघात पुर्याउने कार्य प्रधानमन्त्रीबाट भएको प्रमाणित भएमा कुनै निश्चित प्रक्रिया बमोजिम निजलाई संसदले पदमुक्त गर्नसक्ने l त्यस्तो मुद्दामा सांसदहरुले स्वतन्त्र ढंगले मत व्यक्त गर्न पाउने)
५) कोही पनि व्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री बन्न सक्नेl (वान, टु, थ्री, फोरको सिद्धान्त बमोजिम)
२६) निर्वाचन क्षेत्रको पुनरावलोकन गरेर संघ र प्रदेश दुवैमा निश्चित आकार घटाउन जरुरी छ l संघमा ११ र प्रदेशमा ५ सदस्यीय मन्त्रिमण्डल बनाउने l संवैधानिक परिषद मार्फतबाट हुँदै आएका नियुक्ति मध्ये कतिपयलाई खुला प्रतिस्पर्धा मार्फत निस्चित सूची तय गरेर अन्तिम छनौटमा पुग्ने l अख्तियारको पुनर्संरचना गर्न अनिवार्य जरूरी छ, छलफलबाट यसबारे नयाँ दृस्टी निर्माण गर्नेl कुनै पनि प्रकृतिको नियुक्तिमा Integrity Vetting System मार्फत व्यक्तिको नैतिकता र ईमानको परीक्षण अनिवार्य गर्नेl
२७) प्रणालीमा रिफर्मको छलफल र सहमतिपूर्वक संविधान संशोधन गर्न सकिने विषयहरू पहिचान गरेर त्यसमा नेपाली कांग्रेसले सर्वपक्षीय संवादका लागि नेतृत्वदायी अग्रसरता लिनुपर्छl यो हाम्रो यस अघिकै प्रतिबद्धता पनि हो l अब कार्यदल निर्माण गरेर विधिवत रुपले यो बिषयमा प्रवेश गरौंl
चौथो; पार्टीमा मनोबैज्ञानिक र व्यवहारिक `रिफर्म´ (`हामी अब नयाँ´ को संकल्प र मनोविज्ञान)
पार्टीको प्रधान नेतृत्व आदरणीय सभापति शेरबहादुर देउवा र उहाँको धर्मपत्नी माथि भौतिक आक्रमण कांग्रेसको समग्र जीवनको सबैभन्दा अनपेक्षित र दु:खद घटना होl घटना लगत्तै दुवै महामन्त्रीको संयुक्त वक्तव्यबाट यसको भत्सर्ना गर्दै घटनालाई निन्दनीय करार हामीले गरिसकेका छौंl सभापतिज्यूसँगको भेटमा पनि हामी सबैले स्थितिको संवेदनशीलताप्रति सहानुभूति र उहाँप्रति व्यक्तिगत आदर प्रकट गर्ने कार्य भएको छl
घटनाको १० दिनपछि संविधान दिवसका दिन कार्यसम्पादन समितिको बैठकमार्फत पार्टीमा `रिफर्म´ गरेर जाने विषय छलफलमा प्रवेश भएको छl हामीले संयम, एकता र परिपक्वतासाथ बदलिएको समय अनुकूल, बदलिएको चुनौती बलियो ढंगले सामना गर्ने ढंगले पार्टीमा रुपान्तरण सुनिश्चित गर्नुछl
२८) ड्राइभिङ सिटको छेउमा रहेर, सहकार्यको जिम्मेवारीका नाताले हाम्रो भागमा पनि असफलताको निश्चित अंश लाग्छl त्यसलाई स्विकार गरेरै हामीले भनेका हौँ- अब पुरानै ढंगले जान सकिन्न, नयाँ परिस्थिति विकास गर्न, मनस्थिति नयाँ बनाएर सोचौं l अंग्रेजीमा भनिन्छ You can’t create a new future, with old habits. निश्चयनै पुरानै आनिबानीले चलेर नयाँ भविस्य निर्माण गर्न सकिन्नl हामी सबैको साझा आत्मालोचनाले नयाँ यात्राको नयाँ ढोका खोल्न अग्रसर बनौंl
२९) जननायक विपि कोइरालाले ०१५ सालको निर्वाचनअघि पार्टीको कमजोरी केलाउँदै देशभरका साथीहरूलाई ७ बुँदे पत्र पठाउनु भएको थियो l त्यो पत्र हामीले आजको मितिमा फेरि पढ्न र आत्मसात गर्न जरुरी छl सो पत्रको दोस्रो बुँदामा बिपी भन्नुहुन्छ- `हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौँ। हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौँ ।´ आज देश बिषम परिस्थितिमा रहेका बेला बिपीले केलाउनु भएको यो कमजोरीबाट हामी जोगिएनौं भने हामी न पार्टीलाई ठिक ढंगले अघि बढाउन सक्छौं, न त देशलाई सहि नेतृत्व दिन सक्नेछौंl
३०) पार्टीमा आज `पुरानो भावनाको कांग्रेस/नवीन संभावनाको कांग्रेस´ को मनोविज्ञान, संकल्प र योजना जरुरी छl पार्टी भन्नु भिन्नभिन्न स्वभाव, समुदाय, योग्यता र प्रयासहरुको संमिश्रण होl हामीले एकलाई सुन्दै गर्दा, अर्कोलाई पनि उत्तिकै सुन्न र समेट्न जरुरी हुन्छl पटकपटक सत्तामा गएर बस्दा सँगसँगै नभएको जस्तो अमिलो अनुभूति पखाल्नु छl गाउँ गाउँमा पार्टी जोगाएर बसेका साथीहरू, प्रवासमा रहेर पनि देश, लोकतन्त्र र पार्टीको चिन्ता गरिरहेका साथीहरूको विश्वासलाई बलियो बनाउनु छ l तब सुनिश्चित हुनेछ `पुरानो भावनाको कांग्रेस/नवीन संभावनाको काँग्रेस´
३१) हामीले एकातर्फ लाखौं युवालाई पार्टीमा उत्साहपूर्वक सहभागी गराउने ढोका खोल्नु छ, अर्कातर्फ हामी कोही कसैले पनि निश्चित कुन समयमा सक्रिय राजनीतिबाट बिदा लिन उपयुक्त हुन्छ भन्ने सुसंस्कृत सोच र दृष्टि निर्माण जरुरी छ l हामीले नेतृत्वको सम्मानजनक बिदाइको सुविचारित दृष्टि कहिल्यै बनाएनौं, त्यसले न त नेतृत्वको हित गर्यो न पार्टीकोl
३२) सिके प्रसाईंका शब्द म फेरि उधृत गर्न चाहन्छु- जो हामिसँग असहमत छ, उसलाई हामी विरोधिमा गणना गर्नु विल्कुल गलत कुरा होl उहाँले भन्नुभएको वाक्यमा थोरै थपौं- समर्थन हामीले विचारलाई होइन, विचार समूहलाई गर्यौंl विमति हामीले तर्कसँग होईन, व्यक्तिसँग राख्यौंl सुझाव र विरोध दुई फरक कुरा हुन् भन्ने तथ्य गहिरोसँग आत्मसात गरेनौंl नेतृत्वलाई छाँया जस्तो भरोसा मात्रै होइन, `ऎना´ जस्तो स्पष्ट साथ पनि चाहिन्छl यो नगर्दा न नेतृत्वको हित हुन्छ न पार्टीकोl यो समग्र स्विकारोक्ति साथ हामीले नयाँ यात्रा सुरू गर्नुछl
३३) देश निर्माणको हुटहुटी बोकेका हरेक युवामा आशा बरकरार राख्न र विश्वास जगाउने दृष्टि र योजना l निजी क्षेत्रको मनोबल बिकास र समुन्नतिमा उत्साहवर्धक सहभागिता l बिदेशमा रहेका नेपालीलाई मताधिकार र नेपालको समुन्नतिमा भरपर्दो विश्वासको जोड l न्यून आय भएका नागरिकको जीवन स्तर उठाउने निश्चित समयको बलियो कार्यक्रमl मानव विकासका सुचकहरुको गहन विश्लेषण साथ विकासका प्राथमिकता तय गर्दै समुन्नतिको यात्रामा तीब्रताl यो सबै गर्न एक्यवद्ध ढंगले हामीले पार्टीमा रुपान्तरण र गति वृद्धि अनि देशमा सुशासन स्थापना गर्न अनिवार्य जरुरी छl
३४) हामीले पार्टीको विधान संशोधन गरेर केही अफ्ट्यारा फुकाउन र केहि नवीन बन्दोबस्त अनिवार्य गर्न जरुरी छl
क) युवा उमेर समूहलाई पार्टीमा व्यापक सहभागिता बढाउन `३० मुनिको ३०´ या `४० मुनिको ४०´ अवधारणा बनाएर सुरक्षीत स्थान सुनिस्चित गरौंl त्यसका लागि स्थानीय तहदेखिनै सबै तहमा सो उमेर समूहको अलग्गै प्रतिनिधित्व र अलग्गै प्रतिस्पर्धा निश्चित गरौं l सदस्यता लिएकै बर्ष प्रतिस्पर्धा गर्न पाउने प्रबन्ध मिलाऔं l
ख) एक महादेश एक केन्द्रीय सदस्य, मध्यपूर्वका लागि अलग एक केन्द्रीय सदस्यl त्यही क्षेत्रकै महाधिवेशन प्रतिनिधि उम्मेदवार र मतदाता हुने गरि निर्वाचन गर्ने प्रावधान राखौंl
ग) `ल्याटरल इन्ट्री´ आकर्षक र सबल बनाउन बौद्धिक र व्यवसायिक क्षेत्रबाट प्रतिनिधित्व गराउन, सो क्षेत्रसँगै गहन परामर्श गरेर प्रावधान निश्चित गरौंl केन्द्र र प्रदेश कार्यसमितिसँगै अन्य तहमा सहभागिताको प्रबन्ध गरेर, संसद, सरकार र स्थानीय तह समेतका लागि ढोका फराकिलो बनाऔं l
घ) पार्टीको अधिवेशन र त्यसमा हुने निर्वाचनलाई थप व्यवस्थित र नियमित बनाउन पार्टीको निर्वाचन समितिलाई एक स्थायी संरचनाका रूपमा विकास गरौंl
ङ) समग्रमा पार्टीलाई `रिब्रान्डिङ´गर्न सकिने गरि नितिगत, मनोबैज्ञानिक र ब्यवहारिक विविध पक्षमा रुपान्तरणका बिषयलाई गहन छलफल गरेर समाविष्ट गरौंl
समयमै नियमित नत्र विशेष महाधिवेशन:
३५) `नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा´ अहिलेको मुल प्रश्न यो होइनl नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैनl तर बिशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२) को स्पस्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छl
३६) ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न होl विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनकै आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछl यसमा हामी द्विविधामा पर्नुहुन्नl
३७) महाधिवेशनका सम्बन्धमा हामीसँग मात्र ३ विकल्प छन्:
पहिलो विकल्प- १५ औं महाधिवेशन पुस १६-१९ l बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको यो ऎतिहासिक तिथिमा महाधिवेशन सम्पन्न गरेर पार्टीभित्र एकता अभिवृद्धि गर्दै सिंगो देश समक्ष फेरिपनी राष्ट्रिय एकता र मेलमिलापको अपील गर्नेl
३८) पुस १६ मा नियमित महाधिवेशन गर्न अब भ्याइन्न, सकिन्न भन्ने निष्कर्ष निकाल्ने हो भने दोस्रो विकल्प- ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानको १७(२) बमोजिम माग गरे अनुरुप मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्नेl गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै र हामीभन्दा बढी मेहनत गर्नसक्ने साथीहरूको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैनl
३९) महाधिवेशन प्रतिनिधिको माग बमोजिम आयोजना गर्दा कतिपय ब्यवहारिक अलमल हुनसक्दछन् भन्ने व्याख्या भने, `केन्द्रीय समितीले चाहेमा´ भनेर बिधानको सोही दफामा उल्लेख भए अनुरुप विशेष महाधिवेशन बोलाउन सकिन्छ l यो तेस्रो विकल्प हो l
४०) चौथो विकल्प फेरि पनि नियमितमै जाउँ भनेर सहमतिपूर्वक बीचको बाटो खोज्ने हो भने पुसको अन्तिम साताको कुनै पनि मितिमा १५ औं महाधिवेशन गर्न सकिन्छl अन्ततः नियमित महाधिवेशनमै जाँदा त्यसले हामीलाई विधान परिमार्जन गरेर व्यापक युवा सहभागिता बढाउन सहज पनि हुनेछl
४१) महाधिवेशन आयोजना गर्दा त्यसले आमनिर्वाचनलाई असर गर्ला कि भनेर कतिपय साथीहरुले गर्नुभएको चिन्तालाई सम्मान गर्दै, म निवेदन गर्दछु- सुतेर बसेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियान मार्फत जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा पार्टीको प्रदर्सनलाई सकारात्मक बल पुग्नेछl
४२) नियमित महाधिवेशनको मिति घोषणासँगै प्रथमतः पार्टी एकताबद्ध भएको संदेश जानेछl
दोस्रो- विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्ने र नगर्ने साथीहरूका बीच जे जस्तो दूरी बनेको देखिन्छ, त्यो मेटिएर जानेछl तेस्रो - ६७४३ वडामा एकैसाथ कृयाशिल सदस्यता नविकरण र वितरणको अभियानले गति लिनेछl करिब ४ लाख नयाँ सदस्य बन्नेछन्l यो समग्र जुर्मुराहटले आगामी निर्वाचनका लागि पार्टीमा नयाँ जागरण पैदा गर्नेछl
४३) अहिलेको नेपाल भदौ २३ अघिको नेपाल होइनl त्यसैले `अघिको मनस्थिति´ अनुरुप होइन `पछिको परिस्थिति´ अनुरुप सोचौंl आजको विषम परिस्थितिमा नेपाली काँग्रेसले महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ ऊर्जा, नयाँ दृष्टि र नयाँ सन्देश देशलाई दिन सक्नैपर्छ l तब देशले पनि काँग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्नेछl
महाधिवेशनसँगै निर्वाचन तयारी, यसरी गरौं `प्राइमरी´
४४) महाधिवेशन प्रतिनिधि चयन गरिरहँदा उम्मेदवार सिफारिसको `प्राइमरी इलेक्सन´ त्यहिबेला एक अलग मतपत्र मार्फत गर्न सकिनेछl मेरो प्रस्ताव छ न्यूनतम १ महिलासहित ३ जनाको नाम संघीय क्षेत्रीय अधिवेशनका प्रतिनिधिले चयन गरेर पठाउन निर्देश गरौं, तब अन्तिम उम्मेदवार चयन गर्न पार्टीको संसदीय बोर्डलाई विगतमा भन्दा सहज हुनेछ l परिणाम हासिल गर्न यसले सार्थक बल पुर्याउने विश्वास छl
४५) समानुपातिकको सुची बुझाउनु पर्ने मितिका कारण महाधिवेशनलाई असर पर्न सक्दछ भन्ने बुझाइमा मेरो राय छ- सम्भवत त्यो मिति केहिपछि सर्नसक्छ, सर्दैन भनेर मानेर जाँदा बीचमै पनि सूची बुझाउन सकिन्छl यता सूची बुझाइरहँदा एक तहसम्मको अधिवेशन जारी रहेकोे अवस्थाले पार्टीलाई नोक्सान गर्दैनl
निकासको बाटो; फागुन २१ मै निर्वाचन
४६) GenZ बिद्रोह राजनैतिक-सामाजिक यथार्थ थियो, तर प्रतिनिधिसभाको विघटन न त्यो प्रदर्शनले माग गरेको थियो न त संविधानसम्मत कदम थियोl यसको संवैधानिक परिक्षण सम्मानित सर्वोच्च अदालतले गर्नेछनै तर एउटा बदलिएको परिस्थितिमा ताजा जनमत लिन मतदातामा जाने निर्णय हामीले गर्नुछ र सबै राजनैतिक दललाई निर्वाचनमा सहभागी बन्न अपील पनि गर्नुछl
४७) निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण सहज बनाउने जिम्मेवारी सरकारको होl यो दिशामा अपेक्षित प्रगति हुनसकेको देखिन्नl हामीले सरकारलाई दबाब दिएर जानुसँगै, देशव्यापी रुपमा पार्टी पंक्ति परिचालन गरेर चुनावका लागि आवश्यक माहौलको विकासमा बल पुर्याउनु पर्दछl
फेरि पनि रिफर्म सहितको एकता
४८) इतिहासमा देशको समयलाई कांग्रेसले आफू अनुकूल बदलेको थियोl आज काँग्रेसले देशको समय अनुकूल आफूलाई बदल्नुछ l हामीले कुनै पनि निर्णय गरिरहँदा समयको स्वरलाई सुन्न, बुझ्न र आत्मसात गर्न जरुरी छ l कांग्रेस हामी केन्द्रमा रहेका पदाधिकारी र सदस्यको जति हो, त्यति नै ग्रास रुटमा रहेका साथिहरुको होl अझ बढी त हाम्रा शुभचिन्तकहरुको होl
परिस्थितिवश छलफल लामो हुन गए पनि एकताबद्ध निर्णयमार्फत हामी हाम्रा शुभेच्छुकहरुमा नयाँ ऊर्जा भर्न सक्नेछौं नै, यो ऎतिहासिक दायित्व ईमानका साथ निर्वाह गरेर रिफर्म सहित एकता अनि एकता मार्फत पुरानो भावनाको कांग्रेस/नयाँ संभावनाको कांग्रेस बलियो ढंगले स्थापित गरौंl बदलिएको र बलियो कांग्रेस, कांग्रेसका लागि भन्दा बढी देशका लागि जरूरी छl