सेयर बजार विश्लेषण
सेयर बजारमा कति रूपैयाँ कमाउने उद्देश्यले लगानी गरिन्छ होला?
यो लगानीकर्ताहरूको लक्ष्य र उनीहरूले अपनाउने रणनीतिमा भर पर्छ। नेपाली बजारमा सामान्यतयाः साना लगानीकर्ताको उद्देश्य एक कित्ता सेयरमा कम्तीमा एक सय रूपैयाँ नाफा कमाउने हुन्छ।
यसो गर्दा कम्तीमा एक सय कित्ता सेयरमा लगानीकर्ताले १० हजार रूपैयाँसम्म कमाउन सक्छन्।
तर ठूला अल्पकालीन लगानीकर्ता (ट्रेडर्स) ले यत्तिको नाफा खोज्दैनन्।
त्यसो भए अहिले कति नाफाका लागि सेयर कारोबार भइरहेको छ त?
एक ब्रोकर भन्छन्, ‘अहिले त एक कित्तामा मात्रै चार–पाँच रूपैयाँ कमाइका लागि पनि सेयर कारोबार भइरहेको छ।'
एक कित्तामा जम्मा चार–पाँच रूपैयाँ फाइदाका लागि सेयर किनबेच! यो कुरा आफैमा अचम्म लाग्दो छ।
तर अहिले बजारमा यस्तै भइरहेको छ।
ती ब्रोकरले थपे, ‘अहिलेको बजारमा ट्रेडर्सले एक सय रूपैयाँसम्म मूल्य बढ्दा त्यही कम्पनीको सेयर चार–पाँच पटकसम्म किनबेच गर्न भ्याइसकेको हुन्छ।'
अहिले केही समयदेखि सेयर बजार २५ सय ५० देखि २६ सयभन्दा केही माथि पुग्दै र घट्दै गरिरहेको छ। यो भनेको करिब एक सय अंकबीच रहेर बजार तलमाथि गरिरहेको छ।
यस्तोमा दैनिक कारोबार गर्ने ठूला ट्रेडर्सले ठूलो प्रतिफल नखोज्ने अर्का ब्रोकर सन्तोष मैनालीले पुष्टि गरे।
'रूपैयाँकै आधारमा लगानीकर्ताहरूले कति नाफा खोजिरहेका छन् भन्नु सही नहुन सक्छ। प्रतिशतका आधारमा भने अहिले सानो अंकले घटबढ भइरहेको यो बजारमा ट्रेडर्सले खोज्ने दुई–चार प्रतिशतको लाभ मात्रै हो,' उनले भने।
मैनालीका अनुसार बजार उच्च अंकले घटबढ हुने समयमा १० देखि १२ प्रतिशत प्रतिफल खोजिरहेका यस्ता ट्रेडर्स अहिले दुई–चार प्रतिशत मूल्य बढ्दा पनि सेयर बेचिरहेका छन्।
प्रतिकित्ता सेयर मूल्य दुई–तीन सय रूपैयाँ हाराहारी रहेका कम्पनीमा दुई–चार प्रतिशतको लाभ भनेको चारदेखि ६ रूपैयाँ हो। त्यस्तै, सातदेखि आठ सय रूपैयाँमा रहेका कम्पनीमा यो दरको लाभ भनेको प्रतिकित्ता १४ देखि १६ रूपैयाँ हो।
यदि यस्तो कारोबारमा कुनै लगानीकर्ताले एक महिना कुरेर दुई प्रतिशत नै नाफा कमाउन सक्छ भने यस्तो नाफालाई वार्षिकीकरण गरेर हेर्दा २४ प्रतिशत हाराहारी हो।
अहिले बैंकहरूले मुद्दती निक्षेपमा वार्षिक अधिकतम ५.७५ सम्म ब्याजदर दिइरहेका छन्। त्यसको दाँजोमा यस्तो लाभ उच्च नै हो।
अहिले सेयर कारोबारको शुल्क निकै कम छ। अहिले दुई हजार पाँच सय एक रूपैयाँदेखि ५० हजार रूपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत शुल्क छ।
त्यस्तै, एक करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र त्यसभन्दा माथि जतिसुकै रकमको कारोबारमा ०.२४ प्रतिशत शुल्क लाग्छ।
यसरी हेर्दा २० लाख रूपैयाँसम्मको कारोबार गर्दा करिब ०.३३ प्रतिशत हाराहारी मात्रै शुल्क लाग्छ। अहिले एक वर्षभन्दा कम अवधिमा सेयर किनबेच गर्नेले नाफा रकममा ७.५ प्रतिशत पुँजीगत लाभ तिर्नुपर्छ।
चार रूपैयाँ नाफा हुँदा शुल्क र कर कटाएर एक कित्तामा ग्राहकलाई करिब दुईदेखि चार रूपैयाँ हात पर्ने एक ब्रोकर बताउँछन्।
तर यस्तो कारोबारमा जोखिम पनि त्यतिकै छ।
ब्रोकर मैनाली पनि भन्छन्, ‘ट्रेडर्सले सधैं नाफा कमाउँछन् भन्ने हुँदैन। उनीहरू धेरै नाफा पनि पर्खिँदैनन्। तर घटेर धेरै नोक्सान हुने अवस्था देखेमा सेयर बिक्री (स्टप लस) गरिहाल्छन्।'