सेयर बजार विश्लेषण
पछिल्लो समय सेयर बजार परिसूचकमा सामान्य घटबढ भइरहेको छ। धेरैजसो लगानीकर्ताहरू 'पर्ख र हेर' कै अवस्थामा देखिएका छन्।
तर यसबीच पनि थोरै अंकले घट्ने तर बढ्दा धेरै अंकले बढ्ने गरिरहेको एउटा क्षेत्र हो वित्त कम्पनी (फाइनान्स) समूह।
एक वर्षअघि ३७६५ विन्दुसम्म पुगेको वित्त कम्पनी अहिले २३८२ विन्दुमा आएको छ।
घट्दा एक प्रतिशतभन्दा कमले घट्ने र बढ्दा सोभन्दा धेरैले बढ्ने गर्दै यो समूहले दस कारोबार दिनमा २२१ अंक जोड्न सफल भइसकेको छ।
बुधबार पनि यो समूहमा लगानीकर्ताहरूको आकर्षण देखियो। यस दिन सबभन्दा धेरैले बढ्नेमा यही समूह रह्यो। यो समूह बुधबार तीन प्रतिशतले बढेर २३८२ विन्दुमा आइपुगेको हो।
आखिर किन बढिरहेको छ वित्त समूह?
वित्त कम्पनी समूह बढ्नुमा विविध कारण छन्। न्यून पुँजीका कम्पनी हुनु, मूल्य उच्च दरले घट्नु मुख्य कारण रहेको ब्रोकरहरू बताउँछन्।
न्यून पुँजीका कम्पनी
कम पुँजीका कम्पनी भएकाले यिनको सेयरको मागको तुलनामा आपूर्ति कम छ। केही ठूला लगानीकर्ताहरूले यस्ता कम्पनीको धेरैभन्दा धेरै सेयर किनेर थुपार्ने र आपूर्ति कम भएको समयमा मूल्य बढाएर बिक्री गर्ने प्रवृत्ति पहिल्यैदेखि देखिँदै आएको हो।
आपूर्ति कम भएकाले मूल्य बढ्दै जाने अनुमान लगानीकर्ताहरूमा छ।
'पहिले यो समूहमा केही कम्पनीको मूल्य उच्चसम्म पुगेकाले फेरि पनि मूल्य माथि नै जान सक्छ भन्नेमा लगानीकर्ताहरू आशावादी देखिएका हुन्,' एक ब्रोकरले भने।
२०८१ साउनयताको तथ्यांक अनुसार यस्ता कम्पनीका सेयर मूल्य कम्तीमा एक सय ५३ रूपैयाँदेखि बढीमा १३ सय रूपैयाँसम्म घटेका छन्। यो भनेको १८ प्रतिशतदेखि ६६ प्रतिशतसम्मको गिरावट हो।
मूल्य समायोजन गर्दै लगानीकर्ता
यो कम्पनीका सेयर पहिल्यै हुने लगानीकर्ताहरूले अहिले घटेको मूल्यमा सेयर किनिरहेका छन्। यसअघि उच्च मूल्यमा सेयर किनेकालाई अहिले घटेको मूल्य लागत समायोजन गर्ने अवसर बनेको छ। कतिपय लगानीकर्ताले यही कारण पनि सेयर किन्ने क्रम बढाइरहेका हुन्।
कम पुँजी भएकाले भोलि ठूला लगानीकर्ताहरू पसेर मूल्य बढाउँदा आफ्नो समायोजित मूल्यभन्दा माथि जान सक्ने आशमा पनि लगानीकर्ताहरू देखिएको ब्रोकरहरू बताउँछन्।
थप अवस्था नबिग्रिने अपेक्षा
पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जा लगानी नबढ्ने, उच्च खराब कर्जा, नाफामा संकुचनको अवस्थामा छ।
वित्त क्षेत्र पनि अपवाद होइन। त्यसैले अब अवस्था थप नबिग्रिने अपेक्षा लगानीकर्ताहरूमा रहेकाले पनि यो क्षेत्रमा लगानी बढेको हो। यद्यपि, यही क्षेत्रका केही कम्पनीको खराब कर्जा उच्च छ। अहिले केही कम्पनीको खराब कर्जा ४८ प्रतिशतसम्म छ।
त्यसैले कम्पनीको खराब कर्जाको अवस्था, त्यो उठ्ने दरमा सुधार भए वा नभएको हेरेर मात्रै लगानी गर्नुपर्ने ब्रोकरहरू बताउँछन्। नत्र जोखिममा पर्न सकिने ब्रोकर सन्तोष मैनाली बताउँछन्।
'बैंकहरूमा जस्तै वित्त कम्पनीको प्रतिसेयर आम्दानी, खराब कर्जा, कर्जा असुली दर, पुँजी कोष अनुपात र व्यवसाय विस्तारको अवस्था हेरेर मात्रै लगानी गर्नु सही हुन्छ,' उनले भने।
उच्च मूल्य उतारचढाव हुने यस्ता कम्पनीको सेयर मूल्य घटबढका आधारमा मात्रै लगानी गर्दा थोरै समयमा धेरै नाफा पनि हुन सक्छ भने मूल्य घट्दा उच्च दरमा नोक्सान समेत हुन सक्छ।
लगानीकर्ताले यस्ता पक्ष हेरेर आफै विश्लेषण गरेर मात्रै लगानी गर्नु सही हुने ब्रोकरहरूको भनाइ छ।