बैंकहरूले राष्ट्र बैंकमा राख्दै आएको रकम पहिलो पटक आठ खर्ब रूपैयाँ नाघेको छ। मंगलबारसम्ममा यस्तो रकम आठ खर्ब नौ अर्ब रूपैयाँ पुगेको हो।
बैंकहरूले निक्षेप संकलन उपकरणमार्फत् एक खर्ब ७० अर्ब रूपैयाँ र स्थायी निक्षेप सुविधा अन्तर्गत ६ खर्ब ३९ अर्ब रूपैयाँ राखेका हुन्।
निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदरमा पैसा राखेका हुन्। ३९ बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामा पनि तीन दिनको लागि तीन प्रतिशत ब्याजदरमा रकम राखेका हुन्।
राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तान्ने गर्छ।
त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।
लामो समयदेखि बैंकिङ प्रणालीबाट अपेक्षित दरमा कर्जा जान सकेको छैन। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।
केही समयअघि बैंकहरूले यसरी राष्ट्र बैंकमा राख्न थालेको रकम घट्दै दुई खर्ब ३३ अर्बमा सीमित हुन थालेको थियो। सोभन्दा अघि पनि यस्तो रकम चार खर्बसम्म पुगेको थियो। यस्तो रकम अहिले भने आठ खर्ब नाघेकोले बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ।
अहिले बैंकिङ प्रणालीमा १० खर्ब ९६ अर्ब हाराहारी रकम (तरलता) रहेको छ। गत असोज २९ गतेसम्म बैंकहरूको निक्षेप ७४ खर्ब ८२ अर्ब र कर्जा लगानी ५६ खर्ब ३७ अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ।
कर्जा लगानी नभएपनि बैंकहरूले यसरी बढी भएको रकम राख्ने आफ्नो पुरानो रणनीति भने परिवर्तन गरेका छन्।