सेयर बजारमा लगानी गर्नेहरूका लागि कतिखेर कुन कम्पनीको सेयर किन्ने र कुन कम्पनीको बेच्ने भन्ने निर्णय लिनु साँच्चै चुनौतीपूर्ण कुरा हो।
बजारका हल्ला वा ट्रेन्डले धेरैलाई छिटो निर्णय गर्न बाध्य बनाउँछ। तर सेयरमा सुरक्षित लगानी गर्न हो भने नियमित बजार विश्लेषण र तथ्यमा आधारित समीक्षा आवश्यक हुन्छ। सोचेर गरिएको लगानी नै अन्ततः सुरक्षित र फाइदाजनक हुनेछ।
यसका लागि लगानीकर्ताहरूले बजारको मनोविज्ञान, कम्पनीको नाफा–नोक्सान र सरकारका नीतिगत निर्णय मिहिन रूपमा केलाउनुपर्छ।
कुनै समयका उच्च मूल्य भएका जीवन बीमा कम्पनीहरूको मूल्य अहिले निकै घटेको छ। त्यसैले अहिले लगानीका लागि बीमा कम्पनीहरू पनि उपयुक्त हुन सक्ने ब्रोकरहरू बताउँछन्। यसमा उनीहरूले तीन कारण बताएका छन्—
मूल्यमा गिरावट
बजार घटेको अहिलेको समयमा जीवन बीमा कम्पनीहरूको सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। कुनै समय एक हजार रुपैयाँ आसपास र केही कम्पनीको सोभन्दा माथि मूल्य रहने गरेका यस्ता कम्पनीहरूको मूल्य अहिले निकै घटेको छ।
अहिले सेयर बजारमा १४ जीवन र लघु जीवन बीमा कम्पनी सूचीकृत छन्। यीमध्ये धेरैजसो कम्पनीको सेयर मूल्य १६ प्रतिशतदेखि ५९ प्रतिशतसम्म घटेका छन्। सेयर मूल्य २५ प्रतिशतभन्दा धेरैले घट्नेमा यो समूहका सातवटा कम्पनी छन्।
त्यसैले अहिले मूल्य उल्लेख्य रूपमा घटेको यस समयमा यस्ता कम्पनीको सेयर किन्न सकिने ब्रोकरहरू बताउँछन्।
राम्रो दरमा लाभांश दिँदै आएका कम्पनी
कम्पनीहरूको लाभांश वितरण दर राम्रै देखिँदै आएको छ। धेरैजसो कम्पनीहरूले १० प्रतिशतभन्दा माथि लाभांश वितरण गर्दै आएका छन् भने केहीको यस्तो दर २० प्रतिशतभन्दा धेरै छ।
जेनजी आन्दोलन र बाढी पहिरोको छैन प्रभाव
जेनजी आन्दोलनबाट भएको क्षति होस् वा असोज मध्यमा गएको बाढी पहिरोको कारण भएको क्षतिले निर्जीवन बीमा कम्पनीहरूमा अर्बौं रुपैयाँको दाबी परेको छ।
हुन त निर्जीवन बीमा कम्पनीहरूले पनि सबै दायित्व आफैले सकारेका छैनन्। तर जीवन बीमा कम्पनीहरूमा भने यस्तो घटनाको खासै कुनै प्रभाव छैन।
लगानीका लागि कुन कम्पनी छान्ने?
सेयर लगानीकर्ताहरूलाई चिन्तित बनाउने मुख्य प्रश्न यही हो। यसका लागि हामीले केही ब्रोकरसँग कुरा गरेका छौं।
उनीहरूका अनुसार बजार बढ्दा सबै कम्पनीको सेयर मूल्य बढ्नु स्वाभाविक हो। तर लगानीकर्ताहरूले सेयर किन्दा लाभांश दिने क्षमता भएका र वित्तीय रूपमा सुदृढ कम्पनी छान्नुपर्ने ब्रोकरहरू बताउँछन्।
यस्ता बीमा कम्पनी छान्दा कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ), प्रतिसेयर आम्दानी (ईपिएस) र नेटवर्थ राम्रो भएको कम्पनी छान्नुपर्ने ब्रोकरहरू बताउँछन्। त्यस्तै, जीवन बीमा कम्पनीहरूले जारी गर्ने बीमालेख (पोलिसी) को अवधि लामो हुन्छ। त्यसैले यस्ता बीमालेख बीचमा छाड्ने (नविकरण नगर्ने वा समर्पण गर्ने) पनि हुन्छ।
यस्तो दर कम्पनी अनुसार फरक–फरक हुन्छ। त्यसैले यस्ता सूचकमा पनि ध्यान दिनुपर्ने उनीहरू बताउँछन्।
केही ब्रोकरहरूका अनुसार पछि सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरूको व्यवसायमा राम्रो वृद्धि देखिएको र पुराना कम्पनीहरूको जस्तो मूल्य उच्च नरहेकोले अहिले बजार घटेको समयमा यस्ता कम्पनी छान्न सकिने सुझाव दिन्छन्।
तर लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण, सेयर मूल्यको ट्रेन्ड र बजारको जोखिम राम्ररी अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ। सेयर लगानीको निर्णय व्यक्तिगत विवेक र जोखिम सहने क्षमतामा आधारित हुने उनीहरू बताउँछन्।