आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ विन्दुमा पुगेको हो।
आइतबार कारोबार रकम पनि बढेको छ। गत बिहीबार सात अर्ब ५१ करोड रूपैयाँको कारोबार भएकोमा यो आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ।
कारोबारमा आएकामध्ये व्यापारमूलक बोहक सबै समूह बढेको छ। सबैभन्दा धेरै वृद्धि वित्त कम्पनी समूह र जीवन बीमा कम्पनी समूहमा देखिएको छ।
यी समूहमा क्रमशः ५.१७ प्रतिशत र ४.३५ प्रतिशतले मूल्य बढेको हो।
यसदिन तीन सय १९ लगानी उपकरण कारोबारमा आउँदा दुई सय ३७ वटाको मूल्य बढेको छ। ७० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
यसदिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले बढेको हो। यसदिन पनि हिमालयन बैंकको संस्थापक सेयरको सबैभन्दा रकमको कारोबार भएको छ।
बैंकको एक अर्ब ६६ करोड रूपैयाँको सेयर किनबेच भएको हो। पाकिस्तानी हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर कारोबार गरेर अभिलेखिकरण गरिएको हो।
यो सेयर नेशनल लाइफ इन्सुरेन्सले खरिद गरेको हो। बजारमा हिमालन बैंकको संस्थापक सेयर एक सय ३१ रूपैयाँको दरमा कारोबार भएको छ।