नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल अमेरिकाको वासिङ्टन डिसीमा आयोजित सार्क फाइनान्स गभर्नर्स ग्रुपको बैठकमा सहभागी भएका छन्।
उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा आयोजना गरिएको थियो।
बैठकको अध्यक्षता बंगलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरले गरेका थिए।
कार्यक्रममा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालका मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए।
तर, हालको राजनीतिक परिवेशका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा व्यक्त गरे।
उनले ती चुनौतीहरूलाई सम्बोधन गर्नका लागि नीतिगत सहजीकरण र अर्थतन्त्रको पुनरुत्थानतर्फ राष्ट्र बैंकले कदम चालिरहेको जानकारी दिए।
बैठकमा सहभागी केन्द्रीय बैंकका प्रतिनिधिहरूबीच सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति कार्यक्रम तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
बैठक उद्घाटन गर्दै बङ्गलादेश बैंकका गभर्नर मन्सुरले सार्क फाइनान्स ग्रुप क्षेत्रीय सहकार्य र असल अभ्यास आदानप्रदानको साझा मञ्चको रूपमा रहेको बताए।
सहभागी गभर्नरहरूले दक्षिण एसियाली अर्थतन्त्रबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए।
सो अवसरमा सार्क फाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंकलाई हस्तान्तरण गरिएको छ।
नेपालबाट गभर्नरसँगै राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. रामशरण खरेल र निर्देशक शरणकुमार अधिकारी पनि सहभागी थिए।
सार्क फाइनान्स ग्रुप सन् १९९८ मा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर र अर्थ सचिवहरूको सञ्जालका रूपमा स्थापना भएको हो।
यसलाई २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ११औं सार्क शिखर सम्मेलनले औपचारिक मान्यता दिएको थियो।
संस्थाको उद्देश्य क्षेत्रीय समष्टिगत आर्थिक नीति, मौद्रिक सहकार्य र वित्तीय समन्वयमा पारस्परिक सहयोग र विचार विनिमय प्रवर्द्धन गर्नु रहेको छ।