आइतबार कारोबार सुरू भएयता घट्दो क्रममा देखिएको नेप्से २५ सय विन्दुमा अडिएको छ।
यो क्रममा २४९३ विन्दुसम्म ओर्लिएको नेप्से बजार बन्द हुने अन्तिम समयमा केही अंक बढेको हो। बजार बन्द हुँदा नेप्से ७८.८३ अंकले घटेर २५०३ विन्दुमा आइपुगेको छ।
भदौ २४ गतेको प्रदर्शनको कारण बीमा कम्पनीमा परेको असर, असोजमा बाढीबाट जलविद्युत आयोजनाहरूमा गरेको क्षति, प्रदर्शनपछि सरकार बिस्तारमा देखिएको गतिरोध, धुमिल राजनीतिक परिदृश्य लगायतका कारण लगानी वातावरण बन्न सकिरहेको छैन। यसले पनि बजार घटाउन सहयोग पुगेको हो।
बजार घटेपनि कारोबार रकममा सुधार देखिएको छ। गत बिहीबार पाँच अर्ब २७ करोड रूपैयाँको सेयर किनबेच भएकोमा आइतबार भने ६ अर्ब ७० करोड रूपैयाँको कारोबार भएको हो। कारोबार रकम २७ प्रतिशतले बढेको हो।
बजार घटेको समयमा सेयर खरीद पनि बढिरहेको छ। बजार कुनै न कुनै समय बढ्छ र लाभ हुन्छ भन्ने मनस्थितिमा लगानीकर्ताहरू रहेकाले पनि खरिददारी बढेको हो।
तीन सय २४ लगानी उपकरण कारोबारमा आउँदा २७ वटाको मात्रै मूल्य बढेको छ। दुई सय ८३ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्। ‘अन्य’ र होटल समूह सबैभन्दा धेरै घटेका छन्। यी दुवै समूहगत परिसूचक चार प्रतिशतभन्दा धेरैले घटेको छ।
नेपाल माइक्रोइन्सुरेन्सको सबैभन्दा धेरै ६.०१ प्रतिशतले मूल्य बढेको छ। कम्पनीको एक हजार एक सय ८२ रूपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ९.२७ प्रतिशतले मूल्य घटेको छ। कम्पनीको ६ सय ३५ रूपैयाँमा अन्तिम कारोबार भएको हो।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३८ करोड रूपैयाँको सेयर कारोबार भएको हो।