स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वयनको माग गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो।
अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरता देखाए त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले बताए।
‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुर्नसंरचना सहित निजीकरण गर्नेलगायत दर्जनौं सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ,’ उनले भने।
उनले यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायले तत्काल कार्यान्वयनमा लैजान पर्ने माग रहेको स्पष्ट पारे।
‘अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि जसरी अग्रसरता देखाउनुभयो उहाँलाई ब्रोकर एसोसिएसनको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘अब त्यसैगरी द्रुत गतिमा कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविश्य एकदमै उज्वल हुनेछ।’
अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो।