नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट दसैंका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही भएको छ।
राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट दसैंका लागि लगेका थिए।
राष्ट्र बैंक सिद्धार्थनगरको कार्यक्षेत्र रहेका नोट कोष र लुम्बिनी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रदेश कार्यालयहरू मार्फत पनि सुकिला र नयाँ नोट सटही गरिएको थियो। कार्यालय मातहत ९ वटा नोट कोषमध्ये ८ वटामा रकम ट्रान्सफर गरेको भए पनि पूर्वी रुकुमको नोट कोषले भने यस पटक नोटको माग नगरेको पाण्डेले बताए।
यस पटक भदौ २९ गतेदेखि असोज १० गतेसम्म सम्भव भएसम्म नयाँ नोट र नयाँ नोट सकिएपछि सुकिला नोट वितरण गरिएको पाण्डेले जानकारी दिए।
उनका अनुसार राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देही शाखाले पनि दसैंका साढे १० करोड बढी नोट सटही गरेको छ। दसैंका लागि सिद्धार्थनगर शाखाबाट मात्रै ५ देखि एक सय रुपैयाँसम्मका १० करोड ५९ लाख ३९ हजार २३० रुपैयाँ सटही भएको छ।
सिद्धार्थनगर शाखाले भदौ २९ गतेदेखि असोज १० गतेसम्म ८ हजार ४ सय ८८ सेवाग्राहीलाई सुकिला र नयाँ नोट सटही गरेको थियो।
राष्ट्र बैंक सिद्धार्थनगरले संघसंस्था, सर्वसाधारण लगायतको सहजताका लागि चार वटा काउन्टरमार्फत नोट सटही गरेको थियो। सर्वसाधारणलाई सहज रूपमा वितरण गर्न सकियोस् भनेर गेटमै टोकन मेसिन राखेर टोकनका आधारमा नोट सटही गरिएको उनले बताए।
सर्वसाधारणले भने यस पटक सुकिला नोट समेत साट्न नपाएको गुनासो गरेका छन्।