बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन्।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ को आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन्।
उनका अनुसार असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ। यो सरकारी सम्पत्ति बाहेक हो।
'निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २० देखि २५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ,' रउनले भने, 'यसमा पनि दुई तीनवटा हाई प्रोफाइलका छन्। हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२ देखि १३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ।’
वैद्यवारका अनुसार अहिलेसम्म आन्दोलनका कारण दुई हजार ४७८ वटा बीमा दाबी आवेदन परेको छ। यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो। यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो।
गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसी खोलामा आएको बाढीका कारण करिव १३ अर्बको दाबी परेको उनले बताए।
‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो। नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढी पहिरोको भुक्तानी गरेको अवस्था छ। धेरै बीमा भइदिएको भए चाँडै रिकभरिका लागि सहयोग गर्थ्यौं,’ वैद्यवारले भने, '१ हजार ७ सय दाबी साना प्रकृतिका छन्, यी ४०–५० लाखदेखि २ करोडसम्मका होलान्।'
त्यस्तै साना दाबी तिहारसम्ममा भुक्तानी गर्ने उनले बताए।
'यसको ड्राफ्ट प्राधिकरणमा पठाइसकेका छौं। गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ। ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौं,’ उनले थप भने।
उनका अनुसार अहिले बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ छ।
‘यो रिजर्भमा हाम्रो २७/२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन,' वैद्यभर भन्छन्, 'हाम्रो पछाडि इन्सुरेन्सको साथ छ।’