भदौ २३ र २४ गते प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको कारण मंगलबारसम्म बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले उल्लेख गरेको छ।
सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा परेको हो। कम्पनीमा पाँच अर्ब १४ करोड रूपैयाँको दाबी परेको छ।
त्यस्तै, ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४२ करोड रूपैयाँको दाबी परेको हो। बीमा कम्पनीहरूले हरेक दिन बीमा प्राधिकरणलाई आएको दाबीको विवरण पेश गरिरहेका छन्।
प्राधिकरणले साप्ताहिक रूपमा बुधबार यस्तो जानकारी सार्वजनिक गर्ने भएको छ। यस बुधबार सार्वजनिक बिदा परेकोले प्राधिकरणले बिहीबार यस्तो तथ्यांक दिएको हो।
भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा आगजनी भएका छन्। यसले दाबी रकम थप बढ्न सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले भने,‘दाबी रकम अझै केही बढ्न भने सक्छ। आएका दाबी पनि फर्छ्यौट गर्न हामीले बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेका छौं, चाँडै हुन्छ।’
नेपालमा धेरै अघिदेखि सार्वजनिक सम्पत्तिहरूको बीमा गर्नुपर्छ भन्ने कुरा गरिएको भएपनि सरकारी उदासिनताको कारण यी सम्पत्तिहरूको बीमा हुन सकेको छैन। प्रदर्शनमा यस्ता सार्वजनिक सम्पत्तिहरूको क्षति नै सबैभन्दा धेरै भएको छ।
त्यसैले यस्तो क्षतिको दाबी भने बीमा कम्पनीहरूमा पर्दैन। प्रदर्शनमा भएको क्षतिलाई हुलदंगाबाट भएको क्षतिको रूपमा मानिने व्यवस्था बीमा सम्बन्धी नियमले गरेको छ।
यसै अनुसार बीमा प्राधिकरणले धनमाल लगायतका सम्पत्ति बीमा, घर बीमा, र इन्जिनियरिङ बीमा गर्दा हुलदंगाबाट भएको क्षतिलाई पनि समेट्न पर्ने व्यवस्था गरेको छ।
मोटर बीमामा भने दुई किसिमका बीमा हुन्छन्, तेस्रो पक्ष बीमा र सम्पूर्ण सवारी बीमा। तेस्रो पक्ष बीमा भनेको हुलदंगालाई नसमेट्ने र सवारी दुर्घटनाको क्रममा घाइते वा मुत्यु हुनेको परिवारले पाउने बीमा हो।
सवारी साधनको सम्पूर्ण बीमा भनेको सवारी साधनमा क्षति पुग्दा हुने बीमा हो। यस्तो बीमामा हुलदंगाबाट भएको क्षतिलाई समेत समेटिएको हुन्छ।
यसले गर्दा यो प्रदर्शनको क्रममा क्षति भएका व्यापारिक भवन, व्यक्तिगत घर, सवारी साधनको बीमा गरिएको छ भने बीमा दाबी रकम पाउने छन्। सार्वजनिक निकायहरूका सवारी बीमा भने भएको हुन सक्ने देखिन्छ।
बीमा दाबी गर्न सम्पत्ति क्षति भएका धनीहरूले आफूले बीमा गरेको कम्पनीमा जानकारी गराउनु पर्छ। प्रहरीलाई पनि खबर गरेको हुनुपर्छ।
अहिलेको अवस्थामा भने बीमा कम्पनीलाई मात्रै खबर गरेपनि हुन्छ। यससँगै स्थलगत अवलोकनको लागि सर्वेयरहरू खटिन्छन्।
यी सर्वेयरले अधिकतम ६० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ। तर, निर्माणकै क्रममा रहेका भवन र उद्योग लगायत इन्जिनियरिङ बीमामा भएको क्षतिको प्रतिवेदन बुझाउन भने यही समय सीमा लागु हुँदैन। प्रतिवेदन बुझाएपछि कम्पनीहरूले भुक्तानी दिन्छन्।
के सबै भार बीमा कम्पनीहरूलाई पर्छ?
यस्ता भौतिक सम्पत्ति र सवारीहरूको बीमा निर्जीवन बीमा कम्पनीहरूले गर्छन्। कम्पनीहरूमा कुनै सम्पत्तिको पूर्ण वा आंशिक बीमा समेत गरिएको हुन सक्छ।
बीमा गर्नेले जति रकम बराबरको बीमा गरेका हुन्छन्, दाबी पछि भुक्तानी पाउँदा पनि त्योभन्दा बढी रकमको भने पाउँदैनन्।
सामान्यतया अहिले बीमा कम्पनीहरूले हुलदंगा लगायतका जोखिमको भार आफुले मात्रै लिदैनन्।
सुवेदीका अनुसार अहिले कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफुले राखेर बाँकी सबै भार नेपाली पुनर्बीमा कम्पनीहरूलाई सारेका छन्।
मानौं, कसैले एक सय रूपैयाँको बीमा गरेको छ। कम्पनीले दाबी परेमा त्यसको ३० प्रतिशत भार आफुले व्यहोर्ने र बाँकी ७० रूपैयाँ बराबरको भार भने पुनर्बीमा कम्पनीलाई सारेका हुन्छन्।
अहिले नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरेर पुनर्बीमा कम्पनी छन्। यी पुनर्बीमा कम्पनीले कति भार आफुले लिएका हुन्छन भने केही अन्य केही विदेशी पुनर्बीमा कम्पनीहरूमा समेत सारेका हुन्छन्।
अहिले यी कम्पनीले कति सारेका छन् भन्ने जानकारी भने बीमा प्राधिकरणसँग छैन।
तर, पनि यी कम्पनीहरूले यस्तो भार विदेशी बीमा कम्पनीमा सारेको हुनसक्ने आकलन गरिएको छ। त्यसैले यस्तो बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको प्राधिकरण बताउँछ।
प्राधिकरणका सुवेदी भन्छन्, ‘बीमा व्यवसायमा एउटा कम्पनीले वा देशभित्रका कम्पनीहरूले मात्रै भार बोकेका हुँदैनन्, विश्वभर रहेका अन्य पुनरबीमा कम्पनीमा पनि सारेका हुन्छन्, त्यसैले कम्पनीहरूलाई ठूलो जोखिम भने हुँदैन।’
कम्पनी |
दाबी संख्या |
दाबी रकम |
द आरियण्टल इन्सुरेन्स |
४० |
५ अर्ब १४ करोड |
सिद्धार्थ इन्सुरेन्स |
२५८ |
४ अर्ब ९३ करोड |
शिखर इन्सुरेन्स |
३६६ |
२ अर्ब ३९ करोड |
आइजिआइ इन्सुरेन्स |
२४ |
१ अर्ब ५९ करोड |
सगरमाथा लुम्बिनी इन्सुरेन्स |
२३३ |
१ अर्ब ४७ करोड |
हिमालयन एभरेष्ट इन्सुरेन्स |
१९६ |
१ अर्ब १५ करोड |
नेको इन्सुरेन्स |
४० |
१ अर्ब ०९ करोड |
सानिमा जिआइसी इन्सुरेन्स |
१२९ |
७८ करोड |
राष्ट्रिय बीमा कम्पनी |
१७२ |
४९ करोड |
युनाइटेड अजोड इन्सुरेन्स |
१७० |
४८ करोड |
नेपाल इन्सुरेन्स |
७९ |
४६ करोड |
एनएलजी इन्सुरेन्स |
१५१ |
३८ करोड |
प्रभु इन्सुरेन्स |
६९ |
१९ करोड |
नेशनल इन्सुरेन्स |
१९ |
६ करोड ८२ लाख |
प्रोटक्टिभ माइक्रो इन्सुरेन्स |
९ |
१ करोड १३ लाख |
स्टार माइक्रो इन्सुरेन्स |
६ |
६७ लाख |
नेपाल माइक्रो इन्सुरेन्स |
१५ |
५६ लाख |
ट्रष्ट माइक्रो इन्सुरेन्स |
८ |
४२ लाख |
कुल |
१९८४ |
२० अर्ब ७० करोड
|
यो पनि : यसपालि विध्वंसको सबै क्षति बीमा कम्पनीले बेहोर्छन्?