राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा आर्थिक वर्षको पहिलो महिना साउनमा औसत मूल्य वृद्धि १.८६ प्रतिशत छ।
साउनमा बजार भाउ दुई दशक यताकै सस्तो भएको हो। २०६३/६४ यताको उपलब्ध तथ्यांकले त्यसयता पहिलो पटक मूल्यवृद्धि यो दरमा भएको देखिन्छ।
गत आर्थिक वर्षको यो अवधिसम्मको मूल्य वृद्धि ४.०९ प्रतिशत थियो।
यस वर्ष साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु, तेलमा सबैभन्दा धेरै १०.९७ प्रतिशतले वृद्धि भएको छ।
गैर मदिराजन्य पेयपदार्थमा ४.६४ प्रतिशत, फलफूलमा ३.०१ प्रतिशतले वृद्धि भएको छ।
तर, तरकारीमा १८.५६ प्रतिशत, मरमसला ४.८१ प्रतिशतले र माछा मासुमा २.४१ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १०.६० प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.८४ प्रतिशत, घरायसी सामान तथा फर्निसिङको ५.०६ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ।