प्राथमिक सेयर निष्कासन (आइपिओ) अघि दुई–तीन तहसम्म भइरहेको सेयर किनबेचमा नलाग्न धितोपत्र बोर्डले सार्वजनिक सूचना जारी गरेको छ।
आइपिओअघि कुनै पनि कम्पनीले एक पटकमा ५० जनाभन्दा बढीलाई सेयर बिक्री गर्न नपाइने नीतिगत व्यवस्था रहेको भन्दै बोर्डले यस्तो सुझाव दिएको हो।
पछिल्लो समयमा आइपिओ जारी गर्नु अघि नै प्रि–आइपिओको नाममा सेयर बिक्री गर्ने प्रवृत्ति बढेको छ।
यो क्रममा, आइपिओ जारी गर्ने समय नजिकिँदै जाँदा त्यस्ता कम्पनीहरूको सेयरको मूल्य बढ्दै किनबेच हुने गरेको छ। यसरी कारोबार हुँदा एकै व्यक्तिबाट दोस्रो, दोस्रोबाट तेस्रो हुँदै तह–तहमा सेयर कारोबार भइरहेका हुन्छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आउँदा सो कम्पनीको सेयर महँगो मूल्यमा किनबेच हुनसक्छ भन्ने आशामा यस्तो कारोबार भइरहेको बुझिन्छ।
तर, यसरी किनिएका सेयरहरू किन्नेको नाममै आउने अवस्था हुँदैन। सेयर बजारमा सूचीकरण हुन आइपुग्छन् वा आइपुग्दैनन् भन्ने निश्चित नहुने कम्पनीहरूको सेयर पनि अहिले प्रि–आइपिओ को नाममा यसरी किनबेच भइरहेको छ।
र, यदि बजारमा कारोबार आइहाले पनि कतिपय सेयर तत्कालै किन्नेको नाममा दिन मिल्ने अवस्था हुँदैन। अहिले आइपिओ अघि नै सेयर किनेकाले लक–इन पिरियड खुल्ने समयपछि मात्र आफ्नो नाममा सेयर पाउँछन्।
तीन वर्षपछि भने जलविद्युत, उत्पादनमूलक उद्योग र होटेलजस्ता कम्पनीहरूको सबै सेयर सर्वसाधारण सेयरको रूपमा कारोबार हुन्छ। यसै कारण यस्तो कारोबार फस्टाइरहेको देखिन्छ।

यो पनि : आइपिओअघि नै सेयर किनबेच, आफ्नो नाममा नआए पनि जोखिम लिन्छन् लगानीकर्ता