महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ।
समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो।
यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबार समेत गरिसकेका छन्।
यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडिएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरू जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडिएफसी बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।
साथै भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ।
एचडिएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
साथै यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरूलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्नेछ।