ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रूपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रूपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
उक्त आइपिओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिन्छ उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि जेठ २८ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।