अंकित मूल्य एक सय रूपैयाँमै पाइने एफपिओ (फर्दर पब्लिक अफरिङ) मा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
दोस्रो बजारमा महँगो मूल्यमा बिक्री भइरहेका सेयर एफपिओ मार्फत् सस्तोमा पाइने भएकाले पनि यसप्रति लगानीकर्ताहरू आकर्षित भइरहेका छन्।
कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार अनुपात मिलाउन एफपिओ जारी गर्छन्।
एकपटक सर्वसाधारणमा सेयर जारी गरिसकेका कम्पनीहरूले फेरि सर्वसाधारणमा सेयर जारी गर्नुपरेमा एफपिओ जारी गर्छन्। आइपिओ जस्तै यसमा पनि सर्वसाधारणले पनि आवेदन दिन पाउँछन्।
नेपालमा सामान्यतः आइपिओ/एफपिओ अंकित मूल्य अर्थात् सय रूपैयाँमा जारी गर्ने व्यवस्था छ। तर, चाहने कम्पनीहरूले प्रिमियम मूल्यमा वा योग्य संस्थागत लगानीकर्ताहरूले बिडिङ गरेर निकालेको मूल्यमा १० प्रतिशत कम गरेर समेत सेयर जारी गर्न सकिने व्यवस्था छ।
हालै मात्र समता घरेलु लघुवित्त, सूर्योदय वोमी लघुवित्त, उन्नति सहकार्य लघुवित्त र महुली लघुवित्तले एफपिओ निष्कासन गरेर बाँडफाँट गरेका छन्।
यस्तै, स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाइसकेका छन्।
बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विन नेपाल, विजय र किसान लघुवित्तले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।
स्वरोजगार लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपिओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको छ।
कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ।
विन नेपाल लघुवित्तले १०० रूपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रूपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपिओ जारी गर्न धितोपत्र बोर्डले माघ ३० गते अनुमति दिएको हो।
कम्पनीको बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ।
यस्तै, बुटवल पावर कम्पनीले प्रतिकित्ता २०६.२९ रूपैयाँमा १ करोड कित्ता एफपिओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो।
यस अनुसार कम्पनीले २ अर्ब ६३ करोड रूपैयाँ बराबरको एफपिओ जारी गर्नेछ। यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।
नेसनल लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ६ करोड ६९ लाख ९० हजार २७ रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो।
यसमा बिक्री प्रबन्धकको काम आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।
विजय लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ बिक्री गर्न अनुमति मागेको हो।
यसको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ।
यस्तै, किसान लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपिओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो।
यस कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।