नेप्से बुधबार सहित लगातार छैठौ दिन पनि घटेको छ।
गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो।
आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।
मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३९ करोड रूपैयाँ कमी भएको हो।
यसदिन ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ४०३ रूपैयाँ ५० पैसा कायम भएको छ।
यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य ९.४८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १५५ रूपैयाँ पुगेको छ।
यस्तै, एसियन हाइड्रोपावरको मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६१७ रूपैयाँ ४० पैसामा झरेको छ।
कर्पोरेट डेभलपमेन्टको मूल्य ५.२६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य नौ सय रूपैयाँ कायम भएको छ।
मंगलबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २५४ रूपैयाँमा ३४ करोड ७३ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २२९ रूपैयाँमा २१ करोड १० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र निर्जीवन बीमा समूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी ११ समूहको घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक १.१९ प्रतिशतले घटेको छ।