नेपाल राष्ट्र बैंकले भदौ २३ गते बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ खिच्न २१ दिने निक्षेप संकलन उपकरण जारी गर्यो। तर, बैंकहरूले मात्रै ५३ अर्ब ८० करोड रूपैयाँ राख्न बोलकबोलमा सहभागिता जनाए।
यसमध्ये प्रक्रिया पुगेको ५१ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंकले खिच्यो। यसको औसत ब्याजदर २.९४ प्रतिशत कायम भयो।
गत भदौ ५ गते जारी गरेको २१ दिने निक्षेप संकलनमा उठाएको एक खर्ब रकम परिपक्व भएपछि भदौ २३ गते राष्ट्र बैंकले यति नै रकम उठाउन खोजेको थियो।
बैंकिङ प्रणालीमा रकम धेरै हुँदा तान्ने र कम हुँदा फाल्ने गरी राष्ट्र बैंकले विभिन्न उपकरणको प्रयोग गर्छ। गत साउनयता राष्ट्र बैंकले बैंकहरूमा रकम पठाउने काम गरेको छैन।
अहिले बैंकहरूले कम रकम राख्न थालेका छन्। यसले बैंकिङ क्षेत्रबाट क्रमिक रूपमा कर्जा विस्तार हुन थालेको संकेत गर्छ।
राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने भदौ ६ गतेसम्म बैंकहरूले राखेमध्ये फिर्ता पाउन बाँकी तीन खर्ब १२ अर्ब रूपैयाँ थियो।
भदौ २३ मा आइपुग्दा यो दुई खर्ब ९८ अर्ब रूपैयाँमा सीमित भएको छ।
तीन दिने अवधिको निक्षेप संकलनबाट उठाइएको मध्ये एक खर्ब ८८ अर्ब रूपैयाँ फिर्ता हुन बाँकी छ भने २१ दिने अवधिबाट उठाइएको एक खर्ब १० अर्ब रूपैयाँ बाँकी छ।
२१ दिने अवधिको एक खर्ब उठाउन खोज्दा ५१ अर्ब ८० करोड रूपैयाँ राखेका बैंकहरूले तीन दिने अवधिको उपकरणमा राख्ने रकम भने बढाउन थालेका हुन्।
तीन दिने निक्षेप संकलनमा अघिल्लो दुई पटक एक खर्ब ४५ अर्ब र एक खर्ब २० अर्ब राखेका बैंकहरूले भदौ २३ मा भने एक खर्ब ८८ अर्ब राखेका हुन्।
कर्जा विस्तारमा सुधार हुने संकेत देखिएसँगै बैंकहरूले लामो अवधिको लागि राखिने रकम घटाएर छोटो अवधिकोमा बढाएको देखिन्छ। नजिकिदो चाडपर्वसँगै नेपालीहरूको खर्चमा केही न केही वृद्धि हुने र यसले उपभोग्य कर्जादेखि अन्य कर्जामा समेत वृद्धि हुने गर्छ। यही कारण पनि बैंकहरू छोटो अवधिका उपकरणमार्फत् रकम राखिरहेका छन्।
कर्जाको विस्तारसँगै ब्याजदर परिवर्तन हुन सक्ने भए पनि अहिले नै आत्तिन नपर्ने बैंकरहरूले बताउँदै आएका छन्।
निक्षेपको ब्याजदर मासिक रूपमा १० प्रतिशत विन्दुले परिवर्तन गर्न सकिने भए पनि तीन/तीन महिनाको औसत आधार दरले कर्जाको ब्याजदर समायोजन हुन्छ।